१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:५८:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिद्धपृथ्वी जनता माविका शिक्षकको खाता पालिकाद्वारा रोक्का

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५८:oo

दंगीशरण गाउँपालिका– ६ श्रीगाउँस्थित सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयका शिक्षकको तलब, भत्ता रोक्का गरिएको छ। 

निमित्त प्रधानाध्यापक नियुक्तिका विषयमा पालिका र विद्यालय व्यवस्थापन समितिबीच विवाद भएपछि पालिकाले शिक्षकको व्यक्तिगत खातासमेत रोक्का गरेको शिक्षक बाबुराम अधिकारीले बताए। 

उनले पालिकाले दुई महिनाको तलब, भत्ता शिक्षकको खातामा हालेको पाँच दिन नबित्दै सबै शिक्षकको खाता रोक्का गरेको बताए। जुँगाको लडाइँको चेपुवामा शिक्षक परेका छौँ। खातामा आइसकेको तबल, भत्ता पालिकाले रोक्का गरेपछि हामी मजदुर मर्कामा परेका छौँ,’ उनले भने, ‘नयाँ वर्ष कसरी मनाउने हो चिन्तामा छौँ। जुँगाको लडाइँमा शिक्षकलाई मुछ्न भएन । समस्या समाधान गरेर निकास निकाल्नुपर्छ।’

पालिकाले उक्त विद्यालयमा कार्यरत ३५ जना शिक्षकको २५ लाख ५२ हजार पाँच सय ८५ रुपैयाँ रोक्का गर्न कुमारी बैंकलाई परिपत्र गरेको छ। 

‘विद्यालयको मिति २०७९-१२-२० को पत्रअनुसार कुमारी बैंकको खाता नं. ११४०००००१७३०१ मा ३५ जना शिक्षकको नाममा निकासा भएको २५ लाख ५२ हजार पाँच सय ८५ रुपैयाँ अर्को आदेश वा निर्णय नभएसम्मका लागि सो रकम रोक्का राखिदिनका लागि सादर अनुरोध छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार हमालले बैंकलाई लेखेको पत्रमा उल्लेख छ। उक्त विद्यालयमा प्राविधिक धारतर्फ कृषि विषय पढाइ हुँदै आएको छ। 

गाउँपालिका अध्यक्ष शम्भु गिरीले अनधिकृत व्यक्तिले खोलेको खातामा गाउँपालिकाको रकम जम्मा भएकाले शिक्षकको व्यक्तिगत खाता रोक्का गरिएको बताए। 

२४ माघको निर्णयको आधारमा विद्यालय व्यवस्थापन समितिले हस्ताक्षर नमुना बैंकमा पठाएको र गाउँपालिकाबाट प्रमाणित नगराएको बताउँदै अध्यक्ष गिरीले व्यवस्थापन समितिले विधि र प्रक्रिया मिचेर निमित्त प्रधानाध्यापक नियुक्त गरेको बताए। अनधिकृत व्यक्तिको हस्ताक्षर चल्ने गरी सञ्चालन गरिएको खातामा पालिकाले रकम पठाउन नमिल्ने हो। 

वास्तविकता नबुझेर पालिकाले विद्यालयको खातामा रकम पठाउनु त्यो गल्ती भएको महसुस गरी शिक्षकको खाता रोक्का गर्न परेको हो,’ पालिका अध्यक्ष गिरीले भने। 

उनले निमित्त प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीलाई समितिले दबाब दिएर राजनीतिमा दिन लगाएको दाबी गर्दै राजीनामापत्रमा बुढाथोकीको हस्ताक्षर नभएकाले उक्त राजीनामालाई वैध मान्न नसकिने स्पष्ट पारे। बुढाथोकी विद्यालयका तेस्रो रोलक्रमका शिक्षक हुन्। 

‘हर्कबहादुरजीले बुझाएको भनिएको राजीनामामा हस्ताक्षर छैन। उहाँलाई हस्ताक्षर गर्नुस् र माइन्युट लेख्नुस् भनेपछि मान्नुभएन। त्यसपछि व्यवस्थापन समितिले पहिलो र दोस्रो रोलक्रममा रहेका शिक्षकलाई निमित्त नदिएर चौथोमा रहेका चन्द्रलाल जैसीलाई निमित्त तोक्नुभयो,’ अध्यक्ष गिरीले भने, ‘हर्कजीले राजनीतिमा दिएको मान्ने हो भने पहिलो र दोस्रो रोलक्रममा रहेका शिक्षक श्रीधर शर्मा वा बाबुराम अधिकारीलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिनुपर्ने हो, तर त्यसो नगरेर चौथो रोलक्रमका शिक्षकलाई निमित्त दिइयो। यो सरासर गलत हो भन्ने पालिकाको ठहर छ।’

