Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सौरभ यादव राजविराज
२०७९ चैत ४ शनिबार ०६:२७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक लाख तलबको आश्वासनमा मलेसिया पठाएका ५६ नेपाली अढाई महिनादेखि अलपत्र

Read Time : > 4 मिनेट
सौरभ यादव, राजविराज
२०७९ चैत ४ शनिबार ०६:२७:००

भण्डारी ओभरसिजले प्रतिव्यक्ति चार लाख उठाएर मलेसिया पठाएका सप्तरी र रौतहटका ५६ युवा अलपत्र, सरकारसँग उद्धारको गुहार

विमानस्थलको कार्गाेमा मासिक एक लाख तलब पाउने गरी काम लगाइदिने भन्दै काठमाडौंको भण्डारी ओभरसिजले मलेसिया पठाएका ५६ नेपाली साढे दुई महिनादेखि अलपत्र छन् । उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । 

अलपत्र परेकामा सप्तरीका ४३ र रौतहटका १३ जना छन् । उनीहरूले सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका एजेन्ट रामचन्द्र साह, सप्तरीकै राजगढ गाउँपालिकाका शत्रुधन मण्डल र रौतहटका परमानन्द पण्डितमार्फत भण्डारी ओभरसिजलाई प्रतिव्यक्ति तीन लाख ९५ हजारका दरले पैसा बुझाएका थिए । ओभरसिजले उनीहरूलाई गत २२ पुसमा मलेसिया उडाएको थियो । 

अलपत्र परेका सप्तरीको राजगढ गाउँपालिका– ३  का २९ वर्षीय उमेश मण्डलका अनुसार म्यानपावरले मलेसियाको एडिके कम्पनीमार्फत विमानस्थलको कार्गोमा काम लगाइदिने भनेर पठाएको थियो । तर, त्यहाँ कार्गाेमा काम दिइएन । बरु नाला सरसफाइ गर्न भनियो । अहिले आफूहरू मलेसियाको सलेङ्गर बन्द्रावारू इन्सटेक सहरमा रहेको मण्डलले बताए । 

तोकेको काम नपाएको हो भने म्यानपावर कम्पनीले क्षतिपूर्ति दिनुपर्छ : राजन पौडेल सूचना अधिकारी, वैदेशिक रोजगार बोर्ड

श्रम स्वीकृति लिएर गएको, तर तोकेको काम नपाएको हो भने सम्बन्धित म्यानपावर कम्पनीले क्षतिपूर्ति दिनुपर्छ । फिर्ता ल्याउनुपरेमा पनि कम्पनीको दायित्व रहन्छ । यसका लागि वैदेशिक रोजगार विभागका महानिर्देशकको नेतृत्वमा रेस्पोन्स टिम छ, म्यानपावरलाई बोलाएर आवश्यक निर्देशन र कारबाही गर्न सकिन्छ । अरू कारणले अलपत्र परेका हुन् भने बोर्डले उद्धार गर्छ । 

मण्डलका अनुसार मलेसियाको कम्पनीले पहिलो एक हप्ता खान–बस्न दिएको थियो । त्यसपछि बस्न दिएको ठाउँबाट पनि निकालिदियो । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ,’ उनले भने, ‘केही दिन साथीहरूसँग भएको मोबाइल, सुन बेचेर खायौँ, पछिल्लो समय नजिकैको पसलबाट उधारो खाइरहेका छौँ,’ मण्डलले भने, ‘यसरी यहाँ धेरै दिन बाँच्न सकिने अवस्था छैन । कसरी हुन्छ, हाम्रो उद्धारका लागि पहल गरिदिनुपर्‍यो ।’ 

रौतहटको चन्द्रनिगाहपुर– १४ सखुवादमौरा घर भएका रोशन पासवानका अनुसार मलेसियाको कम्पनीले बस्न दिएको कोठामा बेड–पंखा केही थिएन, गर्मीले बस्नै नसकिने अवस्था थियो । ‘त्यहीँबाट पनि निकालियो । अहिले झापा र राजविराजका नेपाली कामदार बस्ने कोठामा भुँइमा कार्पेट ओछ्याएर बसिरहेका छौँ । ५६ जना अलग–अलग तीनवटा रुममा छौँ,’ उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘आश्रय दिएका साथीहरूकै रोहवरमा छेवैको बंगाली पसलबाट उधारो खाइरहेका छौँ । त्यसले पनि कति दिन उधारो देला र ! एकजनाको पाँच सय (मलेसियन रिंगेट) उधारो पुगिसकेको छ ।’

