
‘एक्स्ट्रा अर्डिनरी’ भूमिका निभाउँदै अलराउन्डर गुल्सन झाले अर्धशतक पूरा गरेका छन् । युएईले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पठाउने क्रममा लगातार विकेट गुमेपछि दबाबमा आएका वेला उनी क्रिजमा आएका थिए ।
उनले आरिफ सेखसँग महत्वपूर्ण साझेदारी गरे । सुरुमा क्रिजमा टिकेर खेलेका गुल्सनपछिल्ला ओभरमा आक्रामक खेदिएका छन् । उनले ४८ बलमा ५० रन पूरा गरेका हुन् ।
यसक्रममा उनले दुई छक्का र चार चौका प्रहार गरे । उनले एकै ओभरमा २० रन हानेर टिमको स्कोर माथि उठाए । अहिले क्रिजमा गुल्सन र दीपेन्द्र भिडिरहेका छन् ।
पानी परे के होला ? खेलमा फर्कन नेपालले तीव्र गतिमा रन बनाउनुपर्ने
युएईले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याइरहेको नेपाल अहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा पानी पर्ने सम्भावना देखिएकाले पानी परे के होला भन्ने जिज्ञासा छ ।
पानी परेर खेल रोकिए खेलको नतिजा डकवर्थ लुइस नियमअनुसार हुनेछ । यसका लागि नेपालले तीव्र गतिमा रन बनाउनुपर्नेछ ।
अहिले क्रिजमा नेपालका सबैभन्दा आक्रामक ब्याटर दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । दीपेन्द्र भर्खरै क्रिजमा आएका हुन् । तर, गुल्सन क्रिजमा जमिसकेका छन् ।
उनले ४२औँ ओभरमा २० रन लिएर आफ्नो विस्फोटक शेली प्रस्तुत गरेका छन् ।
अर्धशतक बनाएलगत्तै आरिफ आउट, दीपेन्द्र र गुल्सन क्रिजमा
अर्धशतक बनाएलगत्तै आरिफ सेख आउट भएका छन् । ६० बलमा ५१ रन बनाएपछि आरिफ दुई बलपछि नै ५२ रनको अवस्थामा आउट भए । उनले करिअरको पाँचौँ अर्धशतक बनाए ।
आरिफ आउट भएपछि क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन् । तीव्रगतिमा रन बनाउन सक्ने क्षमता भएका दीपेन्द्रमाथि नै अब नेपालको आशा टिकेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा पानी पर्ने सम्भावनासमेत देखिएको छ । त्यसैले पनि नेपालले तीव्रगतिमा रन बनाउन आवश्यक छ ।
संकटमा परेको ब्याटिङ अर्डर सम्हाल्दै आरिफले बनाए अर्धशतक
संकटग्रस्त अवस्थामा पुगेको नेपाली ब्याटिङ अर्डर सम्हाल्दै आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।
आरिफले ६० बलमा ५१ रन बनाएका हुन् । यसक्रममा उनले जम्मा दुई चौका प्रहार गरे ।
युएईले दिएको तीन सय ११ रनका विशाल लक्ष्य पछ्याउने क्रममा सुरुदेखि नै विकेट खसेपछि नेपाल निकै दबाबमा रहेका वेला आरिफ क्रिजमा आएका थिए ।
उनले भीम सार्कीसँग ९१ रनको साझेदारी गरे । भीम ६७ रनमा आउट भएपछि आएका गुल्सन झा र आरिफबीच ४४ रनको साझेदारी भइसकेको छ । यो जोडीमा नै नेपालको जितको आशा टिकेको छ ।
नेपालको दुई सय रन पूरा, आरिफ अर्धशतकनजिक
युएईले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुई सय रन पूरा गरेको छ । ३७ ओभरमा पाँच विकेटको क्षतिमा नेपालले दुई सय सात रन बनाएको छ ।
अहिले क्रिजमा आरिफ सेख र गुल्सन झा डटिरहेका छन् । आरिफले ५४ बलमा ४३ रन बनाएका छन् । गुल्सन २५ बलमा १४ रन बनाएर खेलिरहेका छन् । यी दुईबीच २७ रनको साझेदारी भएको छ ।
नेपालले ३०औँ ओभरको अन्तिम बलमा भीम सार्कीलाई गुमाएको थियो । ७६ बल सामना गरेका भीमले ६७ रन बनाए । उनले नौ चौका प्रहार गरे ।
विशाल लक्ष्य पछ्याउने क्रममा धर्मराएको नेपाली ब्याटिङ अर्डरलाई सम्हाल्ने क्रममा भीम र आरिफ सेखबीच ९१ रनको साझेदारी बन्यो । यसबीच भीमले करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।
आठौँ एकदिवसीय म्याच खेलिरहेका भीमले ६० बलमा ५० रन पूरा गरेका थिए । हजरत विलालको बलमा एक रन लिँदै उनले महत्वपूर्ण अर्धशतक पूरा गरेका थिए ।
नेपाललाई लक्ष्यतर्फ डोर्याइरहेका वेला जुनैद सिद्धिकीले भीम र आरिफको साझेदारी तोडे । जुनैदले नै यसअघि कुशल भुर्तेल र कुशल मल्लको विकेट लिएका थिए ।