Skip This
अलपत्र श्रमिकको उद्धारमा सरकारको पहल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Saturday, 27 July, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

अलपत्र श्रमिकको उद्धारमा सरकारको पहल

Read Time : > 2 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार o६:२५:oo

प्रतिव्यक्ति तीन लाख ९५ हजार उठाएर युवालाई मलेसियामा अलपत्र पार्ने भण्डारी ओभरसिजलाई नै स्वदेश फिर्ता ल्याउन लगाउने र उद्धार गरिसकेपछि क्षतिपूर्ति असुल गराउने सरकारको तयारी, म्यानपावर कम्पनीसँग आज छलफल हुँदै

मलेसियामा अलपत्र ५६ नेपाली श्रमिकको उद्धारका लागि सरकारले पहल थालेको छ । प्रधानमन्त्री कार्यालयले मलेसियास्थित नेपाली दूतावास, वैदेशिक रोजगार विभाग र सम्बन्धित म्यानपावर कम्पनीसँग सम्पर्क गरेर उद्धारको पहल थालेको हो । 

‘मलेसियामा नेपाली श्रमिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएको छ । मन्त्रालयका सचिवले पनि चासो राख्नुभएको छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले भने, ‘यो विषय बुझिरहेका छौँ । आइतबार सम्बन्धित म्यानपावरलाई बोलाएर छलफल गर्छौँ ।’

‘एक लाख तलबको आश्वासनमा मलेसिया पठाएका ५६ नेपाली अढाई महिनादेखि अलपत्र’ शीर्षकमा शनिबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । सप्तरीका ४३ र रौतहटका १३ श्रमिकलाई विमानस्थलको कार्गोमा मासिक एक लाख तलब पाउने गरी काम लगाइदिने भन्दै काठमाडौंको भण्डारी ओभरसिजले मलेसिया पठाएको थियो । उनीहरूलाई पठाउने उक्त म्यानपावरका प्रोपाइटर मलेसिया पुगेकाले उनका साझेदार प्रतिनिधिसँग आइतबार वैदेशिक रोजगार विभागमा बैठक बस्ने तय भएको छ । 

‘अलपत्र परेकालाई उद्धार गर्नु सबैभन्दा पहिलो काम हो । अलपत्र परेकालाई कम्पनीले टिकट काटेर नेपाल झिकाउनुपर्छ,’ महानिर्देशक आचार्यले भने, ‘उद्धार गरिसकेपछि क्षतिपूर्तिलगायत विषय अगाडि बढ्छन् । कानुनअनुसार म्यानपावरलाई कारबाही हुन्छ । सबै प्रक्रिया भोलि (आइतबार)बाटै सुरु हुन्छ ।’ 

म्यानपावरको ठगीले मलेसियामा अलपत्र परेका नेपाली श्रमिक

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार म्यानपावर कम्पनी अलपत्र कामदारलाई फर्काउन तयार देखिएको छ । प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टले प्रारम्भिक कुराकानीमा म्यानपावर कम्पनीले अलपत्र श्रमिक फर्काउन तयार रहेको जनाएका छन् । ‘यस विषयका अन्य प्रक्रियाबारे आइतबारको बैठकमा थप छलफल गरी टुंगोमा पुगिनेछ । आशा गरौँ, तत्काल नै हामी श्रमिकहरूको समस्या समाधान गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउन सफल हुनेछौँ,’ भट्टले फेसबुकमार्फत जानकारी दिएका छन् ।

अलपत्र श्रमिकको तत्काल उद्धार गर्न सरकारलाई मधेसी आयोगको ध्यानाकर्षण
मधेसी आयोगले मलेसियामा अलपत्र नेपाली श्रीमकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह रेको छ । आयोग अध्यक्ष डा. विजयकुमार दत्तले समाचार पढेर घटनाबारे थाहा पाएपछि उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको बताए । 

‘मलेसियामा अलपत्र नेपाली श्रमिकको उद्धार गर्न हामीले सरकारको ध्यानाकर्षण गराइसकेका छौं । समाचार पढेर थाहा पाएपछि उनीहरूको तत्काल उद्धार गर्न टेलिफोनमार्फत् आग्रह गरेको हुँ,’ अध्यक्ष दत्तले भने, ‘औपचारिक विज्ञप्ती आइतबार जारी गर्छौं ।’ 

मलेसियाको कम्पनीले अलपत्र श्रमिकलाई बोलायो छलफलमा
मलेसियाको सम्बन्धित कम्पनी एडिकेले पनि अलपत्र कामदारलाई छलफलमा बोलाएको छ । कम्पनीका कर्मचारीले फोन गरेर छलफलमा बोलाएको अलपत्र श्रमिक सप्तरी राजगढ गाउँपालिका– ३ का उमेश मण्डलले जानकारी दिए ।

एडिके कम्पनीले मासिक एक लाख तलब दिनेगरी विमानस्थलको कार्गोमा काम लगाइदिने भन्दै काठमाडौंको भण्डारी ओभरसिजले प्रतिव्यक्ति चार लाख उठाएर मण्डलसहित ५६ युवालाई पठाएको थियो । तर, काम दिनु त परको कुरा, गएको एक हप्तामै खान–बस्न नदिई कम्पनीबाट निकालिदिएपछि उनीहरू अलपत्र छन् । अहिले भण्डारी ओभर्सिजका प्रवन्ध निर्देशक माधव भण्डारी पनि मलेसियामै छन् । समाचार आएपछि भण्डारीकै सक्रियतामा कम्पनीले छलफलमा बोलाएको हुनसक्ने मण्डलले बताए । 

‘एडिके कम्पनीको कर्मचारीले फोन गरेर भोलि (आइतबार) बिहान ११ बजे छलफलमा बोलाएको छ । सबै ५६ जनालाई फोन गरेर बोलाएको हो,’ उनले भने, ‘उक्त छलफलमा भण्डारी ओभरसिजका प्रवन्ध निर्देशक माधव भण्डारी र मेलेसियास्थित नेपाली दूतावासको प्रतिनिधि पनि रहने जानकारी पाएको छु ।’

प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएको छ, आइतबार म्यानपावरलाई बोलाएर छलफल गर्छौँ : उमाकान्त आचार्य, महानिर्देशक, वैदेशिक रोजगार विभाग
मलेसियामा नेपाली श्रमिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएको छ । मन्त्रालयका सचिवले पनि चासो राख्नुभएको छ । यो विषय बुझिरहेका छौँ । आइतबार सम्बन्धित म्यानपावरलाई बोलाएर छलफल गर्छौँ । अलपत्र परेकालाई उद्धार गर्नु सबैभन्दा पहिलो काम हो । अलपत्र परेकालाई कम्पनीले टिकट काटेर नेपाल झिकाउनुपर्छ । उद्धार गरिसकेपछि क्षतिपूर्तिलगायत विषय अगाडि बढ्छन् । कानुनअनुसार म्यानपावरलाई कारबाही हुन्छ । सबै प्रक्रिया भोलि (आइतबार)बाटै सुरु हुन्छ ।