१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिक्मतसिंह ऐर
२०७९ चैत १९ आइतबार १०:०५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

हटारु पदमार्ग : ट्रेकिङमा नयाँ आयाम 

Read Time : > 4 मिनेट
हिक्मतसिंह ऐर
२०७९ चैत १९ आइतबार १०:०५:००

केन्द्रीकृत पर्यटन व्यवसायले प्रचलित ट्रेकिङ रुटको प्याकेजमा ‘हटारु पदमार्ग’ समावेश नगर्दा त्यहाँ पर्यटकीय गतिविधिले गति लिन सकेको छैन

विसं.०२८ सालमा नेपालको जनसंख्या १ करोड १५ लाख थियो र यस वर्ष दुई करोड ९१ लाख पुगेको छ । यसरी हेर्दा विगत ५० वर्षको समयमा लगभग हाम्रो बसोवासको क्रम पहाडबाट तराई झर्ने १००५ प्रतिशत रहेको पाइन्छ । जाडोयाममा तराई झर्ने र गर्मीमा पहाड चढ्ने हाम्रा पुर्खा एवं अग्रजको नियमित कार्यक्रम नै हुन्थ्यो । हाम्रा बाबु, बाजे सपरिवार पहाड, हिमालबाट तराईको भावर क्षेत्रमा आफ्नो बसाइँसराइ गर्नुभयो । कालान्तरमा आज कुल जनसंख्याको ५३.६६५ प्रतिशत तराईमा नै बसोवास गर्दै छौँ । पहाडमा बसोवास गर्ने जनसंख्या घटेर ४०.२५५ मा झरेको उक्त प्रतिवेदनअनुसार पनि हाम्रो देशको लगभग २२ लाख जनसंख्या विदेशमा रहेको देखाए पनि त्योभन्दा धेरै जनसंख्या विदेशमा छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

जनसंख्याको भौगोलिक अवस्थितिका बारेमा विश्लेषण गर्दा लगातार हिमाल र पहाडको जनसंख्या कम र तराई–मधेसमा बढी हुने क्रम सन् १९५० यता सुरु भएको पाइन्छ । अधिकांश राजमार्ग तराईमा र तराईसँग जोडिएकाले सहर बढी उत्तर–दक्षिणका बिन्दुमा जनसंख्या जनघनत्व बढी भई उत्तर–दक्षिण जोडिने राजमार्ग बन्दै छन् । काठमाडौंलगायत पुराना सहरबाहेक पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्गको संगम बिन्दु मध्यपहाडी राजमार्गमा झुलाघाट बैतडीदेखि पशुपतिनगर इलामसम्मको पहाडी व्यापारिक केन्द्रहरूमा पनि नयाँ सहरीकरण बढेको पाइन्छ । पहाडमा कृषिबाट गुजारा नचलेपछि वैकल्पिक पेसा रोज्नुपर्ने परिस्थिति आएकाले हाम्रा बाबुआमा, दाजुभाइहरू आ–आफ्नो भाग्यको डोर समात्दै तराई झरे । यो यात्रामा उहाँहरूले धरैपटक पहाड र तराईमा आउने–जाने गरेको कथाव्यथा सुन्न पाइन्छ । 

हाम्रा अग्रजको यस विकासोन्मुख यात्राको पाइला पछ्याउँदै, आफ्नो थातथलोमा पुगी केही कल्पना र केही वास्तविकतालाई हेर्ने यो हाटबजार जाने वा मधेस झर्ने मार्गलाई ‘हटारु पदमार्ग’को रूपमा प्रस्तुत गरिरहेको छु । प्रत्येक प्रदेशमा आफ्नो मौलिकता झल्काउने पहाडका गन्तव्य वा बसोवास छन्, जहाँ स्थानीय रूपमा पनि व्यापारिक जमघट हुन हाटबजार लाग्ने गथ्र्यो । तीमध्येका केही हाटबजार लाग्ने क्रम आज पनि पाइन्छ । पूर्वी तराईका केही सहर बुधबारे, मंगलबारे, शनिश्चरेको नामकरण पनि त्यहाँ लाग्ने हाटबजारकै कारण भएको हो । 

