१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘जिउँदो सहिद’ मुकेशको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३९:oo

मृत्युसँगको १७ वर्ष लामो संघर्षपछि बुधबार विश्राम लिएका दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको बिहीबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।मुकेशको पार्थिव शरीरमा सरकारको तर्फबाट सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र गृहसचिव दिनेश भट्टराईले राष्ट्रिय झन्डा ओढाए । उनलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा, माओवादी नेता तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायत अन्य जनप्रतिनिधि र काभ्रेली जनताले अन्तिम श्रद्धाञ्जली दिए । मुकेशको शवलाई बनेपा नगर परिक्रमापछि उग्रेश्वार घाट लगिएको थियो । त्यहीँ उनको अन्त्येष्टि गरिएको हो । 

‘जिउँदो सहिद’का नामले चिनिएका मुकेशको ३२ वर्षको उमेरमा बुधबार साँझ साढे ७ बजे बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी लामो समयदेखि शिर मेमोरियलमै उपचाररत थिए । जनआन्दोलन सुरु भएको चौथो दिन २७ चैत ०६२ मा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनी त्यही दिनदेखि ओछ्यानमा परेका थिए । त्यसवेला उनको उमेर १४ वर्ष थियो । उनलाई ०७८ मा सरकारले ‘लोकतन्त्रका योद्धा’को सम्मान प्रदान गरेको थियो । 

लामो समयको उपचार र परिवारको निरन्तरको हेरचाहपछि स्वास्थ्यमा केही सुधार देखिए पनि ०७५ देखि पुनः अर्धचेत अवस्थामा फर्किएका थिए । मुकेशको परिवारलाई सरकारले क्षतिपूर्तिबापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न संघसंस्था र राजनीतिक संयन्त्रबाट सहयोग प्राप्त भएको थियो । सरकारले पछि दोस्रोपटक साढे सात लाख रुपैयाँ दिएको थियो । यस्तै, सरकारले मासिक १८ हजार रुपैयाँ निर्वाह भत्ता दिँदै आएको थियो । सरकारले बैंकको साढे सात लाख ऋण मिनाहा गरेको थियो भने स्वास्थ्य अवस्था हेर्न एकजना अनमीको व्यवस्था गरेको थियो । 

सहिद घोषणा गर्न माग
अन्त्येष्टि कार्यक्रममा सहभागीहरूले सरकारले मुकेशलाई सहिद घोषणा गर्नुपर्ने बताए । एमाले नेता बाँस्कोटाले जनआन्दोलनको क्रममा घाइते भएका मुकेशलाई सरकारले जनआन्दोलनको सहिद घोषणा गर्नुपर्ने बताए । 

यस्तै, बनेपा नगरपालिकाभित्र क्रियाशील राजनीतिक दल तथा सञ्चारकर्मीहरूको बिहीबारै बसेको संयुक्त बैठकले पनि मुकेशलाई सहिद घोषणको माग ग¥यो । अन्त्येष्टिमा सहभागी मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । कांग्रेस महामन्त्री शर्माले पनि मुकेशलाई सहिद घोषणा गर्न पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मुकेशजस्ता सपुतकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताए । 

आमा भन्छिन्– व्यवस्था फेरियो, अवस्था फेरिएन
जनतालाई अधिकारसम्पन्न बनाउने आन्दोलनमा बलिदान दिएका मुकेशकी आमा मीरा कायस्थले आफ्नो छोराजस्ता थुप्रै मुकेशहरूको बलिदानबाट परिवर्तन आए पनि व्यवहारमा अनुभूति गर्न नपाएको दुखेसो पोखिन् । 

निरंकुश राजतन्त्र फालेर लोकतन्त्र स्थापना हुँदै संविधानसभामार्फत संविधान जारी भई गणतन्त्र स्थापित भएको वर्षौं बितिसके पनि आन्दोलनमा बलिदान दिएकाहरूका सपना पूरा गर्न सरकार चुकिरहेको उनले बताइन् । उनले जनआन्दोलनका घाइते र सहिद परिवारको दुःखलाई पनि सरकारले बेवास्ता गरेको गुनासो गरिन् । ‘नयाँ व्यवस्था ल्याउन मेरो छोरो मुकेशजस्ता थुप्रै मुकेशहरू सहिद भए, घाइते भए, अंगभंग भए, बेपत्ता भए । व्यवस्था फेरियो । थुप्रै प्रधानमन्त्री, मन्त्री र सांसदहरू फेरिए । तर, जनताको अवस्था फेरिएन,’ उनले भनिन्, ‘यो सबै सम्झिँदा भक्कानो फुटेर आउँछ ।’


 

ad
ad