मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दृष्टिकोण प्रिन्ट संस्करण

पूर्वाधार अभाव : क्रिकेट विकासको चुनौती

हामीसँग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन । मैदान मात्र होइन, पेभिलियन र दर्शकदीर्घासमेत छैन ।

Read Time : > 4 मिनेट
चतुरबहादुर चन्द
२०७९ चैत ८ बुधबार ०६:३७:००

पछिल्लो समय नेपाली क्रिकेट आफ्नो लयमा फर्किएको छ । आइसिसी डिभिजन–२ का १२ खेल खेल्न बाँकी रहँदा सीधै विश्वकप ग्लोबल छनोट खेल्न पाउनु त कता हो कता, हाम्रो एकदिवसीय मान्यता कायम रहन्छ या रहन्न भन्नेमै अन्योल थियो । तर, यसबीच नयाँ प्रशिक्षक आएका छन् । हाम्रा युवा खेलाडीले कडा मिहिनेत गरेका छन् । जसका कारण हामी सबैले सुखद नतिजा पाएका छौँ ।

नेपाली क्रिकेटले आगामी दिनमा पनि यही लय समात्यो भने निश्चित रूपमा हामी थप एक स्तर माथि पुग्न सक्छौँ भन्ने हामीमा आत्मविश्वास छ । नयाँ प्रशिक्षक मोन्टी देसाईं आएपछि हाम्रो टोलीको स्तर र हरेक खेलाडीको व्यक्तिगत क्षमता बढेको छ । क्षमता देखेर नै प्रशिक्षकले खेलाडीलाई भूमिका दिएका छन् । त्यसमा खेलाडी र प्रशिक्षक दुवै सफल पनि भएका छन् । उनको रणनीतिले काम गरेको छ । खेलाडीमा एकदिवसीय मान्यता जोगाउनैपर्ने चुनौती थियो । यही चुनौतीले गर्दा नै टोलीमा एकता भयो । त्यो एकताले नतिजा दिएको छ । प्रशिक्षक मोन्टीले सबै खेलाडीलाई उनीहरूको क्षमताअनुसार प्रयोग गरे । परिणाम सबैसामु छ ।

भौतिक पूर्वाधारको अभाव :  हामीसित नियमित अभ्यास गर्न केही मैदान छन् । अभ्यासका लागि पिचहरू पनि छन् । तर, पूर्वाधार खेलाडीले अभ्यास गर्नका लागि मात्रै चाहिने होइन । हामीसँग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन । मैदान मात्र होइन, पेभिलियन र दर्शकदीर्घासमेत हामीसँग छैन । यो सबैले बुझेकै विषय हो । यसतर्फ सबैको ध्यान पनि गएको छ । सबैमा चिन्ता पनि छ । सरकार र राजनीतिक दलहरूले पनि त्यसबारे चासो देखाएका छन् । हामीकहाँजस्तो क्रिकेट खेलप्रति दर्शकको क्रेज सायद अन्त कतै छैन ।

नेपाली दर्शकमा क्रिकेटप्रति अनौठो लगाव छ । उनीहरू आशावादी पनि छन् । उनीहरू क्रिकेटलाई अत्यन्त सम्मान गर्छन् । यसलाई बचाइराख्नकै लागि पनि यतिखेर हामीलाई बलियो भौतिक पूर्वाधारको गम्भीर खाँचो छ । हामीले अहिले उपलब्ध खेलमैदानलाई नै थप व्यवस्थित गर्न सक्यौँ भने प्रतियोगिताहरूमा दर्शकको उपस्थिति झनै बढ्ने निश्चित छ । प्रधानमन्त्री स्वयं यस भौतिक पूर्वाधार अभावका विषयमा चिन्तित हुनुहुन्छ । उहाँले घोषणा पनि गर्नुभएको छ । अब, कार्यान्वयनको पाटो बाँकी छ । क्रिकेट मैदानका लागि बजेट छुट्याएर ठेकेदारले सम्झौता गरी काम सुरु गरे पनि कछुवा गतिमा काम हुँदा मूलपानी क्रिकेट मैदानको हविगत कस्तो छ, सबै जानकार हुनुहुन्छ । 

