Skip This
योगाभ्यासमा युवाको आकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १२ शुक्रबार ११:३३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

योगाभ्यासमा युवाको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार ११:३३:oo

हिजोआज योगप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । जसकारण, नेपालमा योग प्रशिक्षकहरूको माग पनि बढ्दो छ । डेढ दशकदेखि योग सिकाउँदै आएका ‘सम्बोधी योग केन्द्र’का सञ्चालक तथा प्रशिक्षक विजय सापकोटा दैनिक जीवनमा स्वस्थ र खुसी रहनका लागि नियमित योगाभ्यास गर्नुपर्ने बताउँछन् । ‘दैनिक जीवनका लागि योग जरुरी छ । हामी विभिन्न रोगलाई लक्षित गरी थेरापेटिक योग पनि सिकाउँछौँ,’ उनले भने, ‘उच्च रक्तचाप, मधुमेह, ढाडको समस्यालगायत समस्याका मानिस बढी आउने गर्नुहुन्छ । हाम्रोमा सबै उमेरसमूहका मानिस आउनुहुन्छ, विशेषगरी युवा धेरै आउनुहुन्छ ।’ 

योगले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने हुनाले कोरोना महामारीपछि यसको महत्व अझै बढेर गएको उनी बताउँछन् । ‘महामारीको समयमा घरभित्रै कैद हुनुपर्दा धेरैजना तनावमा हुनुहुन्थ्यो । रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि के गर्ने भनेर खोजी गर्न थालियो । योगप्रतिको आकर्षण पनि बढ्न थाल्यो,’ उनले भने, ‘योगका लागि व्यायाम सेन्टर धाउनुपर्ने जरुरी हुँदैन । सही तरिका जानेपछि घरमैे पनि गर्न सकिन्छ । यसले मानसिक शान्ति पनि दिलाउँछ । त्यही कारण मानिसको आकर्षण बढ्दो छ ।’ 

प्राचीन समयदेखि चलिआएको योगाभ्यास विज्ञानसम्मत रहेको सापकोटाले बताए । उनी भन्छन्, ‘नेपालमा पहिले योगलाई धर्मसँग मात्रै जोडेर गरिन्थ्यो । तर, योगको मूल विज्ञानले कुनै धर्म, जाति र समुदायसँग सम्बन्ध राख्दैन । यो शरीर र आत्मासँग जोडिएको विषय हो ।’

योगलाई जीवनका सबै आयामसँग जोडेर हेर्नुपर्ने उनी बताउँछन् । ‘हामीले योगप्रशिक्षकहरूलाई तालिम दिने पनि गरेका छौँ । प्रायः हाम्रोमा व्यक्तिगत स्वाथ्यका लागि योग सिक्न आउँछन् । अर्काे, योगको तालिम लिएर अरूलाई प्रशिक्षण दिने गरी आउँछन् । योग सिक्न मात्रै होइन, यसमा विज्ञता हासिल गरेर प्रशिक्षक बन्न चाहन्छन्, अहिलेका युवापुस्ता,’ उनले भने, ‘यसबाहेक विभिन्न पेसा व्यवसायमा संलग्न मानिस पनि नियमित योग सिक्न आउनुहुन्छ ।’

ठमेलस्थित ‘चरक योग स्टुडियो’का सञ्चालक कञ्चनसिंह ठगुन्ना नेपाली मात्रै नभएर विदेशीहरू पनि योगप्रति आकर्षित भइरहेको बताउँछन् । खासगरी, ट्रेकिङ जानुअघि पर्यटकहरू योग गर्न आउने गरेको उनले बताए । ‘शारीरिक रूपमा फिट नभई हाइकिङ वा ट्रेकिङ गर्न सकिँदैन । फिटनेसका लागि योग प्रभावकारी छ । योग ग¥यो भने चार घन्टा हिँड्ने ठाउँमा ६ घन्टा हिँड्न सकिन्छ । हामीले योगका विभिन्न आसन गराउँछौँ,’ उनले भने, ‘शरीरलाई फिट बनाएर ट्रेकिङ जानेको संख्या बढ्दो छ ।’ स्वस्थ, खुसी, ऊर्जाशील र सिर्जनशील रहन योगले मद्दत गर्ने उनले बताए । 

प्रशिक्षक आकाश गुप्ता काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका १० वटा विद्यालयमा पुगेर योग सिकाउँछन् । योगमै स्नातकोत्तर गरेका उनी शारीरिक, मानसिक, भावानात्मक र आध्यात्मिक शान्तिका लागि योग जरुरी रहेको बताउँछन् । ‘त्यही कारण पछिल्लो समय नेपालमा योगसम्बन्धी पढाइ विद्यालयस्तरमै पनि समावेश गर्न थालिएको छ । स्वस्थ रहन प्राणायाम र योगाासनहरू गरिन्छ । तिनका माध्यमबाट दैनिक जीवनमा आइपर्ने तनाव, शरीर, दिमाग र भावनालाई सन्तुलनमा राख्न राहत पुग्छ । त्यसकारण पनि हरेक उमेरसमूहका मानिसले योग गर्न आवश्यक छ ।’ 

‘योग र रोग एकै सिक्काका दुई पाटा हुन् । सही तरिकाले योग गरेमा धेरै रोगबाट बच्न सकिन्छ, विधि नमिलेमा उल्टै रोग निम्तिन सक्छ,’ उनले थपे । उमेर र शरीरको आवश्यकताअनुसार आफ्ना लागि उपयुक्त आसन र विधि छनोट गर्नुपर्ने उनको सुझाव छ । ‘व्यस्त जीवनशैलीले गर्दा दौडधुप गरिरहेका छन् । दिनरात काममा खट्दा मान्छेमा ‘स्ट्रेस’ बढ्दो छ । ‘मनमा अनेक तरहका कुरा खेलिरहेका हुन्छन् । दिमागमा हुने अविराम आलापको व्यवस्थापन योगबाट सम्भव छ,’ उनले भने ।