
संकटको घडीमा महासंघमा यस्तो नेतृत्व आउनुपर्छ, जसले सरकारसँग आँखामा आँखा जुधाएर कुरा गर्न सकोस्
विषम परिस्थितिमा हुन गइरहेको चुनाव : आन्तरिक तथा बाह्य कारणबाट यतिवेला देशको समग्र अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ । साथै, राजनीतिमा पनि स्थिरता छैन । तरलता अभाव, ब्याजदर वृद्धिदेखि उपभोगमा संकुचन आएको छ । मागमा व्यापक गिरावट आउँदा औद्योगिक व्यावसायिक क्षेत्र मारमा छ । सुरुमा अर्थतन्त्र कोभिड महामारीले थला पर्यो । कोभिडबाट तंग्रिन नपाउँदै थप संकट निम्तिएको छ । रसिया–युक्रेन द्वन्द्वले विश्वव्यापी असर पर्यो । र, नेपालको अर्थतन्त्र पनि गम्भीर अवस्थामा पुगेको महसुस भएको छ ।
व्यवसाय सुस्ताउँदा बैंकको किस्तासमेत तिर्न कठिन भइरहेको छ । बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यावहारिक नीतिका विरुद्ध देशभरका व्यवसायी सडकमा उत्रिएको अवस्था छ । यदि राज्यले अहिलेको संकटबाट पार गराउन निजी क्षेत्रलाई सहयोग नगरे धेरै उद्योग व्यवसाय बन्द हुनेछन् । कतिपय उद्योग व्यवसाय त बन्द नै भइसकेको पनि अवस्था छ । घरेलु, साना, मझौला तथा ठूला उद्यमी व्यवसायी सबै समस्यामा छौँ । मागमा आएको संकुचनले उद्योग कलकारखाना औसत ५० प्रतिशत क्षमतामा चलिरहेका छन्, त्यो पनि सबै उद्योग होइन ।
यस्तो विषम परिस्थितिका बीच निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । चैत २८ र २९ गते हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा उत्रिँदै हुनुहुन्छ । हामी पूर्वअध्यक्ष चाहन्छौँ– ‘यस्तो संकटको घडीमा निजी क्षेत्र एकताबद्ध हुनुपर्छ र महासंघमा पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ ।’ तर, यो सम्भव देखिँदैन । पूर्वउपाध्यक्षहरू महासंघको निर्वाचनमा त्यति सक्रिय छैनौँ । र, रहँदैनौँ पनि ।
अहिलेको विषम परिस्थितिमा कस्तो नेतृत्व आउनुपर्छ त ? वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुनुहुँदै छ । बरिष्ठ उपाध्यक्षसहित तलका पदमा निर्वाचन हुने हो । संकटको घडीमा महासंघमा यस्तो नेतृत्व आउनुपर्छ, जसले सरकारसँग आँखामा आँखा जुधाएर कुरा गर्न सकोस् । निस्वार्थ भावनाले निजी क्षेत्रका समस्या सम्बोधनका लागि सरकारसँग पहलकदमी गर्न सक्नुपर्छ । देशको आर्थिक विकास र समृद्धिका लागि पहल गर्न सकोस् । यतिवेला संकटमा परेका व्यवसायीहरूको उद्धारका लागि राज्यसँग आफ्ना कुराहरू जोडदार रूपमा राख्न सक्ने र बोल्न सक्ने नेतृत्व चाहिएको छ । निदाइरहेको सरकारलाई झकझकाउन सक्ने नेतृत्व आउनुपर्छ ।
