मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २८ मंगलबार ०९:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा नकारात्मक असर : गभर्नर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २८ मंगलबार ०९:१२:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर अधिकारीले जानकारी दिए । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुने धारणा पनि राखे । महासंघले उपलब्ध गराएको निर्माण उद्योगसँग सम्बन्धित बैंंकिङ क्षेत्रको समस्याबारे राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गरिने प्रतिबद्धता पनि गभर्नर अधिकारीले व्यक्त गरे । 

यस्तै, महासंघ अध्यक्ष रवि सिंहले गभर्नर अधिकारीलाई व्यवसायीहरूको ठूलो रकम राज्यले निकासा नगर्दा ‘सप्लाई चेन’मै गम्भीर समस्या आएको जानकारी दिए । निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि बैंकहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने अध्यक्ष सिंहले बताए । क्रेडिट रेटिङ, ब्याजदर समायोजन, ठेक्का कर्जा, चालू पुँजी कर्जासम्बन्धी मागनिर्देशन, चेक बाउन्स, कालोसूची, पुनर्कर्जालगायतका विषयमा ध्यानाकर्षण गराए । 

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, नीतिगत उपमहासचिव शिवहरि घिमिरे र महासंघका कानुनी सल्लाहकार टंकबहादुर दुलालले बैंकहरूसँग सम्बन्धित अन्य विविध समस्याबारे गभर्नर अधिकारीलाई जानकारी गराए ।