अर्का पीडित धर्मदेव यादवले राम्रो रोजगारी दिने आश्वासनमा आफूहरूलाई अलपत्र पारिएको बताए । ‘विमानस्थलमा राम्रो जागिर हुन्छ, महिनाको एक लाख तलब हुन्छ भनेर कम्पनीले पठाएको हो । तर, यहाँ अलपत्र परिएको छ । कसरी हुन्छ यहाँबाट निस्किन पाए हुन्थ्यो, उद्धार गरिदिनुपर्‍यो,’ उनले भने, ‘घरमा बुबा, आमा, श्रीमती, दुई छोराछोरी छन् । ऐलानी जग्गामा एक सानो छाप्रो छ । घरमा कमाउने म मात्र हुँ । मलाई केही भयो भने परिवारको रेखदेख कसले गरिदेला ?’

छिमेकीसँग चार लाख ऋण गरेको रकम म्यानपावर कम्पनीलाई बुझाएर मलेसिया आएको मण्डलले बताए । ‘तीन वर्षअघि बुबा बित्नुभयो । उहाँ बिरामी हुँदा पैसा नभएर राम्रो उपचार गर्न सकिएन । उहाँको निधन भएपछि घरमा कमाउने कोही भएन । घर पनि ऐलानी जग्गामा छ । छिमेकी दाइ भरत मण्डलसँग चार लाख रुपैयाँ कर्जा लिएर मलेसिया आएको हुँ,’ उनले भने, ‘तीन लाख ९५ हजार एजेन्टमार्फत म्यानपावर कम्पनीलाई दिएको हुँ । पाँच हजार काठमाडौं पुग्न लाग्यो । अहिले मलेसियामा अलपत्र छु ।’ 

म्यानपावर कम्पनीले विमानस्थलको कार्गोमा काम गर्ने र महिनाको एक लाख रुपैयाँ तलब पाइने बताएको थियो । तर, मलेसियाको एडिके कम्पनीले भने कार्गाेमा काम दिने भनेर सहमतिपत्र नदिएको बताएको त्यहाँ पुगेका सप्तरीका सञ्जयकुमार खंगले बताए । ‘हामीलाई विमानस्थलको कार्गाेमा काम पाइन्छ भनिएको थियो । तर, यहाँको कम्पनीले त्यस्तो सहमतिपत्र नदिएको र कार्गोमा काम पनि नपाइने बताएपछि हामीहरू छाँगाबाट खसेजस्तै भयौँ,’ उनले भने । 

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले श्रम स्वीकृति लिएर गएका, तर तोकेको काम नपाएको हो भने सम्बन्धित म्यानपावर कम्पनीले क्षतिपूर्ति दिनुपर्ने बताए । ‘फिर्ता ल्याउनुपरे पनि कम्पनीको दायित्व रहन्छ । यसका लागि वैदेशिक रोजगार विभागका महानिर्देशकको नेतृत्वमा रेस्पोन्स टिम छ, म्यानपावरलाई बोलाएर आवश्यक निर्देशन र कारबाही गर्न सकिन्छ । अरू कारणले अलपत्र परेका हुन् भने बोर्डले उद्धार गर्छ,’ उनले भने । 

काठमाडौंस्थित भण्डारी ओभरसिज म्यानपावर कम्पनीका प्रतिनिधिले भने मलेसिया पुगेका कामदारलाई उपयुक्त काम लगाउनेबारे छलफल भइरहेको बताए । त्यसका लागि कम्पनीका प्रबन्ध–निर्देशक माधव भण्डारी आफैँ मलेसिया पुगेको उनको भनाइ छ । ‘भण्डारी सर आफैँ मलेसिया पुगेर उहाँहरूसँग छलफल गरिरहनुभएको छ,’ भण्डारी ओभरसिजका कर्मचारी मुकेश यादवले भने । कुन कामका लागि श्रम स्वीकृत लिइएको थियो भन्नेचाहिँ उनले खुलाएनन् । कम्पनीले नै कामदारलाई खाने–बस्ने सुविधा दिए पनि निहुँ खोजेको उनको आरोप छ । ‘५–६ सय कामदार छन् । यहाँबाट गएका ५६ जनालाई अर्काे होस्टेलमा सारेपछि निहुँ खोजेका हुन् । जहाँ कम्पनीले राख्यो त्यहाँ बस्नुपर्‍यो नि,’ उनले भने । सप्तरीका एजेन्टहरू रामचन्द्र साह र शत्रुधन मण्डल भने सम्पर्कमा आउन चाहेनन् । 

