१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७९ फाल्गुण १६ मंगलबार ११:१२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाको आणविक परीक्षणस्थलबाट चुहिएको विकिरणबाट लाखौँ मानिस जोखिममा

रेडियोधर्मी प्रदूषण फैलिएको क्षेत्रमा १० लाखभन्दा बढी उत्तर कोरियालीको बसोवास छ भने भूमिगत पानीलाई उनीहरूले पिउनेलगायत दैनिक जीवनमा प्रयोग गर्छन्

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ फाल्गुण १६ मंगलबार ११:१२:००

उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनका लाखौँ मानिस उत्तर कोरियाको भूमिगत आणविक परीक्षण केन्द्रबाट भूमिगत पानीमा फैलिएको रेडियोधर्मी पदार्थको सम्पर्कमा आएको हुन सक्ने सियोलस्थित मानव अधिकार समूहको प्रतिवेदनले उल्लेख गरेको छ । अमेरिका र दक्षिण कोरियाली सरकारका अनुसार उत्तर कोरियाले सन् २००६ देखि सन् २०१७ को बीचमा पहाडी इलाका हमग्योङ प्रान्तको पुंगेरीस्थित भूमिगत आणविक परीक्षण केन्द्रमा गोप्य रूपमा ६ वटा आणविक परीक्षण गरेको थियो ।

ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले गरेको अध्ययनले उक्त स्थाननजिकैका आठ सहर र काउन्टीमा रेडियोधर्मी सामग्री फैलिएको देखाएको हो । यी स्थानमा १० लाखभन्दा बढी उत्तर कोरियालीको बसोवास रहेको छ भने उनीहरूले भूमिगत पानीलाई पिउनेलगायत दैनिक जीवनमा प्रयोग गर्ने गर्छन् ।

साथै, यो अध्ययनले उत्तरबाट तस्करी भएर आउने कृषि एवं मत्स्य उत्पादनका कारण दक्षिण कोरियाका साथै चीन र जापानका सीमावर्ती छिमेकी क्षेत्रका बासिन्दा पनि रेडियोधर्मीको आंशिक जोखिममा परेको हुन सक्ने उल्लेख गरेको छ । 
सन् २०१४ मा गठित यो समूहले आणविक एवं चिकित्सा विशेषज्ञका साथै प्रभावितहरूको सहयोग र सहकार्यमा यो अध्ययन गरेको थियो । समूहले अध्ययन स्रोतका रूपमा सार्वजनिक खुफिया प्रतिवेदन तथा  सरकार र संयुक्त राष्ट्रसंघबाट उपलब्ध प्रतिवेदन प्रयोग गरेको छ । 

‘उत्तर कोरियाका ती आणविक परीक्षणले उत्तर कोरियाली जनताको मात्र नभई दक्षिण कोरिया र अन्य छिमेकी देशमा पनि जीवन र स्वास्थ्य अधिकारलाई खतरामा पार्न सक्ने देखाउन यो प्रतिवेदन महŒवपूर्ण छ,’ समूहका प्रमुख एवं सहअध्ययेता ह्युबर्ट यंग ह्वान लीले भने ।

सन् २०१५ मा दक्षिण कोरियाको खाद्य सुरक्षा एजेन्सीले आयातीत च्याउमा रेडियोधर्मी सिजियमका आइसोटोप मानकस्तरभन्दा नौ गुणा बढी पाएको थियो । उक्त च्याउ चिनियाँ उत्पादनका रूपमा बिक्री गरिएको भए पनि त्यसको वास्तविक उत्पत्तिस्थल उत्तर कोरिया थियो । त्यसयता, चीन र जापानले विकिरण अनुगमनलाई तीव्रता दिनुका साथै उत्तरका अघिल्ला आणविक परीक्षणका सम्भावित खतराबारे चिन्ता व्यक्त गरेका छन्, तर खाद्यवस्तुमा तीनको प्रदूषणबारे भने खुला रूपमा जानकारी उपलब्ध गराएका छैनन् । 

थुप्रै बाहिरी विशेषज्ञहरूले पनि विकिरणद्वारा दूषित पानीबाट सम्भावित स्वास्थ्य जोखिमबारे चिन्ता व्यक्त गरेका छन् । उत्तर कोरियाले भने विगतका आणविक परीक्षणबाट हानिकारक सामग्रीको कुनै चुहावट नभएको बताउँदै त्यस्ता चिन्तालाई खारेज गरेको छ । तर, आणविक प्रदूषण नभएको कुनै प्रमाण भने उपलब्ध गराएको छैन । 

सन् २०१८ मा यस आणविक परीक्षणस्थलका केही सुरुङ नष्ट गरेको दृश्य प्रत्यक्ष अवलोकन गर्न विदेशी पत्रकारहरूलाई आमन्त्रित गर्दा उत्तर कोरियाले उनीहरूबाट विकिरण मापन गर्ने उपकरण खासेको थियो । अन्तरकोरियाली मामिला हेर्ने सियोलको एकीकरण मन्त्रालयले सन् २०१८ बाट अन्तरसीमा सम्बन्धमा केही न्यानोपन आएयता भने भागेर आएकाहरूमा विकिरण परीक्षण गर्न बन्द गरेको छ ।

तर, सन् २०१७ र सन् २०१८ मा विकिरण परीक्षण गरिएका पुंगेरीआसपासका क्षेत्रबाट आएका ४० डिफेक्टरमध्ये कम्तीमा नौमा असामान्यस्तरमा विकिरणको प्रभाव पाइएको थियो । तर, मन्त्रालयले यसको आणविक परीक्षणस्थलसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न भने नसकेको बताएको छ ।