१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५४:oo

काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा सोमबार रङहरूको पर्व फागु भव्य रूपमा मनाइएको छ । फागुका अवसरमा सबैभन्दा ठूलो भिड वसन्तपुर दरबार क्षेत्रमा देखिएको थियो । यहाँ फागु खेल्नेहरूको भिडका कारण सोमबार दिउँसोदेखि नै न्युरोडदेखि वसन्तपुरसम्मको सडक जाम भएको थियो । ललितपुरको पाटन, भक्तपुर तथा काठमाडौंका कलंकी, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साललगायत क्षेत्रमा पनि फागुकोे रौनक थियो । फागुकै अवसरमा सोमबार देशभर विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना भएका छन् । फागु पर्वलाई प्रेम, आकर्षण र उमंगको पर्वका रूपमा लिने गरिन्छ । 

रंगिए पर्यटक 
काठमाडौंको वसन्तपुर दरबार स्क्वायर, पोखराको लेकसाइडलगायत क्षेत्रमा स्थानीयसँगै विदेशी पर्यटकले पनि फागुकोे मज्जा लिएका छन् । लेकसाइडमा फागुको मज्जा लिइरहेका जर्मन नागरिक मरियसले नेपालको मौलिक पर्वले आफूलाई निकै आकर्षित गरेको बताए । ‘यहाँ कसैले पनि कहाँबाट आएको र कुन धर्म मान्ने भनेर सोधेनन्, सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो संस्कृति र समानता निकै मन पर्‍यो,’ उनले भने । तीन हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रङसँग रमाएको फागुको दिन जीवनमै स्मरणीय रहने बताइन् । लमजुङको बेँसीसहरस्थित एक स्कुलमा स्वयंसेवीका रूपमा काम गर्दै आएकी उनले पोखरा घुम्न आउँदा फागु खेल्ने अवसर मिलेको बताइन् । 

आज तराईमा होली 
नेपालको तराई क्षेत्र तथा भारतमा आज होली पर्व मनाइँदै छ । नेपालको तराई तथा भारतमा पूर्णिमाको रात होलिका दहन गरेपछि भोलिपल्ट होली मनाउने चलन छ । प्रा.डा. जगमान गुरुङले फागु पूर्णिमा कृष्णलीलासँग र होलीको प्रसंग विष्णु पुराणसँग जोडिएको बताए । ‘पहाडमा फागुन शुक्ल पूर्णिमामा दिनभर एकअर्कालाई रङ दलेपछि काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा मध्यरात चिर दाह गरिन्छ र यो पर्व समापन हुन्छ । यसको प्रसंग कृष्णलीलासँग जोडिएको छ,’ उनले भने, ‘नेपालको तराई र भारतमा भने पूर्णिमाको मध्यरातमा होलिका दहन गरेपछि होली खेल्ने चलन छ । यसको प्रसंग विष्णु पुराणसँग जोडिएको छ । असत्यमाथि सत्यले जितेको खुसीमा उमंगका साथ यो पर्व मनाउने गरिन्छ । किंवदन्तीअनुसार विष्णुभक्त प्रह्लादलाई जलाउने उद्देश्यले उनलाई काखमा राखेर होलिका नामकी राक्षस्नी आगोमा बसेकी थिइन् । तर, होलिका आफैँ जलिन्, प्रह्लाद जलेनन् । यही सम्झनामा पूर्णिमाको दिन होलिका जलाएर भोलिपल्ट होली खेल्ने चलन भारत र नेपालको तराईमा छ ।’ सामाजिक सद्भावनाको अभिवृद्धि तथा विगतका वैमनस्यलाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य विशेषता रहेको उनले बताए । 

ad
ad