१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : महेन्द्र बहुमुखी क्याम्पसमा ९ विद्यार्थी संगठनको ताला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मनोनयनका दिन नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नौ विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। मनोनयन दर्ताको बिहान करिब ११ बजेको समयमा संयुक्त विद्यार्थी संगठनको नाममा विज्ञप्ति निकालेर ९ विद्यार्थी संगठनले तालाबन्दी गरेका सहायक क्याम्पस प्रमुख भुवनेश्वर लामिछानेले बताए।

स्ववियु निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप विद्यार्थी संगठनले लगाएका छन्। ‘निर्वाचन समितिको बैठकमा विद्यार्थीको विवरण गोप्य राख्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन जोडदार माग गरेका थियौँ तर क्याम्पस प्रशासनले विवरण चुहाएर निर्वाचनलाई प्रभाव पार्ने गैरकानुनी काम गरेको छ,’ ९ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीको विवरण चुहाउनेलाई कानुनबमोजिम कारबाही गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन्। विद्यार्थी संगठनले भनेका छन्, ‘क्याम्पस प्रशासनबाट अशोभनीय काम भएको छ। विवरण चुहाएको विषय छानबिन गरी दोषीलाई कारबाही निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दछौँ।’ 

मनोनयनकै क्रममा क्याम्पस प्रशासनमा ताला लगाउने कार्य न्यायोचित नभएको भन्दै एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले विरोध गरेका छन्। अनेरास्ववियुका सभापति उम्मेदवार माधव खत्री निर्वाचनको मुखमा ताला लगाउनु हार्ने मानसिकताको उपज भएको बताउँछन्। ‘निर्वाचनमा हारजित हुन्छ। निर्वाचन बिथोल्ने गरी ताला लगाउनु हारको उपजबाहेक अरू हुन सक्दैन,’ उनले भने, ‘क्याम्पसलाई स्ववियुविहिन बनाउन मिल्दैन। निर्वाचनको माहोल बनाउन क्याम्पस प्रशासनसँग अनेरास्ववियु जोडदार माग गर्दछ।’

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका नेता जीवनजंग शाहीले स्ववियु निर्वाचन बिथोल्न क्याम्पस प्रशासनमा गरेको तालाबन्दी विद्यार्थीको हितविपरीत भएको बताए। उनले जुनसुकै हालतमा निर्वाचन गराउने पक्षमा नेविसंघ रहेको बताए। ‘लोकतन्त्रमा विश्वास राख्नेहरू निर्वाचनबाट भाग्न मिल्दैन। असन्तुष्टिलाई वार्ता र छलफल टुंग्याउन सकिन्छ। तालाबन्दी गर्नु हारको मानसिकताबाट ग्रसित भएको बुझ्नुपर्छ,’ उनले भने।

अनेरास्ववियुका माधव खत्री, नेविसंघका जीवनबहादुर शाही, अखिल क्रान्तिकारीका टरेन्द्र विक, राप्रपानिकट राप्रवि संघ र मुकेशसिंह कुँवरले चुनावी कार्यक्रम अविलम्ब सुरु गर्न क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन्। ‘तालाबन्दीप्रति आपत्ति जनाउँदै उनीहरूले तालाबन्दी सिंगो विद्यार्थी र क्याम्पसको हितविपरीत भएको हाम्रो ठहर छ,’ प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।