हामीकहाँ मूलपानी क्रिकेट मैदान सुरु हुँदाकै आसपासको समयमा संसारभर पचासौँ मैदान निर्माण सुरु गरिएको थियो । ती मैदान निर्माण सम्पन्न भई अहिले त्यहाँ क्रिकेट खेल्न थालिसकिएको छ । अहिले संसारमा एक सय सात राष्ट्रलाई आइसिसीले मान्यता दिएको भए पनि एक सय पाँच राष्ट्रले क्रिकेट खेल्छन् । केही राष्ट्रलाई अपवादका रूपमा छाड्ने हो भने हरेक राष्ट्रमा नेपालभन्दा राम्रो सेवासुविधा छ । तर, त्यहाँ क्रिकेटको विकास थोरै छ, समर्थक थोरै छन्, माहोल थोरै नै छ ।

भारतको बिसिसिआई र अन्य केही राष्ट्रका क्रिकेट संघलाई छाड्ने हो भने सबैतिर सरकारले नै सुविधासम्पन्न भौतिक पूर्वाधार बनाएर क्रिकेट संघहरूलाई जिम्मा लगाएका छन् । हाम्रो जस्तो देशमा क्रिकेट संघ आफैँले पूर्वाधार निर्माण गर्न सक्दैन भन्ने तथ्यलाई सरकार, समर्थक र मिडियाले गम्भीरतापूर्वक लिनुपर्छ । 

हामी आगामी दिनमा टेस्ट खेलिरहेका राष्ट्रसँग खेल्दै छौँ । हामीले पनि टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिन्छन् । त्यो नभए आइसिसीले टेस्ट राष्ट्रको मान्यता नै दिँदैन ।
 

पूर्वाधार विकासका लागि हामीसँग स्पष्ट खाका हुनुपर्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले धेरै मैदान ‘होल्ड’ गरेको छ । पोखराको मैदान व्यवस्थापनको जिम्मा गण्डकी प्रदेश सरकारलाई दिनुपर्छ । मैदान आफूमातहत आए गण्डकी सरकार लगानी गर्न पनि तयार छ । राखेपले न त्यहाँ तीव्र गतिमा काम गरेको छ, न त उसले प्रदेश सरकार र महानगरपालिकालाई नै जिम्मा दिएको छ । विराटनगर, महेन्द्रनगर, कोहलपुर, भैरहवालगायत धेरै स्थानमा राखेपमातहत थुप्रै मैदान छन् । न त्यहाँका लागि देखिने गरी बजेट छ, न त देखिने गरी कुनै काम नै भएको छ । त्यसैले, यस्ता मैदान केन्द्रीय सरकारले प्रदेश सरकारलाई जिम्मा दिँदा राम्रो हुन्छ । 

अन्तर्राष्ट्रियस्तरका मैदानको खाँचो :  हामी आगामी दिनमा टेस्ट खेलिरहेका राष्ट्रसँग खेल्दै छौँ । हामीले पनि टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिन्छन् । त्यो नभए आइसिसीले टेस्ट राष्ट्रको मान्यता नै दिँदैन । त्यसैले, सरकारले तत्काल गतिला दुइटा मैदान बनाउन ध्यान दिनुपर्छ । त्रिविस्थित अहिलेकै मैदानलाई अझै सुविधासम्पन्न बनाउन सकिन्छ । त्यहाँ प्यारापिट बनाउन र फ्लड लाइट राख्न सकिन्छ । मूलपानीको मैदानलाई पनि व्यवस्थित गराउन सकिन्छ ।