उनले आफू पनि शिक्षकबाट राजनीतिमा आएको बताउँदै शिक्षकको व्यथा र भावना नजिकबाट बुझेको जिकिर गरे। ‘म पालिका अध्यक्ष मात्र होइन, नेपाली कांग्रेस दंगीशरणको सभापति पनि हुँ। मैले राजनीति गरेको भए श्रीधर शर्मालाई प्रधानाध्यापक बनाउन दबाब दिन्थेँ, तर मैले अहिलेसम्म कहीँ कतै दबाब दिएको छैन,’ उनले भने। 

विचार नमिलेकै कारण पालिकाको अनावश्यक हस्तक्षेप : विव्यस अध्यक्ष

गाउँपालिका अध्यक्ष शम्भु गिरीले आस्था र विचार नमिलेका कारण विद्यालयमा अनावश्यक हस्तक्षेप गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला ओलीले बताए। 

उनले आफू एमाले भएकै कारण अध्यक्ष गिरीले अनावश्यक हस्तक्षेप गरी विवाद सिर्जना गर्ने र योजनाको रकमसमेत रोक्का गरेर दुःख दिने गरेको बताए।

‘व्यवस्थापन समितिले गरेको निर्णय उल्ट्याउने र अनावश्यक विवाद निकालेर विद्यालयको दैनिक कामकाजमा अवरोध सिर्जना गर्ने तथा आफूलाई लागेको काम दबाब दिएर गर्न लगाउने काम पालिका अध्यक्षले गरिरहनुभएको छ,’ ओलीले भने, ‘पछिल्लो समय शिक्षकहरूको तलबसमेत रोक्का गर्ने काम पालिकाबाट भएको छ। यो दुःखद हो।’ दंगीशरणमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। 

विगत ७४ वर्षदेखि सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयमा कांग्रेसीहरूको हालीमुहाली थियो। अहिलेको व्यवस्थापन समितिको अध्यक्षमा एमालेका लीला ओली चयन भएका छन्। 

अध्यक्ष भएलगत्तै उनले विद्यालयको शैक्षिक सुधारको काम गर्न थालेपछि कांग्रेसीहरू त्रसिएका छन्। उनकै पालामा उक्त विद्यालयमा प्राविधिक धारतर्फ कृषि विषयको पढाइ सुरु भएको हो। 

‘विगत ७४ वर्षदेखिको हालीमुहाली खोसिएपछि कांग्रेसीहरू तिरमिराएका छन्। एक वर्षभित्र विद्यालयमा सुधारको काम भएपछि राजनीति सकिने डरले अनावश्यक हस्तक्षेप गरेर काममा बाधा ल्याउन खोजिएको छ,’ अध्यक्ष ओलीले भने।

शिक्षक नियुक्ति र सरुवामा भागबन्डा खोजेको आरोप

उनले गाउँपालिका अध्यक्ष गिरीले शिक्षक नियुक्ति र सरुवामा भागबन्डा खोज्दै आएको आरोप लगाए। 

‘पालिका अध्यक्षज्यूले शिक्षक भर्ना र सरुवामा आधा–आधा हुनुपर्ने भन्नुहुन्छ। मैले योग्य शिक्षक आउनुपर्छ। भागबन्डा गर्दा अयोग्य शिक्षक आउँछन् भनेर भागबन्डा गर्न दिँदैन। मेरो अडान चित्त नबुझेपछि उहाँ (पालिका) ले अनावश्यक हस्तक्षेप गरी विद्यालयको कामकाजमा अवरोध सिर्जना गर्नुहुन्छ। उहाँका कारण विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा असर परेको छ।’

यसरी सुरु भएको थियो विवाद

विद्यालयका निमित्त प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजनीतिमा दिए। तर, उनले राजीनामा पत्रमा हस्ताक्षर गरेनन्। र, व्यवस्थापन समितिको बैठकको माइन्युट लेख्न अस्वीकार गरे। पालिका अध्यक्ष गिरी भन्छन्, ‘विवाद चलिरहेकै वेला व्यवस्थापन समितिले सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दियो। नयाँ विद्यालय व्यवस्थापन समिति आउनुअघिदेखि नै नै उक्त विद्यालयमा सहायक प्रधानाध्यापकको रूपमा काम गर्दै आएका थिए। 

