मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गगन अयडी बाजुरा
२०७९ चैत ८ बुधबार ०५:५८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुपोषणले पाँचमहिने बालकको अस्पतालमै मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ चैत ८ बुधबार ०५:५८:००

बाजुरामा ८.६% बालबालिकामा ख्याउटेपना, ३०.६ % को कम तौल र ४८.८% मा पुड्कोपना, १२ प्रतिशत मात्रै स्वस्थ

बाजुरामा कुपोषित पाँचमहिने बालकको अस्पतालमै मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका– ६ की रमिता नेपालीका छोरा जनमको जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । 

पखाला लाग्ने र ज्वरो आउने समस्या भएपछि एक साताअघि अस्पतालको पोषणा पुनर्स्थापना केन्द्रमा ल्याइएका बच्चाको मंगलबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी नृप गिरीले बताए । अस्पतालकी पोषण कार्यक्रम संयोजक निर्मला सुनारका अनुसार दुई महिनाअघि पनि दुई साता उपचार गरेर डिस्चार्ज गरिएको थियो । 

‘आमाको सानै उमेरमा विवाह भएको रहेछ । पर्याप्त पोषणयुक्त खानेकुराको अभावमा उनको कमजोर शारीरिक अवस्था र बच्चालाई चुसाउन पर्याप्त दूध पनि नआएका कारण कुपोषण भएको देखिन्छ,’ संयोजक सुनारले भनिन्, ‘पोषणयुक्त खानेकुराको अभावमा कुपोषित भएको बच्चाको उपचारकै क्रममा ज्यान गएको छ ।’

आमा रमिताले आफ्नो दूध पनि नआएको र घरको कमजोर आर्थिक अवस्थाका कारण बच्चालाई अन्य पोषणयुक्त खानेकुरा दिन नसकेको बताइन् । ‘मेरो दूध नआए पनि सुरुको एक महिना घरमै गाईको दूध खुवाइयो । तर, पछि गाईले दूध दिन छाड्यो । अर्को गाई किन्न पैसा भएन,’ उनले भनिन्, ‘आर्थिक कमजोरीका कारण दूधलगायत पोषणयुक्त खानेकुरा खुवाउन सकिएन ।’ १९ वर्षको उमेरमा विवाह गरेकी उनी अहिले २१ वर्षकी भइन् । जनम उनको पहिलो सन्तान हो । 

बाजुरामा कुपोषणको अवस्था भयावह छ । जिल्ला जनस्वास्थ्य अधिकृत महेश चन्दका अनुसार जिल्लाभर ८.६% बालबालिकामा ख्याउटेपना, ३०.६% को कम तौल र ४८.८ % मा पुड्कोपनाको समस्या छ । १२% मात्रै बच्चा स्वस्थ रहेको उनले बताए । जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकका आधारमा यस्तो रिपोर्ट निस्किएको चन्दको भनाइ छ ।