१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Sunday, 11 May, 2025
काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको जात्राका क्रममा रथ तान्दै स्थानीयवासी । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार o७:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सेतो मत्स्येन्द्रनाथको रथ पहिलो दिन असन पुग्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार o७:४५:oo

सेतो मत्स्येन्द्रनाथको रथ असन पुगेको छ । रथ पहिलो दिन महिलाको नेतृत्वमा तानिएको थियो । उनीहरूले मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथ तानेर जात्रा सुरु गरेका थिए । 

काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथजात्रा बुधबार दिउँसो ४ बजे सुरु भएको हो । करिब दुई सय महिलाले रथ तानेका थिए । ०७५ सालबाट महिलाको नेतृत्वमा रथ तान्न थालिएको हो । साँझ ५ देखि साढे ६ बजेसम्म रथ तानेर जमल रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको छ । जात्राभर सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखेर विभिन्न ठाउँको परिक्रमा गराइन्छ । ऐतिहासिक एवं पराम्परागत रूपमा चलिआएको आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ)को रथ तान्नका लागि महिलालाई सुरक्षित पोसाकमा आउन भनिएको थियो ।

चैत महिनाको शुक्लपक्ष अष्टमीदेखि जात्रा सुरु हुन्छ । ‘आर्यावलोकितेश्वर अर्थात् मत्स्येन्द्रनाथलाई मानव जगतको भलो चाहने भगवान्को रूपमा पुज्दै आएका छौँ । यो जात्रा १२–१३औँ शताब्दीदेखि नै मनाउँदै आएको इतिहास छ,’ मत्स्येन्द्रनाथका पुजारी नीलकाजी शाक्यले भने, ‘यो जात्रालाई विश्वको जात्रा बनाउन सक्नुपर्छ ।’ जात्राको अवसरमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सबैलाई शुभकामना दिँदै जात्रा अवलोकलनका लागि निम्तो दिएका छन् । ‘आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा (जनबहाः द्यः रथ जात्रा) सुरु हुँदै छ । यस वर्ष सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना तथा रथ अवलोकनका लागि हार्दिक निमन्त्रणा छ,’ उनले भने । 

यस्तो हुनेछ रथ यात्राको रुट
१५ चैत दिउँसो ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म पुर्‍याएर साँझ ५ देखि साढे ६ बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानिएको छ । १६ चैत साँझ ५ देखि साढे ६ सम्म असन, बालकुमारी, केलटोल, इन्द्रचोक मखन हुँदै हनुमानढोकासम्म, १७ चैत दिउँसो ४ देखि साँझ साढे ६ सम्म हनुमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म, १८ चैत साँझ साढे ५ देखि साढे ६ सम्म लगनमा रहेको आमा रूख परिक्रमा गरिनेछ । १९ चैत साँझ साढे ५ देखि साढे ७ सम्म ज्याबहाल द्यः लँ, युतुननि, कोहिति, भीमसेनस्थान, मरु, यतखा, नरदेवी किलागल, भेडासिंह, केलटोल हुँदै मच्छिन्द्र्र बहालसम्म रथ जात्रा हुनेछ । रथयात्रा रुट काठमाडौं महानगरपालिका १, २८, २७, २४, २५, २३, २१, २० र १९ गरी नौवटा वडा रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने हेतुले सम्पूर्ण भक्तजनको आस्थालाई मध्यनजर गरी रथ तान्ने व्यवस्था मिलाइएको रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।