भोजपुर, संखुवासभा, ताप्लेजुङ आदिबाट आफ्ना कृषि उत्पादन, ऊनको गलैँचा, छुर्पी, फलफूल एवं भेडाबाख्रा आदि बेचबिखन गर्न धरान, इटहरी, झापाका बजारतिर हाम्रा अग्रज आउँथे । भारतबाट आउने सामग्री र तराईमा हुने खाद्यान्न, नुन, तेल, लत्ताकपडा किनी घर फर्किन्थे । कालान्तरमा परिवारका केही सदस्यले हिँडेको त्यो पैदलमार्ग सडकमार्गले मासिएका छन् भने केही प्रचलनमा आएकै छैनन् । केही पूर्वका प्रचलित सदरमुकाम वा बजारनजिकका बसोवासलाई समेटेर पुराना मेची र कोसी करिडोरका पदमार्गलाई समेटी नयाँ ट्रेकिङ रुटको प्याकेज प्रस्तुत गरी पर्यटनमा केही नौलोपनको अनुभूति दिन सकिन्छ जस्तो लाग्छ । 

क) पूर्वको चैनपुर बजार, तेह्रथुमका बसोवासलाई समेटेर बनाएको खाँदबारी, संखुवासभा फुङलिङ ताप्लेजुङबाट दमक, बिर्तामोड, चारआली, काँकडभिट्टा झर्ने अनेकौँ परापूर्वकालदेखि पैदल आउने–जाने मार्ग छन् । त्यसमध्ये चारआली (इलाम)–फिदिम–गोपेटार–थिचम्बु–फुङलिङ (ताप्लेजुङ) पुग्न सकिन्छ । यस्तै, कानेपोखरी–मधुमल्ला–दारेगौँडा– म्याङलुङ बजार (तेह्रथुम)–वसन्तपुर (तेह्रथुम) पुगिन्छ ।

ख) इटहरी–धरान–धनकुटा–लेगुवा–भोजपुर पुग्ने पुरानो बाटोमा आज मोटर बाटो बनिसकेको छ । तर, तलबाट पुरानै बाटो भोजपुर पुग्ने अर्को बाटो सप्तकोसीको तिरैतिर सगरमाथा तलका गाउँहरू सिलिचुडँमा पुग्न सकिन्छ । सप्तकोसी चतराबाट नदीमा मोटरबोटबाट चुहारा हतुवागढी किरातगढी, तावा भञ्ज्याङ नागफामी हुँदै चखेवा डाँडा, टेम्के डाँडा, मयेडँ डाँडा (३३३३ मिटर) हुँदै साल्पा पोखरी (३५०० मिटर), सिलिचुडँ (४१५३ मिटर) र सगरमाथाको जिल्लातिर ट्रेकिङ गर्न सकिन्छ । त्यस्तै, पूर्वतिर नयाँ ट्रेकिङ रुट भोजपुर, दिङ्ला, खाँदबारी संखुवासभासम्म पनि पुग्न सकिन्छ ।

पूर्वजस्तै पश्चिम कर्णाली क्षेत्रमा पनि अनेकौँ पुराना हाटबजार जाने हटारु मार्ग छन्, जुन ४०–५० वर्षअघिसम्म अत्यधिक आउजाउ गरिने पदमार्गको रूपमा थिए । कर्णालीका बासिन्दा तल तराईका सहर र चिनियाँ सीमातिर पनि हाटबजारमा जाने गर्थे । हाल सडक सञ्जालले उनीहरूको जीवनशैलीमा नै परिवर्तन आएको छ । कर्णालीमा मुख्य तीन राजमार्ग कर्णाली, मध्यपहाडी र राप्ती खुलेसँगै तलका स्थलमा हाटबजार बस्ने र माथिबाट आउने क्रम हटेको छ । तर, पुर्खाले मध्यपहाडी सदरमुकाम र तराईका स्थलसम्म हिँडेका ती पदमार्ग आज पनि पाइन्छ । केही पदमार्ग सडकमार्गमा परिवर्तन भएका छन् । उदाहरणका लागि– कर्णाली करिडोर । नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत ताक्लाकोट जोड्ने सडक मार्ग ।

