१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मृतक जितबहादुर
Invalid date format o८:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘२१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरे आत्महत्या’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३२:oo

मृतकका बाबुको दाबी– शुल्क नतिर्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि छोराले आत्महत्या गर्‍यो

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्की गत वर्ष बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए । जसोतसो निको भए, तर शरीर चलाउन बैसाखीको सहारा चाहिने भयो । १९ वर्षीय जेठो छोरो जितबहादुरले गत बुधबार विष सेवन गरेर आत्महत्या गरेपछि कृष्णबहादुरको जिन्दगीको बैसाखी भाँचियो । 

कक्षा १२ को वार्षिक परीक्षाका लागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको कृष्णबहादुरको दाबी छ । ‘विद्यालयलाई दुई हजार एक सय शुल्क तिरेर प्रवेशपत्र लिनुपर्ने थियो । दैनिक ज्याला–मजदुरी गरेर जसोतसो गुजारा चलाउँदै आएकाले समयमा पैसा तिर्न सकेका थिएनौँ । २० वैशाखमा प्रवेशपत्र माग्न जाँदा रित्तो फर्काएछन् । २० वैशाखको त्यही राति छोरोले विष खाएछ । भोलिपल्ट थाहा पाएपछि अस्पताल पुर्‍यायौँ । तर, बचाउन सकेनौँ,’ भक्कानिँदै कृष्णबहादुरले सुनाए । 

अपांगता भएर बाबु थलिएपछि भाइबहिनीसहित परिवारको जिम्मेवारी जितबहादुरकै काँधमा आएको थियो । बाबु कृष्णबहादुरका अनुसार विद्यालयलाई तिर्नुपर्ने शुल्कको व्यवस्था गर्न उनले गाउँमा चिनेजानेकासँग सापटी मागेका थिए । तर, कसैबाट सहयोग नपाएपछि विद्यालयमै कुरा गर्छु भनेर गएका थिए । ‘गाउँभरि पैसा खोज्दा पनि नपाएपछि सरसँगै कुरा गर्छु भनेर विद्यालय गएको थियो,’ उनले भने, ‘विद्यालयबाट फर्कँदा ल्याएको डायरी खाटमा फालेर सुतेको छोरो फेरि कहिल्यै उठ्नै नसक्ने गरी निदायो ।’ 

छोराले आत्महत्या गर्नुको कारण निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै उनले २४ वैशाखमा प्रहरीमा उजुरी दिएका छन् । दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक बलराम इटनीले भने विद्यालय र आफ्नो कारणले जितबहादुरले आत्महत्या नगरेको दाबी गरे । ‘पैसाकै कारण हामीले आजसम्म कुनै पनि विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेका छैनौँ । गत वर्ष पनि पैसा नदिई हामीले उसलाई प्रवेशपत्र दिएका थियौँ । यस वर्ष पनि प्रवेशपत्र लिएर जाऊ भनेका थियौँ,’ प्रअ इटनीले दाबी गरे, ‘उनको परिवारको आर्थिक अवस्था कमजोर छ भन्ने थाहा भएकैले हामीले सहुलियत दिने गरेका थियौँ ।’ 

उनका अनुसार विद्यालयले दुई लाख ९१ हजार अक्षयकोषको ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई करिब ५० हजारजति छात्रवृत्ति दिँदै आएको छ । तर, गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्तिमा जितबहादुरको नाम छैन । जितबहादुर किन परेनन् भन्ने प्रश्नमा उनले विद्यालयमा जितबहादुरको उपस्थिति हुनुपर्ने हाजिरी नपुगेको कारण कोटामा नपरेको बताए । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए । ‘मृतकका आफन्तले आत्महत्याको कारण के हो अनुसन्धान गरिदिनु भनेर उजुरी दिएका छन्,’ उनले भने, ‘उजुरी दर्ता गरेका छौँ । उजुरीमा विद्यालयको कारणले हो कि भनेर पनि उल्लेख गर्नुभएको छ । हामी अनुसन्धानकै क्रममा छौँ ।’