
२४ भदौ (मंगलबार) जेन–जी समूहका आन्दोलनकारीले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको निजीनिवासमा पनि आगजनी गरे । तत्कालीन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएपछि साँझतिर आएका आन्दोलनकारीले जिसस प्रमुख बोहराको भीमदत्त नगरपालिका– ४ भगतपुर महेन्द्रनगरको निजीनिवासमा आगजनी गरिदिए ।
त्यतिले मात्रै नपुगेपछि उनीहरूले सँगै रहेका मेलौली हाउजियारी उद्योग र छेउमै रहेको श्रीराम हाउजिङमा पनि आगजनी गरिदिए । त्यसपछि दुवै उद्योगका सबै मेसिन, स्टक कपडा, तयारी कपडालगायतका सामान जलेर नष्ट मात्रै होइन, खरानी भएका छन् । यसबाट करिब ३५ जना मजदुरको रोजगार खोसिएको छ ।
मेलौली हाउजियारी उद्योगका सञ्चालक धनसिंह पुजारा दिउँसैदेखि आएका दुई आन्दोलनकारी समूहले कुनै आगजनीले क्षति नगरेको र तेस्रो समूहका साँझ आएका आन्दोलनकारीले फिल्मी शैलीमा आगजनी गरिदिएको बताउँछन् । आगजनी गरिएको अर्को उद्योग जिसस प्रमुख बोहराकै थियो ।