१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय झन्डा पार्कको स्केच
२o८१ बैशाख २३ आइतबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण हुँदै, राष्ट्रसंघमा आबद्ध १९५ देशका झन्डा फहरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:२६:oo

पोखराको मुख्य बजार महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण हुने भएको छ। पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध एक सय ९५ देशसहित पोखरा महानगरपालिका, लायन्स क्लब र एनआरएनएको गरी एक सय ९८ झन्डा राखिनेछ।

पोखरा महानगरपालिकाले लायन्स क्लब अफ इन्टरनेसनलको आर्थिक सहयोगमा पार्क निर्माण गर्न लागेको हो। पार्कनजिकै गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण हुँदै छ।

नयाँ वर्षको अवसर पारी शिलान्याससँगै निर्माण सुरु गरिएको पार्कको निर्माण ४५ दिनमा सम्पन्न हुने बताइएको छ। पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेसनलका डिस्ट्रिक्टहरूले ७० लाख रुपैयाँबराबरको आर्थिक सहयोग गर्ने छन्। निर्माणको जिम्मा सर्ग कम्पनीले पाएको छ।

पार्कको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चार तहको प्याराफिट शैलीमा पार्क निर्माण हुने बताए। पार्कमा सबै देशको नामसहितका पिल्लरहरूसँगै बीचमा सबैभन्दा अग्लो गरी नेपालको झन्डा राखिने भएको छ।

पार्क निर्माणपछि सो स्थानलाई सिकाइ केन्द्रका रूपमा विकास गर्ने, पार्क आसपासको क्षेत्रलाई वाइफाइ फ्री जोन बनाउने, पत्रपत्रिका पढ्नेसँगै अनलाइनमा पढ्न चाहनेहरूका लागि आवश्यक कम्प्युटरसमेत राखिने बताइएको छ। पार्कलाई रमाइलोका लागि मात्र नभएर लर्निङ सेन्टरका रूपमा विकास गर्दै सोहीअनुसार विकास गरिने प्रमुख आर्चायको भनाइ छ।

लायन्स क्लब अफ इन्टरनेसनलका धनीराम बरालले पार्कका कारण पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न सहयोग पुग्ने र पार्कलाई पर्यटकीय हबको रूपमा विकास गरिने बताए। लायन्स क्लब अफ इन्टरनेसनलका (डिस्ट्रिक्ट ३२५) ध्रुवबहादुर श्रेष्ठले पार्क निर्माणपछि यसको दिगोपनासहित संरक्षणको काम महत्वपूर्ण रहेकाले स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्ने बताए।

ad
ad