
नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । महासंघले विधानको दफा ३८ (क) अनुसारको अनुशासन समिति गठन गरेको हो । अनुशासन समितिको उपसभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी रहेका छन् ।
महासंघको विधानको दफा ३८ (क)मा पूर्वअध्यक्षको सभापतित्वमा ७ सदस्यीय अनुशासन समिति गठन गरिने उल्लेख छ । उक्त समितिको सदस्य सभापतिको सिफारिसमा अध्यक्षले मनोनीत गर्ने विधानको व्यवस्था छ । सोहीअनुसार समितिका सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धी एन्ड एसोसिएट्सका संस्थापक अध्यक्ष गान्धी पण्डित मनोनीत भएका छन् । समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेका छन् ।
अनुशासन समितिले महासंघको विधान नियमावली तथा आचार संहिताको पालना नगरेको वा सोविपरीत कुनै कार्य गरेको भनी कार्यकारिणी समितिका पदाधिकारीरू, सदस्यहरू तथा सदस्य संघहरूउपर उजुरी पर्न आएमा छानबिन गर्न सक्छ । त्यस्तै, छानबिन गर्ने प्रयोजनका लागि आरोप लागेका व्यक्तिलाई सोधपुछ गर्ने, बयान लिने, प्रमाण संकलन गर्ने तथा स्पष्टीकरण सोध्न सक्ने विधानले समितिलाई अधिकार दिएको छ ।