मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०८० बैशाख १२ मंगलबार ०५:५०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उड्दाउड्दै फ्लाई दुबईको विमानमा आगलागी : आकाशमै नियन्त्रणमा आएपछि गन्तव्यतर्फ 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० बैशाख १२ मंगलबार ०५:५०:००


फ्लाई दुबईको बोइङ ७३७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको थियो । तर, चालक दलले जोखिम नियन्त्रण भएको र गन्तव्यतर्फ नै लाग्ने बताएपछि विमानस्थलमा पुगेको नेपाल प्रहरीको दमकल फर्किँदै । तस्बिर : मिलन विश्वकर्मा/नयाँ पत्रिका

सोमबार साँझ ९:१९ बजे, फ्लाई दुबईको बोइङ ७३७ विमानले त्रिभुवन विमानस्थलको धावनमार्ग छोड्यो । तर, ९ः२० मै पाइलटले ‘इमर्जेन्सी डिक्लेयर’ गरे । लेफ्ट इन्जिनमा आगलागी भएपछि एउटा इन्जिनले विमान मात्र उडाइरहेको जानकारी चालक दलले विमानस्थल टावरलाई गरायो । क्षणभरमै विमानबाट आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज बाहिरै सुनियो । त्यसपछि काठमाडौं नै आतंकित बन्यो । आगो सल्किरहेको विमानको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । 

एक सय ६८ यात्रु र चालक दलका सात सदस्य रहेको फ्लाइट नम्बर ५७६ विमानले काठमाडौंको आकाशमा एक फन्को मा¥यो । त्यसपछि चालकले धार्केमाथि २० हजार फिटको उचाइमा पु¥याएर करिब १० मिनेट होल्ड गराए । त्यहाँ दुई फन्को मार्दासम्म चालक दलले सबै इक्विपमेन्ट चेक गरेर त्रिभुवन विमानस्थल टावरलाई जानकारी गराए– विमान नर्मल अवस्थामा छ, गन्तव्यतर्फ लाग्छौँ । 

त्यतिवेलासम्म उक्त विमानलाई आकस्मिक अवतरण गराउने तयारीस्वरूप त्रिभुवन विमानस्थलमा अन्य उडान–अवतरण बन्द गरिएको थियो । काठमाडौं आउन लागेका विमान सिमरालगायतका आकाशमा होल्ड भइरहेका थिए । उडानको तयारीमा रहेका विमान पनि विमानस्थलमै रोकिएका थिए । 

विमानस्थल कार्यालयले फ्लाई दुबईलाई आकस्मिक अवतरणका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी गरायो । तर, चालक दलले गन्तव्यतर्फ नै लाग्ने जवाफ दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘जहाजमा केही खराबी हुन सक्छ भनेर उनीहरूले अकाशमै चेकजाँच गरे । तर, कुनै खतरा नभएको यकिन गरेर पाइलटले दुबईतर्फ अगाडि बढाएको हुन सक्छ,’ उनले भने, ‘सुरुमा एउटा मात्र इन्जिनको सहायताले होल्ड भइरहेको जहाज सबै नर्मल भएपछि दुवै इन्जिनबाट उडेर दुबईतर्फ गयो । वास्तविक कारण भोलि मात्र थाहा होला ।’

जहाज काठमाडौंको आकाश छाडेर पश्चिमतर्फ अगाडि बढ्यो । तर, पुनः समस्या आउन सक्ने जोखिम हेरेर त्रिभुवन विमानस्थल थप केहीबेर बन्द नै गरियो । विमानले भारततर्फको बाटो सोझ्याएपछि राति ९:५९ बजे त्रिभुवन विमानस्थल अन्य वायुसेवाका लागि खुला गरियो । यो समाचार तयार पार्दासम्म (राति १२:३०) विमानले पाकिस्तानको आकाश पार गर्दै थियो । 

विमानमा कसरी लाग्यो आगो ? 
धावनमार्ग छाड्नेबित्तिकै विमानमा आगो लागेको थियो । चरा ठोक्किएर आगलागी भएको हुन सक्ने त्रिभुवन विमानस्थलको प्रारम्भिक अनुमान छ ।क्यानका सूचना अधिकारी भुलले इन्जिनभित्रको कम्प्रेसर पड्किएर आवाज आएको हो कि भन्ने पनि आशंका रहेको बताए । ‘भोलि दुबईमा पनि छानबिन होला, हामीले पनि छानबिन गर्ने नै छौँ, अनि मात्र कारण थाहा होला,’ उनले भने, ‘ठूलो दुर्घटना हुनबाट टरेको छ ।’ फ्लाई दुबईका प्रवक्तालाई उद्धृत गर्दै दुबई सरकारको दुबई मिडिया अफिसले पनि चरा ठोक्किएको बताएका छन् ।