१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
फागु गीत गाउँदै बागलुङका नेवार समुदाय । 
२o८१ जेठ ४ शुक्रबार १५:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङमा घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:o२:oo

‘मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो। 
औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो । 
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो। ’

बागलुङ बजारको नारायणचोकमा पुराना र नयाँ पुस्तासँगै बसेर यो फागु गीत गाउँदै थिए। 

गीतमा मादलको ताललाई लयबद्ध बनाउँदै गाउँदै होलीको रङसँग रमाउँदै थिए बागलुङ नेवार समुदायका युवायुवाती र बुढाबुढी। उनीहरूले गाएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान तान्यो।

मादल बजाउँदै पुराना पुस्ताहरू गाउँदै होली खेल्दै रमाउँदै थिए, भने नयाँ पुस्ता साथमा साथ दिँदै थिए। 

सडकमा युवा युवती, ‘ह्यापी होली –ह्याप्पी होली’  भनी रमाइरहेका थिए भने केही होटेल रेस्टुरेन्टमा कन्सर्ट नै राखिएको थियो। 

तर, अधिकांशको ध्यान भने बागलुङको नारायणचोकमा  नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाएकोतर्फ खिचियो। 

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु अर्थात् होली खेलिन्छ। होलीमा नेवार मात्र हाेइन अन्य समुदायका व्यक्तिको पनि उपस्थिति रहेकाे थियो। 

पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती दंग

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाएका छन्। पाकादेखि युवासम्मका पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता देखिएको थियो। गीत सुन्न र नाच हेर्नका लागि युवायुवतीको भिड लागेको थियो। 

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंका  खल’को आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत गाइएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारी बताउँछन्।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा परेको उनी बताउँछन्। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध रहेको राजभण्डारीको भनाइ छ। 

‘फागु गीतमा बली राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ फागुको राग लिन्छौँ, गाउँछौँ, भनेर भनिएको छ। महिला–पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका माया–पिरतीलगायतका भाव गीतमा समावेश गरिएको मंका खल बागलुङका संस्थापक संयोजक प्राज्ञा प्रेम छोटाले जानकारी दिए। 

‘हामीले संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौँ,’ छोटाले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत हो।’ केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति यहाँकाे नेवार समुदाय चिन्तित छ। 

मौलिक संस्कृतिको जर्गेनामा मंका खल 

फागुपूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जर्गेनाका लागि नेपाल भाषा मंका खल बागलुङ संरक्षणमा जुटेको छ। ‘पुरानो संस्कृतिलाई हामी हराउन दिँदैनौँ। यसको हामी मौलिक संस्कृति जगेर्नाका लागि पहल थालेका छौँ। यहाँ धेरै पुराना संस्कृति छन्, यिनको नयाँ पुस्तामा हस्तान्तरणका लागि हामी पहल थालेका छौँ। फागुपूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो । मंका खलले यहाँका अन्य स्थानीय संस्कृतिको संरक्षणमा पनि जुटेको छ,’ अध्यक्ष राजभण्डारीले भने। 

मंका खलले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणका लागि जोड दिएको मंका खल बागलुङका सचिव सुदीप राजभण्डारी बताए। ‘हामी युवाले पनि हरेक संस्कृति सिक्दै र अँगाल्दै आएका छौँ,’ राजभण्डारीले भने, ‘हामी मात्र हाेइन, हामीभन्दा तल्लो पुस्तालाई पनि सिकाउने गर्दछौँ।’ 

 

ad
ad