जैसीले विगत तीन वर्षदेखि सहायक प्रधानाध्यापक चलाउँदै आएकोमा विद्यालय व्यवस्थापन समितिले उनलाई प्रधानाध्यापकको जिम्मा दिएपछि पालिका अध्यक्ष गिरीले हस्तक्षेप गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला ओलीले बताए। 

‘सहायक प्रधानाध्यापकलाई प्रधानाध्यापक बनाउनुभन्दा पहिले सिनियर सरहरू श्रीधर शर्मा र बाबुराम अधिकारीलाई प्रधानाध्यापकको प्रस्ताव गरेको थिएँ, तर त्यतिवेला उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘शर्मा सरले म बुढो भइसके, मेरो रिटायर्ड हुने दुई वर्ष मात्र बाँकी छ म हुन्न भन्नुभयो। अर्का अधिकारी सरले मेरो घर घोराही हो म उतै जान्छु अध्यक्षज्यू, प्रधानाध्यापक हुन्नँ, बरु युवा साथीलाई बनाउनुस् भन्नुभयो। पछि उहाँहरू कांग्रेसीहरूको बहकाउमा लागेर व्यवस्थापन समितिको निर्णयविरुद्ध पालिकामा निवेदन दिनुभयो। विद्यालयजस्तो पवित्र स्थललाई राजनीतिको क्रीडास्थल बनाउन खोज्नुभयो। यसलाई दुर्भाग्य मान्नुपर्छ।’

गाउँपालिकाको हस्तक्षेप र कांग्रेसीहरूले विद्यालयमा राजनीति गर्न खोजेका कारण बढेको विवाद अहिले जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ। प्रशासनले आइतबार विद्यालय व्यवस्थापन समिति, निवेदन दिने शिक्षक, गाउँपालिका र बैंकका म्यानेजरलाई छलफलका लागि बोलाएको थियो, तर निवेदन दिने शिक्षकद्वय शर्मा र अधिकारी छलफलका लागि प्रशासन नगएको अध्यक्ष ओलीले बताए।

‘प्रशासनमा बैंकका म्यानेजर र म गयौँ, तर निवेदन दिने दुवैजना सर त्यहाँ पुग्नुभएन। आफैँ निवेदन दिने र प्रशासनले बोलाएको छलफलमा आफैँ नजाने के कारण हो बुझ्न सकिएन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले भने।

शिक्षा ऐनअनुसार निमित्त प्रधानाध्यापक तोकिनुपर्छ : शिक्षक बाबुराम अधिकारी

तर, निमित्त प्रधानाध्यापक पाउँ भनी पालिकामा निवेदन चढाउने शिक्षक बाबुराम अधिकारी अध्यक्ष ओलीको भनाइमा सहमत छैनन्। उनले विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको चन्द्रलाल जैसी आफूभन्दा जुनियर भएकोले समितिको निर्णयविरुद्ध पालिकामा उजुरी दिएको बताए। 

उनले सिनियर शिक्षक हुँदाहुँदै जुनियरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिन विद्यमान शिक्षा ऐन र नियमावलीले नदिने स्पष्ट पारे। ‘विद्यालयलाई नियम संगत चलाऔँ। निमित्त प्रधानाध्यापक पनि शिक्षा ऐन र नियमावलीले गरेको व्यवस्थाअनुसार नियुक्त गरौँ। जैसीजी भन्दा म सिनियर हुँ। म निमित्त प्रधानाध्यापक हुन पाउनुपर्छ भनेर पालिकामा निवेदन चढाएको हुँ,’ शिक्षक अधिकारीले भने। 

व्यवस्थापन समितिले शिक्षा ऐनविपरीत निर्णय गरेकोले पालिकाले स्वीकार नगरेको र खाता सञ्चालनमा रोक लगाएको उनले बताए।

‘निमित्त प्रधानाध्यापक जैसी र लेखापालको नाममा खाता सञ्चालन गर्न व्यवस्थापन समितिले परिपत्र गरेको थियो, तर पालिकाले मानेन,’ उनले भने, ‘पालिकाले विद्यालयको खाता रोक्का गर्नुपर्थ्याे। हाम्रो खाता रोक्का गरेर हामीमाथि अन्याय भएको छ। काम गरेको पारिश्रमिक हामीले छिटो पाउनुपर्छ । अरूहामीलाई थाहा छैन।’

  
 

ad
ad