पूर्वअध्यक्षहरूको अवमूल्यन : पछिल्ला दुई–चार कार्यकालमा अध्यक्ष भएर आउनेहरूले पूर्वअध्यक्षलाई पूरै उपेक्षा गरेजस्तो लाग्यो । अहिलेको नेतृत्वले अर्थतन्त्रमा देखिएको संकट र उद्योगी व्यवसायीका समस्या समाधान गर्न कसरी अगाडि बढ्ने भनेर सुझाव लिनसमेत आवश्यक ठानेन । हामी आफैँ यो गर्नुस् भन्दै जाने कुरो पनि भएन, फेरि पूर्वअध्यक्षहरूले हस्तक्षेप गरे भन्ने आरोप लाग्छ । महासंघबाट खोजीनीति गरेर सल्लाह मागेको भए हामी सल्लाह दिन्थ्यौँ ।
चुनाव प्रचार भइरहेको छ, कसले के बोलिरहेको छ, त्यो पनि थाहै छ । चुनाव जितेपछि प्रतिबद्धता र घोषणा कार्यान्वयन होस् । चुनावअघि बोलेकोभन्दा चुनावपछि अझ प्रभावकारी काम गरोस् । महासंघ नेतृत्वले भित्तामा तस्बिर झुन्ड्याउने काम मात्रै चाहिँ नगरोस् ।
मेरो बुबा पनि अध्यक्ष भएको, म पनि अध्यक्ष भएको कारण मेरो संवेदना महासंघमा अझ बढी जोडिएको छ । अरू पूर्वअध्यक्षहरू पनि महासंघप्रति उत्तिकै चिन्तित हुनुहुन्छ । हामी पूर्वअध्यक्ष कोही पनि महासंघ कमजोर भएको हेर्न चाहँदैनौँ, आफैँ गएर हस्तक्षेप पनि गर्न चाहँदैनौँ । तर, महासंघले हाम्रो सुझाव पनि लिनुपर्छ ।
महासंघमा अनुशासन समिति र सल्लाहकार समितिको संयोजक त पूर्वअध्यक्ष नै हुन्छन् । सल्लाहकार समितिमा महेशलाल प्रधान र अनुशासन समितिमा म नै संयोजक छु । अहिलेको विधानअनुसार कार्यसमिति बैठकमा सल्लाहकार समितिको संयोजक र अनुशासन समितिको सल्लाहकार विशेष आमन्त्रित हुन्छन् । तर, अहिलेसम्म हामीलाई कार्यसमितिमा बोलाइएको छैन । बोलाइएको भए पनि जान्थ्यौँ वा जाँदैनथ्यौँ, त्यो फरक कुरा । तर, नबोलाईकन जाने कुरा भएन । यस्तो किसिमको अपरिपक्व बेवास्ता भयो । पूर्वअध्यक्षको त अनुभव छ, निःस्वार्थ सल्लाह दिन सक्थ्यौँ ।
कमजोर नेतृत्व र त्यसको परिणाम : अहिलेको नेतृत्वले उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न प्रभावकारी पहल गरेजस्तो लागेन । नेतृत्वले खाली फर्मालिटी मात्र पूरा गरिरहेको छ । प्रधानमन्त्री, मन्त्री, सचिव, गभर्नरलाई भेट्यो, सुझावपत्र टक्र्यायो, फोटो खिच्यो, अनि फक्र्यो । महासंघको नेतृत्वले जसरी सशक्त आवाज उठाउनुपथ्र्यो, त्यसरी आवाज उठाएकै पाइएन । पछिल्लो समय राज्यका निकायमा निजी क्षेत्रको आवाज बलियो बन्न सकेको छैन । त्यसो नहुँदा देशभरका उद्योग वाणिज्य संघहरू निराश छन् ।
महासंघको इतिहासमै पहिलोपटक जिल्ला उद्योग वाणिज्य संघहरू चर्को ब्याजदर, बैंकको मनपरी, राष्ट्र बैंक र सरकारका अव्यावहारिक नीतिका विरुद्ध सडकमा उत्रिए । यो पटक्कै राम्रो भएन । महासंघको नेतृत्वले माथिबाटै समाधानको पहल गर्नुपथ्र्यो । यो कार्यकाल १०–१२ दिनमा सकिँदै छ । अब आउने नेतृत्व वर्गले यी कुरा बुझेको र राज्यसँग सशक्त ढंगले प्रस्तुत हुन सक्ने हैसियत राख्नुपर्छ ।
