१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुख्य समाचार प्रिन्ट संस्करण

स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता : उपत्यकामा तीन विद्यार्थी संगठनबीच गठबन्धन, एमाले अखिल एक्लै

रत्नराज्य क्याम्पस, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र बहुमुखी, आयुर्वेद क्याम्पस र पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा मनोनयन दर्ता हुन सकेन

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २८ आइतबार ०८:२९:००

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । कतै विभिन्न संगठन मिलेर र कतै एकल रूपमा विद्यार्थी संगठनले मनोनयन दर्ता गराएका हुन् । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले केही क्याम्पसबाहेक निर्वाचनको कार्यतालिकाअनुसार निर्वाचनको प्रक्रिया अघि बढेको र शनिबार मनोनयन दर्ता भएको बताए । काठमाडौंको त्रिचन्द्र बहुमुखी, आयुर्वेद क्याम्पस र पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विवाद रहेको र अन्य क्याम्पसमा चुनावी प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

केही आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा विवादका कारण मनोनयन रोकिएको छ । झडपका कारण रत्नराज्य क्याम्पसमा समेत मनोनयन दर्ता हुन सकेन । समाजवादी विद्यार्थी संगठनका कार्यकर्ता र निर्वाचन अधिकृतसँग विवाद भएकाले मनोनयन दर्ता हुन सकेन । खुकुरी बोकेर विद्यार्थी क्याम्पसभित्र प्रवेश गरेपछि तनावग्रस्त बनेको थियो । त्यसैगरी, नेपाल कमर्स क्याम्पसमा पनि विवादका कारण मनोनयन रोकिएको छ । 

उपत्यकाका क्याम्पसमा मुख्य तीन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूसहित आठवटा विद्यार्थी संगठनले सँगै चुनावी प्रतिस्पर्धामा गएका छन् । उपत्यकाका २८ वटा क्याम्पसमा नेविसंघले १५, अनेरास्ववियु क्रान्तिकारी १० र अनेरास्ववियूले तीनवटामा नेतृत्व भागबन्डा गरेका छन् । शनिबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तर, केन्द्रीय क्याम्पस कीर्तिपुर र जनप्रशासन क्याम्पसमा भने छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् ।

१९ फागुनबाट चुनावी प्रक्रिया सुरु भएको थियो । आइतबार नामावलीमाथि दाबी विरोध, त्यसको छानबिन र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी ५ चैतमा मतदान गर्ने कार्यक्रम छ । उम्मेदवारहरूले २९ फागुनदेखि २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् ।

स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ । दुई सयजनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० सम्म १५ सदस्यीय, १००१ देखि ३००० सम्म १९ सदस्यीय र तीन हजारमाथि विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । 

त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन नसकेको १४ वर्ष भएको छ । पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो । २०७३ सालमा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार ०७३ मा उपत्यकाभित्रका नौवटा आंगिक क्याम्पसमा मात्र चुनाव भएको थियो । त्यतिवेला उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।