सयकडा तीनका दरले ऋण लिएर म्यानपावरलाई बुझाएँ, अलपत्र पारेपछि एजेन्ट जिम्मा लिन्न भन्छ : रोशन पासवान (२७), रौतहट चन्द्रनिगाहपुर– १४ सखुवादमौरा

गाउँमा घर बनाउने मिस्त्रीको काम गर्थेँ । तर, घरको खर्च धान्न धौधौ भएपछि रौतहट नै घर भएका म्यानपावर एजेन्ट परमानन्द पण्डितसँग विदेश जाने सल्लाह गरेँ । उनले मलेसियामा एयरपोर्टको कार्गाेमा लगेज लोड–अनलोड गर्ने काम छ, जाने भए तयारी गर भने । त्यसपछि ऋण खोज्न थालेँ । 

पाँच कट्ठा खेतको लालपुर्जा साहुलाई दिएर चार लाख रुपैयाँ ऋण लिएँ । तीन लाख ९५ हजार पण्डितमार्फत म्यानपावरलाई बुझाएँ, बाँकी पैसा यहाँ आउँदासम्म खर्च भयो । महिनाको सयकडा तीन रुपैयाँका दरले ऋण लिएको हुँ । यहाँ आएर अलपत्र परिएको छ, सात महिनासम्म एक रुपैयाँ पनि ब्याज तिर्न सकेको छैन । मलेसिया आएको तीन महिना भयो । काम पाएको छैन । हामीलाई पठाउँदा एयरपोर्टको कार्गाेमा लगेज लोड–अनलोडको काम हो भनिएको थियो । तर, यहाँको एडिके कम्पनीको बोसले एयरपोर्टमा काम छैन, अरू कम्पनीमा लगाइदिन्छु भन्यो । नाला सफा गर्नुपर्ने काम पनि भन्यो । तर, हामीले मानेनौँ । अहिले हामीलाई मलेसिया पठाउने म्यानपावरका भण्डारी आफैँ पनि आउनुभएको छ । बोस र भण्डारीसँग कुराकानी भएको छ । भण्डारीले पाँच–सात दिनमा काम लगाइदिने त भन्नुभएको छ । तर, टुंगो छैन । 

सुरुमा यहाँको कम्पनीले बस्न रुम त दियो । तर, न बेड थियो न पंखा, यस्तो गर्मीमा कसरी सुत्ने ? निकाल्न खोजेजस्तो व्यवहार गर्‍यो । कम्पनीका केही मान्छेले निस्कन पनि भने । अहिले झापा र राजविराजका नेपाली कामदार बस्ने कोठामा भुइँमा कार्पेट ओछ्याएर बसिरहेका छौँ । ५६  जना अलग–अलग तीनवटा रुममा छौँ  । आश्रय दिएका साथीहरूको रोहवरमा छेवैको बंगाली पसलबाट उधारो खाइरहेका छौँ । त्यसले पनि कति दिन उधारो देला र ! एकजनाको पाँच सय (मलेसियन रिंगेट) उधारो पुगिसकेको छ ।

घरमा बुबा, श्रीमती, तीन छोराछोरी छन् । छोरीहरू नर्सरी र १ कक्षामा पढिरहेका छन् । खर्च पठाउन सकेको छैन । श्रीमतीले घर आउन भनिरहेकी छिन् । कसरी घर फर्किने ? चार लाख ऋण लागिहाल्यो,  ब्याज पनि चढिरहेको छ । गाउँको म्यानपावर एजेन्ट परमानन्द पण्डितले जसरी पनि त्यहीँ काम गर, म जिम्मा लिन्न भनिरहेको छ । घरमा मिस्त्रीको काम गरेर महिनाको २०–२५ हजार कमाइ त हुन्थ्यो । यहाँ त अलपत्र परिएको छ ।  

आश्रय लिइरहेका सप्तरी राजगढका उमेश मण्डल भन्छन्- ‘बुबा बितेपछि घरमा कमाउने कोही भएन । घर पनि ऐलानी जग्गामा छ । छिमेकी दाइ भरत मण्डलसँग चार लाख कर्जा लिएर मलेसिया आएको हुँ । तीन लाख ९५ हजार एजेन्टलाई बुझाएको  हुँ । अहिले यहाँ अलपत्र परेँ । सुरुमा साथीहरूसँग भएको मोबाइल, सुन बेचेर खायौँ, पछिल्लो समय आश्रय दिएका साथीहरूको रोहवरमा नजिकैको पसलबाट उधारो खाइरहेका छौँ । यसरी यहाँ धेरै दिन बाँच्न सकिने अवस्था छैन । कसरी हुन्छ, हाम्रो उद्धारका लागि पहल गरिदिनुपर्‍यो ।’