सबैले भन्छन्– महासंघले अहिलेको क्राइसिसमा सही नेतृत्व दिन सकेन । बलियो रूपमा राज्यसँग निजी क्षेत्रका समस्या राख्न सकेन । राज्यले निजी क्षेत्रलाई उपेक्षा गर्न थालेको छ । महासंघका नेतृत्वमा हुनेहरू आफ्नो स्वार्थमा लाग्दा राज्यसँग आँखामा आँखा जुधाएर बोल्न नसकेको भन्ने पनि सुनिन्छ । त्यो कुर्सीमा बसेपछि आफ्नो होइन, देशभरका व्यवसायीको हितमा काम गर्ने हो । कुर्सीमा बसेपछि व्यक्तिगत लाभ त्याग्न सक्नुपर्छ ।
विधान संशोधनको आवश्यकता : महासंघको विधान संशोधनको विषय पेचिलो छ । महासंघ अहिलेकै अवस्थामा अघि बढ्न सक्दैन, विधान त संशोधन गर्नैपर्छ । चुनावका वेला देखिएका विकृतिहरू हटाउन, अन्य सुधार गर्न विधान संशोधन समिति बनाइयो । कुशकुमार जोसीको नेतृत्वमा बनाइयो । त्यो समितिले सबैसँग सुझाव मागेको थियो, अन्तरक्रिया गरेको थियो, हामी पूर्वअध्यक्षले पनि दिएका थियौँ । हामी पूर्वअध्यक्षहरू बसेर छलफल गरेर सुझाव दियौँ । हामीले सुझाव दिँदा पूर्वअध्यक्षहरूले हस्तक्षेप गर्न लाग्यो भन्ने आरोप लगाइयो, जुन वास्तविक थिँदैथिएन । हामीले हामी पूर्वअध्यक्षकै अधिकार कटौती गर्ने सिफारिस गरेका थियौँ । चुनावी गतिविधिमा सहभागी हुन नपाउने, कुनै किसिमको हस्तक्षेप नगर्नेलगायतका राम्रा सुझाव दिएका थियौँ । दुर्भाग्यवश, त्यो अघि बढ्न सकेन । विधान संशोधन अघि नबढाउनु वर्तमान कार्यसमितिको कमजोरी हो ।
महासंघको प्रभाव किन घट्दै छ ? : प्रभाव त वास्तवमै कम भएको छ नि । आजको दिनमा राज्यले महासंघले दिएका सुझावलाई गम्भीरताका साथ लिएको देख्नुभएको छ ? के छ जवाफ ? हरेकपटक महासंघले सुझाव दिन्छ, राज्यले कार्यान्वयन गर्छु भनेर पठाउँछ, तर कार्यान्वयन गर्दैन । सरकारलाई पनि थाहा छ कि महासंघभित्रै पनि एकता छैन, राजनीति छ, फुट छ, हिजोको जस्तो एकता छैन । त्यसैले सुन्दैन ।
म अध्यक्ष हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्रीमा रामशरण महत र उद्योगमन्त्रीमा पूर्णबहादुर खड्का थिए । त्यो वेला माओवादीको विद्रोहले उग्र रूप लिएको थियो ।
हामीलाई केही समस्या परे हामी भेट्न जान्थ्यौँ, सरकार आफैँले पनि बोलाउँथ्यो । एकपटक मलाई के लाग्यो भने हामी सधैँ बालुवाटार वा सिंहदरबार जान्छौँ, उहाँहरू (प्रधानमन्त्री, मन्त्रीहरू) किन हाम्रो महासंघमा नआउने ? मैले सिंहदरबारमा गएर प्रधानमन्त्रीलाई महासंघको सचिवालयमा आएर उद्यमी व्यवसायीलाई आँटभरोसा दिन आउनुपर्यो भनेँ । सुरुमा उहाँले अस्वीकार गर्नुभयो, तर मैले कर गरेपछि आउनुभयो । महासंघको इतिहासमा पहिलोपटक प्रधानमन्त्री महासंघ सचिवालयमा आउनुभयो, उद्यमी व्यवसायीहरूले आफ्ना समस्या तथा गुनासो सुनाए, उहाँले ढाडस दिनुभयो । त्यसपछि मैले अर्थमन्त्री, गृहमन्त्री र उद्योगमन्त्रीलाई एकैपटक बोलाएँ, उहाँहरू आउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरू आएपछि दलका नेताहरूसमेत आए । गिरिजाबाबु, माधव नेपाल, सूर्यबहादुर थापालगायत नेता पनि आउनुभयो । त्यसरी चलेको थियो, महासंघ । तर, पछिल्ला केही वर्षदेखि महासंघको त्यो चार्म घटेको छ ।
चुनावमा देखिएका विकृति रोकिनुपर्छ : महासंघको चुनावमा धेरै नै विकृति देखिए, देखिइरहेका छन् । पहिला तत्कालीन विधानअनुसार अध्यक्षको निर्वाचन प्रत्यक्ष हुन्थ्यो । तर, पछिल्लो समय विकृति देखियो, त्यो विकृति राजनीतिक दलमा भन्दा पनि कुनै कमी देखिएन । अध्यक्षको चुनावमा करोडौँ रुपैयाँ खर्च भयो । त्यो राम्रो कुरा थिएन । हाम्रो राजनीतिक संस्था होइन । राजनीतिक पार्टीका नेतासँग घरघरमा गएर आशीर्वाद लिन थालियो । हाम्रो नेता हामी उद्यमी व्यवसायीले नै छान्नुपर्छ । यसरी दल र दलका नेताका ढोका ढकढक्याएर चुनावमा जानु भएन । यो गलत भयो । भोट किन्ने–बेच्ने भयो । त्यही विकृति रोक्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरियो । तर, विकृति जहाँको त्यहीँ छ । अध्यक्षको चुनवामा जस्तै वरिष्ठ उपाध्यक्षको चुनावमा पनि भोट किनबेच, राजनीतिको चरम रूप देखिएको छ ।
वर्तमान उम्मेदवारहरूलाई सुझाव : अहिलेको परिस्थितिमा एकढिक्का भएर जाने, चुनाव नगर्ने भन्ने कुरा औपचारिक खपतका लागि मात्रै हुने भयो । मैले पनि मिलेर जानुपर्छ भन्दै आएको छु, तर त्यो सम्भव देखिँदैन । उहाँहरूलाई प्रतिस्पर्धा गर्ने अधिकार छ । स्वच्छ प्रतिस्पर्धा होस् । कुनै पनि विकृति नहोस् । जुनसुकै हतकण्डा अपनाएर भए पनि नेतृत्वमा आउँछु भन्ने सोच कुनै उम्मेदवारले पनि नराख्नुहोस्, स्वच्छ प्रतिस्पर्धा गरेर आउनुहोस् र निःस्वार्थ काम गर्नुहोस् भन्न चाहन्छु ।
हाम्रा सम्पूर्ण सदस्यले पनि अहिलेको अवस्थामा कुन व्यक्ति ठीक छ, कसले हाम्रो समस्या राज्यसँग लगेर समाधान गराउन सक्छ, त्यही व्यक्तिलाई जिताउनुपर्छ । मेरो समर्थन कोही एकलाई होला, तर म अहिल्यै खुल्दिनँ । हाम्रो समस्या जर्जर अवस्था छ । समयमै समस्या समाधान भएन भने परिस्थिति डरलाग्दो छ ।
चुनाव प्रचार भइरहेको छ, कसले के बोलिरहेको छ, त्यो पनि थाहै छ । चुनाव जितेपछि प्रतिबद्धता र घोषणा कार्यान्वयन होस् । चुनावअघि बोलेकोभन्दा चुनावपछि अझ प्रभावकारी काम गरोस् । महासंघ नेतृत्वले भित्तामा तस्बिर झुन्ड्याउने काम मात्रै चाहिँ नगरोस् ।
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।