१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २८ आइतबार ०८:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिकट वितरणमा नेविसंघमा असन्तुष्टि : उपत्यकासहित अधिकांश क्याम्पसमा बागी उम्मेदवारी

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण २८ आइतबार ०८:३५:००

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले टिकट वितरणमा मनोमानी गरेको भन्दै असन्तुष्ट समूहले धेरै क्याम्पसमा बागी उम्मेदवारी दर्ता गरेको छ । कांग्रेसमा रहेको गुटको असर स्ववियु निर्वाचनमा पनि देखिएको हो । टिकट वितरणका लागि अध्यक्ष शेर्पाको संयोजकत्वमा सिर्जना मल्ल र इतर निकट प्रेमिका राणा रहेको समिति बनाइएको थियो ।

नेविसंघका तीन समूहबीच टिकट वितरणलगायतका विषयमा असन्तुष्टि रहँदै आएको थियो । नेविसंघमा अध्यक्ष शेर्पा र संस्थापन समूहले एकपक्षीय रूपमा गतिविधि गरेको भन्दै शेखर–गगन समूहले समानान्तर तयारी समिति र गतिविधि गरिरहेको थियो । यो समूहले न्यायोचित टिकट वितरण हुनुपर्ने माग राख्दै आएको थियो । यस्तो नहुने अवस्थामा छुट्टै उम्मेदवार उठाउने तयारीसहित यो समूह लागिपरेको थियो ।

दुई समूहको खिचातानीपछि कांग्रेसको ‘तेस्रो धार’ भनिने पूर्वमहामन्त्री कृष्ण सिटौलानिकट विद्यार्थी नेताहरूले समेत उचित भागबन्डा हुनुपर्ने भन्दै छुट्टै भेला बोलाएका थिए । ‘तेस्रो धार’ भनिने समूहले शुक्रबार विशेष भेला आह्वान गरेको थियो । पूर्वमहामन्त्री कृष्ण सिटौलानिकट विद्यार्थीहरूले राजधानीमा विशेष भेला गरेर संस्थापन र इतर समूहले भागबन्डाका आधारमा उम्मेदवार बनाए आफूहरूले छुट्टै उम्मेदवारी दिने चेतावनी दिएका थिए । 

इतर निकट विद्यार्थी नेतृ एलिजा ढकाल टिकट वितरणमा एकलौटी हुँदा ठाउँठाउँमा बागी उम्मेदवारी परेको बताउँछिन् । उनले नेतृत्वले सीमित समूहमा रहेर टिकट वितरण गर्दा योग्यहरू छुट्ने र आफ्नालाई च्याप्ने अवस्था आएको बताइन् । ‘गठबन्धनका कारण कतिपय स्थानमा योग्य साथीहरूले टिकट पाउने अवस्था रहेन । कतिपय स्थानमा नेतृत्वले ग्राउन्ड बुझेर योग्यलाई भन्दा आफ्नालाई टिकट दिँदा साथीहरूले स्वतन्त्र उम्मेदवारी दिनुभएको अवस्था छ । नेतृत्वले ध्यान दिनसकेन भने संगठनलाई क्षति पुग्ने अवस्था आउँछ,’ उनले भनिन् । 

संस्थापननिकट विद्यार्थी नेता सन्तोष उपाध्याय बागी उम्मेदवारी फिर्ताका लागि मनोनयन फिर्ताको अवधिसम्ममा अनुरोध गरिने बताउँछन् । यस अवधिमा उम्मेदवारी फिर्ता नगरिए कारबाही गरिने उनले बताए । ‘केन्द्रबाट टिकट पाएका उम्मेदवार मात्रै नेविसंघका आधिकारिक उम्मेदवार हुन् । मनोनयनका क्रममा केही स्थानमा असन्तुष्टि राखेर हाम्रै साथीहरूले उम्मेदवारी दिनुभएको छ । मनोनयन फिर्ताका लागि अनुरोध गर्नेछौँ । फिर्ता लिने साथीहरूले स्ववियुबाहेकका अरू अवसर पनि पाउन सक्नुहुनेछ । संगठनको निर्देशन अटेर गरे कारबाही गर्नेछौँ,’ उनले भने ।

नेपाल ल क्याम्पसमा गठबन्धन हुँदा अखिल क्रान्तिकारीले सभापति पाउने भएपछि नेविसंघबाट बागी उम्मेदवारी परेको छ । जनप्रशासन क्याम्पसमा टिमसहित उम्मेदवारी परेको छ । शंकरदेव क्याम्पस, पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पसमा बागी उम्मेदवारी परेको छ । त्रिवि केन्द्रीय क्याम्पसमा शेखर र सिटौला समूहले मिलेर बागी उम्मेदवारी दिएका छन् ।

नेविसंघको विवादको विषयलाई लिएर असन्तुष्ट कांग्रेस जिल्ला सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेका छन् । मकवानपुर जिल्ला सभापति बुद्ध लामाले २४ फागुनमा र कांग्रेस दोलखा सभापति बर्मा लामाले २२ फागुनमा केन्द्रीय कार्यालयमा पत्र लेखेर यस्तो माग गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको पत्रमा अध्यक्ष शेर्पाले एकपक्षीय रूपमा नेविसंघलाई अगाडि लान खोजेको आरोप लगाइएको छ । 

नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला भन्छन्–नेतृत्वले आफूअनुकूल संगठन चलाउँदाको असर देखियो
नेताहरूले आफूनिकटकालाई रोज्दा नेविसंघ यो अवस्थामा पुगेको हो । नेताहरूले संस्थाभन्दा व्यक्तिलाई प्राथमिकता दिँदा समस्या आयो । नेविसंघमा समयमै नेतृत्व हस्तान्तरण नहुनु र चुस्त संगठन बन्न नदिनु दुर्भाग्यपूर्ण अवस्था हो । स्ववियु निर्वाचनको मुखमा नेविसंघमा देखिएको किचलोले संगठन र नेतृत्व विकासमा असर पर्नेछ ।

पहिला हामी कांग्रेस भइसकेपछि र जेलनेल बसेर आएपछि नेविसंघ भयौँ । नेतृत्वले हामीलाई चलाउन सक्दैनथ्यो । नेताहरू जेल र निर्वासनमा बसेका समयमा पनि कांग्रेसको इज्जत राखेको थियो । म जेलमा हुँदासमेत अधिवेशन गराएको थिएँ । तर, नेविसंग जन्माएका नेता नै नेतृत्वमा रहँदा पछिल्लो समयमा अधिवेशन हुन छाड्यो । नेताहरूलाई अहिले नेविसंघको मान्छे मात्रै भएर भएको छैन । आफ्नै मान्छे चाहिएको छ । त्यसैले, तदर्थ समिति गठन गर्ने र भंग गर्ने चलिरहेको छ ।