
अहिले हाइकिङका लागि उत्कृष्ट समय हो । हाइकिङमा हिमालको दृश्यावलोकन गर्दै हिँड्नुको मज्जा बेग्लै छ । हाइकिङका शारीरिक र मानसिक फाइदा धेरै छन् । चराचुरुंगीको आवाज सुन्दै डाँडापाखामा हिँड्दा मानिसको मन आनन्दित हुने गर्छ । कुनै तनाव वा समस्या छ भने त्यसलाई घरमै छाडेर निस्कनुस् । हाइकिङ गर्दाको समय प्रकृतिको मज्जा लिनुस् । यदि बाटोमा कुनै रोमाञ्चक दृश्य देखियो भने केही छिन रोकिएर त्यसलाई ध्यानपूर्वक नियाल्न सक्नुहुनेछ । यसले पनि मस्तिष्कलाई आनन्द दिन्छ ।
शारीरिक गतिविधिले मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ । हाइकिङ गर्दा पनि यही हुन्छ । दिनमा केवल ३० मिनेट मात्रै बाहिर घुम्न निस्कँदा पनि मुड फ्रेस हुन्छ । तपाईंले आफूलाई सकारात्मक पाउनुहुन्छ र आत्मविश्वास बढ्छ ।
एउटा रमाइलो यात्रा
हाइकिङ एउटा रमाइलो यात्रा हो । यसले तनावको स्तर कम गर्ने तथा मानिसलाई शान्त बनाउने गर्छ । मुटु स्वस्थ राख्न पनि हाइकिङले भूमिका खेल्छ । त्यस्तै, हड्डी र मांसपेशी बलियो बनाउँछ । रक्तचाप नियन्त्रण हुन्छ । मधुमेहका रोगीका लागि हिँड्नु फाइदाजनक छ । मोटोपन कम भएर जान्छ । डिप्रेसन र एन्जाइटी कम गराउँछ । राम्रो निद्रा लाग्छ ।
सामाजिक सर्कल निर्माण
मानिसहरू समूहमा हाइकिङ जाने गर्छन् । यसरी हिँड्दा अन्य मानिससँग राम्रो सम्बन्ध बन्ने गर्छ । नयाँ साथीहरू बनाउन सकिन्छ ।
काठमाडौंनजिकका गन्तव्य
तारेभिर, सुन्दरीजल, शिवपुरी, फर्पिङ, चन्द्रागिरि, बुङमती, गोदावरी, फुलचोकी, लाँकुरीभञ्ज्याङ, नागार्जुन, गोकर्ण, झोर, साँगा, चाँगुनारायण, नगरकोट, ककनीलगायत हाइकिङका लागि काठमाडौंबाट नजिक रहेका रुट हुन् ।