काठमाडौंमा मात्र दुई सुविधासम्पन्न रंगशाला भए भने हामी टेस्ट राष्ट्रलाई यहाँ निम्त्याएर खेलाउन सक्छौँ । भरपर्दो सुरक्षा व्यवस्था, बलियो खेल पूर्वाधार र अन्य सुविधा राम्रो भए ठूला राष्ट्र पनि समय मिलाएर हामीसित खेल्न आउन सक्छन् । उनीहरूको ‘ब्रेक’को समयमा लामो शृंखला नभए पनि सानो शृंखला खेल्न सकिन्छ । तर, पूर्वाधार नै नभएपछि यसलाई आँट्ने कुरै आउँदैन ।

कीर्तिपुरस्थित मैदान त्रिभुवन विश्वविद्यालयको हो । हामीले २५ वर्षका लागि भोगचलनमा लिएका हौँ । अझै पाँच वर्ष बाँकी छ । बलियो पूर्वाधार बनाउन त्रिविले सहमति पनि दिएको छ । त्यसैले, त्यहाँ लगानी गर्दा फरक पर्दैन । त्रिवि पनि सरकारअन्तर्गतकै निकाय हो । यहाँ सरकारले लगानी गर्न कुनै समस्या छैन । हुन त निजी क्षेत्रले पनि त्यहाँ प्यारापिट बनाउने चासो देखाएका छन् । कसैले ५० करोड खर्च गर्छ भने उसले त्यसको ‘रिटर्न’ त खोज्छ नै । त्यसैले, निजी क्षेत्रलाई ल्याउनुभन्दा सरकारले नै लगानी गर्नु राम्रो हुन्छ । 

खेलाडीको वृत्ति विकास : राष्ट्रको खेलकुद विकासका लागि खेलाडीको वृत्ति विकास महत्वपूर्ण हुने गर्छ । यसका लागि हामीले केही सुरुवात गरेका छौँ । यो पर्याप्त त छैन । बढीभन्दा बढी खेल खेलाएर, म्याच फीबाट हामी खेलाडीको वृत्ति विकास गराउँदै आएका छौँ । खेलाडीलाई बाहिर खेलाउने प्रयास पनि गरेका छौँ । हाम्रा खेलाडीको स्तर बढाउन उनीहरूलाई विदेशी लिग खेलाउन सक्नुपर्छ । हामी त्यसमा पनि लागेका छौँ । स्तरीय खेलाडीलाई विदेशी फ्रेन्चाइज टोलीले पनि माग गर्छन् । हामीले पनि सहयोग गर्दै आएका छौँ । अहिले जसरी खेलाडीले राम्रो प्रदर्शन गरेका छन्, त्यहीअनुसार नै ‘लबिङ’ गरेर खेलाडीलाई लिगमा समावेश गराउन अन्य बोर्डलाई अनुरोध गर्छाैं । 

नेपाली क्रिकेटको विवाद : नेपालमा क्रिकेट सुरु भएको ७० वर्ष भयो । तर, अहिलेसम्म सुविधासम्पन्न रंगशाला एउटा पनि छैन । नेपाली क्रिकेटको संस्था कहिल्यै व्यवस्थित रूपमा चलेन । यसको पहिलो निर्वाचन नै ०६८ सालमा भएको हो । त्यसअघि तदर्थ समितिका कारण प्रभावकारी भएन । पछिल्लो चुनावपछि पनि विभिन्न विवादका कारण क्रिकेट संघमाथि बादल मडारिइरह्यो । सरकारले पटक–पटक समानान्तर कमिटी गठन गर्‍यो । त्यसले गर्दा संघ आइसिसीको निलम्बनमा पर्‍यो । निलम्बनपछिका चार वर्ष क्रिकेट गतिविधि लगभग ठप्प नै भयो ।

