
दाँतको सुरक्षाका लागि दिनमा दुईपल्ट ब्रस गर्न जरुरी छ । जब कि धेरैजसो मानिस बिहान मात्रै ब्रस गर्छन् । हामीले राति सुत्नुअघि पनि दाँत ब्रस गर्न जरुरी हुन्छ । किनकि, धेरैजसो ब्याक्टेरियाले रातकै समय दाँतमा हमला गर्छन् । राति सुत्नुअघि ब्रस गर्दा मुखभित्र दिनभर जम्मा भएका ब्याक्टेरिया र विषाक्त पदार्थ सफा हुन्छन् र दाँत स्वस्थ रहन्छ ।
फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । फ्लोराइडले कीटाणु र ब्याक्टेरियासँग लड्छ । त्यस्तै, केही खाना खाइसकेपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । यसो गर्दा मुखको दुर्गन्ध पनि हट्छ र ब्याक्टेरियाबाट पनि बच्न सकिन्छ ।
दाँत बलियो राख्नका लागि आफ्नो खानपानमा पनि ध्यान दिनुपर्छ । खानामा क्याल्सियमको मात्रा बढाउनुपर्छ । दूध, दही, पनिर, गेडागुडी, नट्स, दाल तथा हरियो सागपातमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । हरियो सागपातमा रहेको भिटामिन र मिनरलले दाँत स्वस्थ राख्न भूमिका खेल्छ । वर्षमा दुईपटक डेन्टिस्टसँग अनिवार्य चेकअप गर्नुपर्छ । यसो हुँदा दाँतमा देखिएका कुनै पनि समस्याको समयमै पहिचान हुन्छ ।