१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उन्मुक्ति अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न निर्वाचन ऐन बाधक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २६ शुक्रबार १४:२२:००

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनी मापदण्डका कारण श्रेष्ठ उम्मेदवार बन्नबाट वञ्चित हुने भएकी हुन् । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ । 

ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’ मा उम्मेदवार बन्न ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका दौरान उम्मेदवारको मनोनयन दर्ता गर्दा उनले ३९ वर्ष उमेर उल्लेख गरेकी छिन् ।

आज बिहान बसेको नागरिक उन्मुक्तिको संसदीय दल बैठकले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

नेपालको संविधानमा भने उपराष्ट्रपतिको लागि उमेरसम्बन्धी उल्लेख छैन । राष्ट्रपतिको हकमा भने कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर, संविधानमा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने भनिएकाले उपराष्ट्रपतिको हकमा पनि सोही उमेर मापदण्ड लागू हुने गरी निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिएको हो ।