१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मंगलबारदेखि सुरु भएको घुम्ती बस सेवा । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १० बुधबार १०:४४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकाका सम्पदास्थल घुम्न अब छुट्टै बस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १० बुधबार १०:४४:००

उपत्यकाका सम्पदास्थल घुम्न अलग्गै बस सेवा सञ्चालनमा आएको छ । नेपाल पर्यटन बोर्ड र साझा यातायातको सहकार्यमा मंगलबारदेखि सम्पदा घुम्ती बस सेवा ‘हप अन हप अफ’ सुरु भएको हो । 

उपत्यकाका महत्वपूर्ण सम्पदास्थलको भ्रमण एकै दिन पूरा गराउने उद्देश्यले बस सेवा सुरु भएको हो । ललितपुर महानगरपालिकास्थित टुरिस्ट बसपार्कबाट सेवा शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नयाँ प्रयोगका रूपमा ल्याइएको यस सेवाले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताए । ‘संघीय सरकारको सोचअनुसार नै बस सेवा सुरु गरिएको भए पनि यसको प्रभावकारिता र निरन्तरताका लागि प्रदेश र स्थानीय सरकारको समेत महत्वपूर्ण भूमिका रहनेछ,’ मन्त्री किराँतीले भने । 

यस्तै, साझा यातायात सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सुशीलराज प्याकुरेलले आमनागरिकमाझ सार्वजनिक यातायात सेवालाई व्यवस्थित र सहज बनाउन प्रयत्नशील साझाले पर्यटककेन्द्रित यातायात सेवा प्रदान गर्न पाउँदा गौरव लागेको बताए । उनले सम्पदा बस सेवा सञ्चालनका लागि बोर्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेर बस सञ्चालनका लागि बिसौनी र चार्जिङ स्टेसन बनाउन सरकारसँग सहयोगको माग गरे । बस सेवाले काठमाडौंसहित ललितपुर महानगरपालिकामा रहेका महत्वपूर्ण सम्पदास्थल तथा संग्रहालयहरूको भ्रमण अवलोकन समेट्नेछ ।

यस्तो छ बसको रुट
घुम्ती बसको रुट पुल्चोकबाट, ललितपुर महानगरपालिकास्थित टुरिस्ट बसपार्क हुँदै काठमाडौंको महाँकाल मन्दिर, आर्मी अस्पताल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार, कमलपोखरी, पशुपतिनाथ मन्दिरस्थित टुरिस्ट बसपार्क, गौशाला, चाबहिल चोक, तारागाउँ संग्रहालय हुँदै जोरपाटीसम्म तय भएको छ । बस फर्कंदा भने जोरपाटीबाट तारागाउँ संग्रहालय हुँदै नारायणगोपाल चोक, गोंगबु बसपार्क, स्वयम्भू भगवान्पाउ, छाउनी संग्रहालय, परोपकार, कालीमाटी चोक र त्यहाँबाट चक्रपथ हुँदै एकान्तकुना, सदर चिडियाखाना र साझा यातायात पुल्चोकसम्मको रुट तय भएको छ । बस सेवा सात दिनसम्म निःशुल्क हुनेछ । त्यसपछि कति शुल्क लिने छलफल भइरहेको बोर्डले जनाएको छ । 

सम्पदा घुम्तीमा साझाका दुई बस 
साझा यातायातले सरकारको सेयर लगानीको रकमबाट पहिलो चरणमा खरिद गरेका ४० वटा विद्युतीय बसमध्ये सम्पदा घुम्ती बस सेवाका लागि दुई थान बस सञ्चालनमा ल्याएको छ । विद्युतिय बसको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाएको संस्थाले असारमा तीनवटा बस परीक्षणस्वरूप सञ्चालन गरेको थियो । ती बसको सफल परीक्षणपछि खरिद गरिएका ३७ मध्ये तीनवटा गत १ जेठमा शुभारम्भ भएका थिए । सम्पदा घुम्ती बस सेवाका समेत गरी हाल संस्थाका आठवटा विद्युतीय बस उपत्यकाका विभिन्न रुटमा सञ्चालनमा छन् ।