Skip This
जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८o जेठ १२ शुक्रबार ११:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार ११:३९:oo

ज‌गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित सेन्सरयुक्त सडकबत्ती जडान सुरु गरेको छ। 

भारतीय दुधुवा नेसनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जंगली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो।

‘जंगल हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन्।’

जिउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए। आर्थिक वर्ष ०७९/८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा रु. १० लाख बजेट विनियोजन गरिएको थियो। विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व–पश्चिम राजमार्गमा ६०, वडा नम्बर १ मा १०, वडा नम्बर २ मा सात, वडा नम्बर ३ मा सात, वडा नम्बर ४ मा नौ, वडा नम्बर ६ मा आठ, वडा नम्बर ७ मा १०, वडा नम्बर ८ मा १०, वडा नम्बर ९ मा आठ, वडा नम्बर १० मा आठ, वडा नम्बर ११ मा नौ र वडा नम्बर १२ मा १० थान सडकबत्ती जडान गरिएको छ।

त्यसैगरी नगरपालिकाबाट आवश्यकता भएका अन्य ठाउँमा थप बत्ती जडान गर्न १० वटा सडकबत्ती जडानको व्यवस्था गरिएको छ। जंगली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व–पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगर उपप्रमुख कल्पना पन्तले बताइन्। 

‘राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ,’ उनले भनिन्, ‘रातिका वेला सर्वसाधारणलाई आवतजावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जंगली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका छौँ।’

वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जंगली जनावरको आतंक रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ।

प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो।