१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
पामिर गौतम काठमाडाैं
Invalid date format o७:२८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेइजिङको आक्रामक कूटनीति र चीन–अमेरिका सम्बन्ध

Read Time : > 4 मिनेट
पामिर गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२८:oo

अमेरिका र चीनबीचको प्रत्यक्ष द्विपक्षीय सम्बन्धबाहेक विश्वका अन्य भागमा चीनको हालैको कूटनीतिक अग्रसरताले अमेरिकालाई निकै असहज बनाएको छ

चिनियाँ संसद्को वार्षिक सत्रको साइडलाइनमा ६ मार्च २०२३ मा आयोजित प्यानल छलफलका क्रममा राष्ट्रपति सी जीनपिंगले अमेरिकाको नेतृत्वमा पश्चिमा देशले चीनको उदयलाई दबाउन र रोक्न अभियान चलाएको र यसले चीनको विकासमा गम्भीर चुनौती र समस्या निम्त्याएको आरोप लगाएका छन् । सामान्यतया अमेरिकाबारे आलोचनात्मक टिप्पणी गर्दा चिनियाँ शीर्ष नेताले सिधै नाम तोकेरभन्दा पनि अप्रत्यक्ष रूपमा आलोचना गर्थे । तर, त्यस्तो प्रवृत्तिलाई त्यागेर सिधै अमेरिकाको नाम लिनुले यी दुई देशबीचको सम्बन्धमा सबै कुरा ठिक र सहज नरहेको प्रस्ट हुन्छ । सीले अमेरिकामाथि आरोप लगाएको भोलिपल्टै नवनियुक्त विदेशमन्त्री छिन गंगले पनि आफ्नो पहिलो पत्रकार सम्मेलनमा अमेरिका चीनमाथि ‘नियन्त्रण र दमन’ गर्न लागेको आरोप लगाएका छन् । सोही पत्रकार सम्मेलनमा गंगले अमेरिकाले चीनविरोधी गतिविधिमा रोक नलगाए कुनै पनि सूत्रले दुई देशबीचको सम्बन्धलाई द्वन्द्व र टकरावमा जानबाट रोक्न नसक्ने चेतावनी दिएका छन् । 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धबाट चिसिएको चीन–अमेरिका सम्बन्ध, त्यसयता झनै बिग्रिँदै गएको छ । बालीमा राष्ट्रपति सी र बाइडेनको शिखर भेटपछि यी दुई देशबीचको सम्बन्धमा केही सुधार हुने अपेक्षा धेरैले गरेका थिए । तर, कथित चिनियाँ जासुस बेलुनको घटना र त्यसको राजनीतीकरणले दुई देशबीचको सम्बन्धमा थप संकट निम्त्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो आसन्न चीन भ्रमण रद्द गरे भने बेइजिङले रक्षासचिव लोयड अस्टिनसँग टेलिफोन वार्ताको प्रस्ताव अस्वीकार गर्‍यो । कूटनीतिक माध्यमबाट संकट समाधान गर्नुको साटो दुवै देश आरोप–प्रत्यारोपमा बढी व्यस्त रहे । चीनले मौसम अनुगमनमा प्रयोग गरेको बेलुनलाई अमेरिकाले अतिरञ्जित रूपमा प्रस्तुत गरेको आरोप लगायो भने एक रिपोर्टअनुसार अमेरिकी सरकारले विश्वभरका आफ्ना कूटनीतिक नियोग र प्रतिनिधिलाई यस विषयलाई लिएर सम्बन्धित देशका सरकारी अधिकारीलाई के–के भन्ने भनेर ‘टकिङ प्वाइन्टस’ नै जारी गर्‍यो ।

चीनको वर्तमान कूटनीतिले आफ्नो अन्तर्राष्ट्रिय प्रभाव पुनस्र्थापित गर्ने उसको चाहनालाई प्रतिबिम्बित गर्छ भने अमेरिका बेइजिङले विश्व मञ्चमा विश्वसनीयता जित्न सफल हुने हो कि भन्ने चिन्ताले ग्रस्त छ
 

म्युनिख सुरक्षा सम्मेलनको साइडलाइन भेटघाटमा समेत एन्टोनी ब्लिन्केन र वाङ यीले बेलुनदेखि युक्रेन संकटसम्मका मुद्दामा एकअर्कामाथि प्रहार गरे । हालको प्रवृत्ति विश्लेषण गर्दा लाग्छ, अमेरिका आफ्ना पश्चिमी सहयोगी र अन्य देशलाई चीनलाई विश्वव्यापी खतराका रूपमा हेर्न मनाउने काम गरिरहेको छ । अर्कातर्फ, चीनको कूटनीतिमा पनि उल्लेखनीय परिवर्तन भएको प्रस्ट छ । विगतको कूटनीतिक अभ्यासविपरीत चीन सार्वजनिक रूपमै अमेरिकाविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुन थालेको देखिन्छ । लाग्छ, यी दुई देश एकअर्काप्रति एक मानसिक फ्रेममा प्रवेश गरिरहेका छन्, जुन एकअर्काप्रतिको चिन्ता र आशंकाले भरिएको छ, जहाँ संयमता लगभग कमजोर हुँदै छ । हालैको बेलुन घटनालाई लिएर दुई देशबीच देखिएको मनमुटावले भविष्यमा आउन सक्ने थप जटिल संकटलाई दुई देशले कसरी सम्बोधन गर्लान् भन्ने चिन्ताको विषय बनेको छ ।

अमेरिका र चीनबीचको प्रत्यक्ष द्विपक्षीय सम्बन्धबाहेक विश्वका अन्य भागमा चीनको हालैको कूटनीतिक अग्रसरताले पनि अमेरिकालाई असहज बनाएको छ । यीमध्ये दुइटा मामिला उल्लेख गर्नलायक छन् । पहिलो, चीनको मध्यस्थतामा दुई मध्यपूर्वका क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबिया र इरानले पूर्ण कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यी दुई क्षेत्रीय हेभीवेटहरूबीचको सम्बन्ध टुटेको सात वर्षपछि यो सम्झौता भएको हो । यसको कार्यान्वयनले यस क्षेत्रको तनाव मात्र कम गर्नेछैन, सिया र सुन्नी समुदायमा विभाजित समग्र मुसलमान राष्ट्रहरूमा समेत यसको व्यापक प्रभाव पर्नेछ । ऐतिहासिक रूपमा चीन अन्य राष्ट्रबीचको द्वन्द्व र विवादमा संलग्न हुन वा अडान लिनबाट टाढा रहँदै आएको थियो । तर, मध्यपूर्वका दुई कट्टर प्रतिद्वन्द्वीलाई वार्ताको टेबुलमा सफलतापूर्वक ल्याएर चीनले आफूलाई रणनीतिक रूपमा महत्वपूर्ण र आफ्नो ऊर्जा आयातको मुख्य स्रोत रहेको यस क्षेत्रको राजनीतिमा पनि संलग्न हुन इच्छुक रहेको संकेत दिएको छ । दोस्रो विश्वयुद्धपछिको समयमा मध्यपूर्वले अमेरिकी विश्वशक्तिको अवधारणामा सधैँ प्रमुख स्थान ओगट्दै आएको थियो । विकसित घटनाक्रमले दशकौँ मध्यपूर्वको शक्ति सन्तुलनमा प्रमुख मध्यस्थको भूमिका निर्वाह गर्दै आएको अमेरिकाको एकध्रुवीय प्रभाव लोप हुँदै गएको र यस क्षेत्रमा बहुध्रुवीय प्रतिस्पर्धा बढ्दै गएको सन्देश दिएको छ । चीनले विश्वभर प्रभाव जमाउन गरिरहेको प्रयासलाई अमेरिकाले असहज रूपमा हेरिरहेको छ ।

त्यस्तै, चीनले गत महिना रुस–युक्रेन युद्ध समाधान गर्न अघि सारेको १२ बुँदे शान्ति योजना प्रस्ताव र हालैको राष्ट्रपति सीको रुस भ्रमणले अमेरिकालाई थप द्विविधामा पारेको छ । धेरै पश्चिमा विश्लेषक र नीति निर्माताले सीको रुस भ्रमण विश्वव्यापी रूपमा एक्लिएका पुटिनका लागि एउटा विद्रोहका रूपमा हेरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीको भ्रमणको आलोचना गर्दै यसलाई पुटिनका लागि ‘कूटनीतिक आवरण’ भनेका छन् । प्रेस ब्रिफिङका क्रममा ब्लिन्केनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनमा भएका अत्याचारका लागि राष्ट्रपति पुटिनलाई दोषी ठहर्‍याउँदै अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको केही दिनमै सीले रुस भ्रमण गरेर गैरजिम्मेवार हर्कत देखाएको आरोप लगाएका थिए । हुन त डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेरिकी सैन्य कारबाहीको अनुसन्धानका लागि तत्कालीन आइसिसी अभियोजकलाई प्रतिबन्ध नै लगाएको थियो ।

सीको रुस भ्रमणको क्रममा पुटिन र सीले हस्ताक्षर गरेको घोषणापत्रमा एसियामा नेटोको बढ्दो उपस्थितिबाट दुई देश चिन्तित रहेको र एकपक्षीय सैन्य लाभका लागि अमेरिकाले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा तथा विश्वव्यापी रणनीतिक स्थिरतालाई बेवास्ता गरेको आरोप लगाएका छन् । पुटिनसँगको भेटमा राष्ट्रपति सीले युद्धविरामका लागि चिनियाँ प्रस्तावमाथि छलफल गरेका थिए । आफ्ना दुई विरोधीले युक्रेन शान्ति प्रस्तावमाथि छलफल गरिरहँदा अमेरिकाले त्यस्तो प्रस्ताव आफूलाई स्वीकार्य नहुने बताएको छ । सीको प्रस्तावप्रति टिप्पणी गर्दै ब्लिन्केनले चीनले रुसलाई दिँदै आएको कूटनीतिक, राजनीतिक र केही हदसम्म भौतिक समर्थनको परिपे्रक्ष्यमा युद्ध समाप्त गर्न चीनले अघि सारेको शान्ति योजना प्रस्ताव अमेरिकाको रुचिविरुद्ध हुने बताएका छन् । रुसलाई कुनै पनि प्रकारको चिनियाँ सैन्य सहयोग चीन–अमेरिका सम्बन्धको अन्तिम बिन्दु हुने बताएको बाइडेन प्रसाशनले जति लामो समय लागे पनि युक्रेनलाई अमेरिकाले समर्थन गर्ने बताउँदै आएको छ । अमेरिका र उसका सहयोगी राष्ट्रले युक्रेनलाई हतियार आपूर्ति जारी राखेका छन् । एक विश्लेषक ह्वाइट हाउसले रुस–युक्रेन युद्ध कहाँ गइरहेको छ र यसलाई कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे रणनीतिक रूपमा नसोचेको बताउँछन् ।

अर्कातर्फ युक्रेन युद्ध र यसमा अमेरिकी भूमिकालाई लिएर अमेरिकाभित्रै असन्तुष्टि बढ्दै गएको तथ्यांकले देखाउन थालेको छ । झन्डै आधा अमेरिकीले युक्रेन–रुस द्वन्द्वमा वासिंगटनले छिट्टै शान्तिका लागि जोड दिनुपर्ने बताएका छन् । अर्कातर्फ रुस–युक्रेन युद्धविरामलाई लिएर चीनको प्रस्तावले अमेरिकालाई अप्ठेरोमा पारेको छ । रुस–युक्रेन संकटमा शान्ति स्थापना गर्न अमेरिका आफैँले केही पहल नगरेको वा गर्न नचाहेको अवस्थामा चिनियाँ प्रस्तावलाई सिधै खारेज गर्दा युद्धबाट थकित अन्य राष्ट्रमा अमेरिका आफ्नो संकीर्ण स्वार्थबाट प्रेरित रहेको र शान्तिप्रति उसलाई कुनै चासो नभएको सन्देश प्रवाह हुन सक्ने चिन्ता अमेरिकामा व्याप्त छ । फरेन पोलिसीमा एक स्तम्भकार युक्रेनमाथिको रुसी हमला सानो राष्ट्रमाथि ठूलो छिमेकले गरेको आतंक र आक्रमणको ज्वलन्त उदाहरण भए पनि विश्व समुदाय रुसी कदमको निन्दा गर्न असफल रहेको बरु त्यसलाई स्वीकार गरेर अघि बढेको यथार्थलाई अमेरिका र उसका सहयोगीले अझै स्वीकार गर्न नसकेको बताउँछन् । निःसन्देह धेरै राष्ट्र अमेरिका र उसका सहयोगीले निश्चित भूराजनीतिक एजेन्डा पूरा गर्न युक्रेन संकटलाई प्रयोग गरिरहेको विश्वास गर्छन् ।

चीन–अमेरिका सम्बन्ध एक्काइसौँ शताब्दीको सबैभन्दा महत्वपूर्ण सम्बन्ध हो, जसले संसारलाई शान्ति वा द्वन्द्वमध्ये केले चित्रण गर्ने हो भनेर परिभाषित गर्नेछ । तर, यी दुईको द्विपक्षीय सम्बन्धमा हालै देखिएको नकारात्मक विकासले यी दुई देश तीव्र गतिरोधमा संलग्न रहेको र यसमा कुनै पनि पक्ष पहिले पछि हट्न तयार नरहेको संकेत गरिरहेको छ । चीनको वर्तमान कूटनीतिले आफ्नो अन्तर्राष्ट्रिय प्रभाव पुनस्र्थापित गर्ने उसको चाहनालाई प्रतिबिम्बित गर्छ भने अमेरिका बेइजिङले विश्वमञ्चमा विश्वसनीयता जित्न सफल हुने हो कि भन्ने चिन्ताले ग्रस्त छ । चीनले अमेरिकासँगको सम्बन्धलाई आफ्नो महाशक्ति प्रतिद्वन्द्वीको सन्दर्भमा ‘फ्रेम’ गर्छ, जहाँ चीनको विदेश नीतिको सबैभन्दा आधारभूत उद्देश्य अमेरिकी टकरावविरुद्धमा चीनको हितको रक्षा गर्न केन्द्रित रहनेछ । हामी अमेरिका–चीन सम्बन्धमा एउटा खतरनाक मोड र अवधिमा प्रवेश गर्दै छौँ ।