अर्को हो, नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–घो–मोरम्ला–तिब्बत जोड्ने सडकमार्ग । भेरी करिडोरअन्तर्गत सुर्खेत–जुम्ला–सिन्जा–मुगु रारा– नाक्चेनाग्ला–तिब्बत सडकमार्गमा केही पक्की रोड र केही ट्र्याक खोलिएर पक्की बन्ने क्रममा छन् ।

कर्णाली प्रदेश योजना आयोगको तथ्यांकअनुसार कर्णाली प्रदेशभरि आठ हजार ६ सय ९४ किलोमिटर सडक खनिएको छ । सडकको पहुँच विस्तारसँगै ती पुराना हाटबजार पुग्ने पदमार्ग विस्थापित भएका छन् र ती रुटका बस्तीहरू सदरमुकामतिर विस्थापित भए तापनि केही परिवार आज पनि त्यहाँ बसोवास गर्छन् । पुराना हटारु पदमार्गको सबैभन्दा बढी प्रयोग १० वर्षे सशस्त्र युद्धमा छापामारले गरेको पाइन्छ । त्यसको उपयोग पूर्वदेखि पश्चिम नेपालको मध्यपहाडी क्षेत्र र उत्तर–दक्षिण जोड्ने सदरमुकाम र तराईसँग गरेको पाइन्छ । रुकुम, रोल्पा, सल्यान, डोल्पा आदि स्थानमा अत्यधिक प्रयोग भएको पदमार्गलाई ‘गुरिल्ला पदमार्ग’को रूपमा नामकरण गरी स्थानीय सरकार र नेपाल पर्यटन बोर्डले ०६२–६३ को शान्ति सम्झौतापछि व्यापक प्रचारप्रसारमा ल्याएको थियो । तर, केन्द्रीकृत पर्यटन व्यवसायले यसको उपयोग आफ्नो प्रचलित ट्रेकिङ रुटको प्याकेज तालिकामा समावेश नगरेका कारण यस पदमार्गमा पर्यटकीय गतिविधिले गति लिन सकेन । तर, अबका दिनमा केही नौलोपन दिने हो भने पुराना हटारु पदमार्गमा आधारित ‘गुरिल्ला पदमार्ग’को पनि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि मधेस झर्ने वा हाटबजार जाने अनेकौँ पुराना पदमार्ग भेटिन्छन् । सडक सञ्जालको विकाससँगै परिवर्तित समयमा सदरमुकाम र अन्य जिल्लाका व्यापारिक केन्द्रमा आउने स्थानीयले अहिले गाउँमै उपभोग्य वस्तु किन्न पाएका छन् । विगतका मौसमको चालसँगै जाडो याममा मधेस झर्ने र गर्मीमा पहाड चढ्ने हाम्रा बाबाबुजेकोे लर्को लाग्थ्यो । त्यही प्रचलनअनुसार कैलाली कञ्चनपुरको जंगलमा रैथाने थारू जातिका समुदायसँग पहाडी समुदायले घर व्यवहारको सामान, कृषि उत्पादनको खरिदबिक्री गर्ने गरेको थियो ।

०२०–२२ पछि सुदूरपश्चिमका तराईकै व्यापारिक केन्द्रमा पहाडीहरूको बसोवास हुन थाल्यो र पहाड खाली भई तराईको फाँट भरिन थाल्यो । आज पनि हाम्रा वृद्ध बाबुबाजेहरूसँग गाउँघरमा कुरा गर्दा चार–पाँच दिनमा डडेल्धुरा गाउँबाट बुरड परशुराम हुँदै तराई कञ्चनपुर महेन्द्रनगरवरपरका गाउँमा पुगिन्थ्यो भन्ने रोचक किस्सा सुन्न पाइन्छ । त्यो अहिले किंवदन्तीजस्तो सुनिन्छ, किनकि सडकमार्गले त्यो दूरी १४० किमिमा सीमित गरी छोट्याएको छ । 

