१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायात व्यवसायीको प्रश्न- गाडीको बिलबुकमा बैंक मालिक कहिलेसम्म ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५८:oo

गुल्मी यातायात प्रालिको वार्षिक साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय पदाधिकारीले निकै आक्रोश पोखे। 

महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायी संकटमा पर्दा सरकार र बैंक मूकदर्शक भएको आरोप लगाए। 

स्वाँरले सरकारले सिन्डिकेटको नाममा यातायात क्षेत्र तहसनहस पारेका वेला कोभिडले यातायात क्षेत्र चौपट हुँदा सरकार र बैंकले सहजीकरणको सट्टा अप्ठ्यारोमा पारिरहेको आरोप लगाए। ‘गाडी भर्खर चल्न थाले पनि संकटमै छौँ। केही आशाका विन्दु पनि पलाएका छन्,’ उनले भने, ‘सरकार विगतको गल्तीबाट पछुताइरहेको छ।’ 

उनले प्राधिकरणमार्फत यातायात क्षेत्रका समस्या समाधानको योजना बनेकाले निष्कर्ष र विकल्प खोजिरहेको बताए। साथै स्वाँरले फलामले बनेको गाडीको आयु जाँचको आधारमा हुने भएकाले नौटंकी बढी भएकाे बताए। उनले यातायात व्यवसायीको दायित्व नागरिकसँग जोडिएकाले रुपान्तरण हुन अनुरोध गरे। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौला पनि सरकार र बैंकसँग निकै कड्किए। उनले सरकारले प्रालि जन्माएर बेवारिसे छोडेको आरोप लगाए। 

बैंकले लगानी तीनपुस्ते खोजेर गर्ने, तर ब्याज आफैँ एक्लैले मनलाग्दी बढाएका कारण गरिबको छोरो बिलबुकमा गाडीमालिक बन्न नसकेको गुनासो गरे । ९० प्रतिशत गाडीका बिलबुकमा बैंक तथा वित्तीय संस्था मालिक बनिरहेकाे बताउँदै बैंकको ब्याजदर एक अंकमा झार्नुपर्ने बताए । उनले संघसंस्था ऐन, २०३४ नै आवश्यक रहेको बताए।

 ‘गाउँमा हाम्रो गाडी चढ्ने नेताले सत्तामा पुगेपछि व्यवसायीका पीडा भुल्छन्। बैंक सधैँ मालिक बनिरहने प्रवृत्तिले व्यवसाय कसरी गर्ने,’ उनले भने, ‘अब नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ चुप लागेर बस्दैन।’ 

गुल्मी यातायात प्रालिको वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। कार्यक्रममा प्रालिका अध्यक्ष रूपकलाल श्रेष्ठले संस्थाको अवस्थाबारे जानकारी गराएका थिए। 

साधारणसभामा आर्थिक प्रतिवेदनसहितका विभिन्न विषयमा छलफल गरेर नयाँ नेतृत्व निर्वाचनको प्रक्रिया अगाडि बढाइने गुल्मी यातायात प्रालिका महासचिव हिमाल कुँवरले जानकारी दिए। उनले सहमतिकै आधारमा नेतृत्व चयन गरिने बताए।

ad
ad