
मोफसलको सर्वाधिक पुरस्कार राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको छैटौँ संस्करण आगामी ९ देखि २० चैतसम्म धनगढी रंगशालामा हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष सुरेश हमालले अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सञ्चालन गर्न स्वीकृति दिएको जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहने अध्यक्ष हमालले जानकारी दिए ।
‘ए’ डिभिजन खेल्ने ६ वटा क्लब, दुईवटा विदेशी टोली तथा आयोजकसहित दुईवटा मोफसलको टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइको छ ।