त्यस्तै, कैलाली टीकापुर पुग्न मंगलसेन अछामबाट चार दिनमा जंगलघाट सोल्टा, कैलाली चिसापानी बजारमा कर्णाली नदीको तिरैतिर पुगिन्थ्यो । ०१८ सालतिर त तराई कैलाली टीकापुरबाट बैनिया–लोटेघाट–सेती र कर्णाली नदीको संगमस्थल हुँदै चित्रे– जंगलघाटको बाटो जिप बोकेर मंगलसेन पु¥याइएको कथा पनि सुन्न पाइन्छ । प्रदेशभरि अनेकौँ हटारु पदमार्ग छन् । ती कुनै वेला प्रचलनमा थिए । स्थानीयहरू समूहमा हाटबजार जान हिँड्थे । ती बाटा अहिलेजस्तो सजिला थिएनन् । ठाउँअनुसार बस्ने ओडार र जंगल पनि भिन्न–भिन्न हुन्थे । त्यसवेला नदी र खोलामा पुल थिएन, तर अहिले ती पुराना पदमार्गमा झोलुंगे पुल र स–साना बस्ती छन् ।

पुराना पदमार्ग भएर जुन बाटोबाट पहाडबाट तराई आइन्थ्यो, त्यसलाई व्यवस्थित बनाई प्रचार–प्रसार गर्ने हो भने ट्रेकिङ व्यवसायमा थप आकर्षण दिन सकिन्छ । नेपालको साहसिक पर्यटन गतिविधिमा ट्रेकिङ नम्बर एक पर्यटकीय गतिविधि रहेको छ । सन् २०१९ सम्म वार्षिक लगभग २ लाख विदेशी पर्यटकले ट्रेकिङ गर्ने गरेको पाइन्छ । हुन त सन् २०१८ मा नेपाल सरकारले हिमाली र पहाडी क्षेत्रहरूलाई समेटेर पूर्व–पश्चिम ‘ग्रेट हिमालयन ट्रेल अपर’ र ‘लोअर’को अवधारणा प्रस्तुत गरी ट्रेकिङको सीमित यात्रालाई देशभरि नै पु¥याउने उद्देश्यले पूर्व ताप्लेजुङको चिमे झन्ङगदेखि सुदूरपश्चिमको बैतडी झुलाघाटसम्मको पदयात्राको प्रवद्र्धन गर्ने गरेको छ । तर, यसलाई उत्तर–दक्षिण वा दक्षिण–उत्तर दिशाको नयाँ पदमार्ग पर्यटन बजारमा प्रस्तुत गर्न सातै प्रदेशमा हाम्रा अग्रज हिँडेको हाटबजार पुग्ने पदमार्गलाई व्यवस्थित गर्न सकिन्छ । 

पर्यटन सेवा सुविधाको विस्तार एवं स्तरोन्नति गरी प्रवद्र्धन गर्ने हो भने मध्यपहाडी क्षेत्रको बहुआयामिक संस्कृति धरोहरले भरिपूर्ण ग्रामीण परिवेशमा हुर्किरहेको आधुनिक सुविधासमेत दिन सकिन्छ । हाम्रा हिल स्टेसन र वरपरका क्षेत्र र पहाडतल भित्री मधेसको उपत्यका क्षेत्रमा पनि थप पर्यटकीय सेवासुविधाका होमस्टे, टी सप, रिसोर्ट आदि पर्यटकीय सेवाहरू खुली थप आर्थिक गतिविधि सुरु हुन सक्ने सम्भावना देखिन्छ । यस्ता थप पर्यटकीय गतिविधिले हाम्रा मानव संसाधनको देशबाट पलायन हुने वर्तमान परिस्थतिमा केही कमी आउन सक्छ ।