घरेलु प्रतियोगिता आयोजना भएनन् । १८–२० खेलाडीबाट नेपाली क्रिकेटमाथि पुग्न सम्भव थिएन । बीचमा धेरै ग्याप रह्यो । तीन वर्षपछि आएर अहिले राम्रो हुँदै गएको छ । यही गति कायम रह्यो, सरकारले हस्तक्षेप गरेन र भएन भने आगामी चार वर्षभित्र यदि आइसिसीले हामीलाई टेस्ट मान्यता दिन सक्छ । आइसिसीले सन् २०१७ मा दुई देशलाई टेस्ट मान्यता दियो । अफगानिस्तान र आयरल्यान्डले मान्यता पाउँदा नेपालको समेत पालो थियो । तर, त्यतिवेला पुरस्कार पाउनुको सट्टा नेपाली क्रिकेट निलम्बनमा पर्‍यो । 

नेपाल पनि टेस्ट मान्यता पाउने अवस्थामा छ । अहिले नेपाल र स्कटल्यान्ड प्रमुख दाबेदार हुन् । आइसिसीका पदाधिकारीले पनि यसबारे छलफल गरेका छन् । तर, त्यसका लागि पूर्वाधार नभई हुँदैन । पूर्वाधार राम्रो भएमा हामीले टेस्ट मान्यता पाउन कठिन छैन । 

हस्तक्षेपमुक्त क्यानको खाँचो :  क्यान विवादमा हुँदा पनि विकास नै नभएको भने होइन । अहिले पनि क्यानलाई निलम्बन गर्नेसम्मका हल्ला सुनिए । यस्तो विवाद आएपछि क्रिकेटलाई एक स्तर बढाउने, पूर्वाधार बनाउने काममा लाग्नु साटो प्रतिरक्षामै क्यान पदाधिकारीको दिनचर्या बित्न थाल्यो भने क्रिकेटको विकास कसरी होला ? हामी आन्तरिक विवादमै अल्झिरह्यौँ भने आइसिसीले हामीलाई हेर्ने दृष्टिकोणमै फरक पर्छ । त्यसैले, क्यानमाथि कुनै हालतमा पनि सरकारी र राजनीतिक हस्तक्षेप हुनुहुँदैन । अहिलेको कमिटीलाई आइसिसी आफैँले निर्वाचन गराएर चार वर्षलाई जिम्मेवारी दिएको हो । फेरि चार वर्ष पूरा भएपछि निर्वाचन गर्न उसले हामीलाई म्यान्डेट दिएको छ । राखेप पनि यसको साक्षी छ । ऊ पनि निर्वाचन प्रक्रियाको पर्यवेक्षक थियो । 

अन्त्यमा, अहिले नेपाली क्रिकेटले राम्रो गरेको छ । यसलाई योभन्दा माथि पुर्‍याउनुपर्छ । पूर्वाधार बलियो बनाउन, मैदान बनाउन, फ्लड लाइट जडान गरेर डे–नाइट खेल सञ्चालन गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । प्रत्येक प्रदेशमा एक–दुई क्रिकेट मैदान बनाउन र काठमाडौंमा दुई–तीनवटा अन्तर्राष्ट्रियस्तरका मैदान बनाउन केन्द्रित हुनुपर्ने ध्यान क्रिकेट संघमा आफ्ना मान्छे हुनुपर्छ भनेर विवाद गर्नमा केन्द्रित हुन थाल्यो भने कसरी होला नेपाली क्रिकेटको विकास ? विगतमा जस्तै यस्तो अवस्था पुनः दोहोरियो भने नेपाली क्रिकेट अझै ओरालो लाग्ने निश्चित छ । 

नेपाली खेलाडीको प्रदर्शनले विश्वसामु नेपाली क्रिकेटले फड्को मारेको छ । क्रिकेटले फेरि एकपटक नेपाललाई विश्वसामु चिनाएको छ । यसलाई अझै माथि पुर्‍याउन पूर्वाधार र खेलाडीको वृत्ति विकास अति जरुरी छ । 
(चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष हुन्)