१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ १४ सोमबार १५:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डिजिटल हाजिरी मेसिन प्रयोग गर्न शिक्षकशिक्षिकाकै अटेरी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १५:३१:oo

सर्लाहीमा शिक्षक–शिक्षिकाले डिजिटल हाजिरी मेसिन प्रयोग गर्न अटेरी गर्ने गरेकाे पाइएको छ । चन्द्रनगर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालय र पालिकामातहतका कार्यालयमा धमाधम डिजिटल हाजिरी मेसिन जडान भइरहेको छ । तर, पालिकाका केही विद्यालयका शिक्षकशिक्षिकाले त्यसको प्रयोग गर्न अटेर गर्ने गरेका छन् ।

कतिपय विद्यालयका प्रधानाध्यापकले हाजिरी मेसिन राख्नसमेत नदिएकाे पालिकाले जनाएको छ । शिक्षकशिक्षिका र कर्मचारी नियमित नआउने, आएको दिन पनि हाजिरी गरेर हिँड्ने, नआएको दिनको समेत हाजिरी गर्ने गरेकाे पाइएपछि गाउँपालिकाले डिजिटल हाजिरी मेसिन प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सोहीबमोजिम पालिकाअन्तर्गत २२ मध्ये १८ वटा विद्यालयमा मेसिन जडान गरिएको छ । केही विद्यालयले प्रयोगमा ल्याएको भए पनि अधिकांश विद्यालयले आलटाल गर्दै आएका छन् ।

आइतबार चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा रहेका चारवटा विद्यालयमा पुग्दा हाजिरी मेसिन प्रयोग नगरेको पाइएको हो । ३ नम्बर वडामा रहेको श्रीराम जनता निम्नमाध्यमिक विद्यालय बडकुर्वा र ज्ञानज्योति प्राथमिक विद्यालय गेरुकाटोल, वडा नम्बर ४ मा रहेको शंकरसिंह चन्द्रावती प्राथमिक विद्यालय गढाटोल र वडा नम्बर १ मा रहेको जनता प्राथमिक विद्यालय रतनपुरले  डिजिटल हाजिरी चालू गर्न अटेर गरेका थिए । बडकुर्वाका प्रधानाध्यापक सरोज सिंह, गेरुकाटोलका प्रधानाध्यापक मोहन साह, गढाटोलकी प्रधानाध्यापक सुशीला सिंह र रतनपुरका प्रधानाध्यापक राम रायले विद्यालयमा हाजिरी मेसिन राख्नै नदिएकाे गाउँपालिका कार्यालयले जनाएको छ । उनीहरूले विभिन्न बहाना बनाएर मेसिन प्रयोग नगर्ने भन्दै विद्यालयपरिसरमा मेसिन राख्न नदिएपछि प्राविधिक टोली त्यसै फर्किएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले आफू विभिन्न काममा बाहिर जानुपर्ने र ढिला हुँदा हाजिरी नहुने भएकाले हाजिरी मेसिन प्रयोग गर्न नसकिने बताए । मेसिन जडानअघि पालिकाले महसुल तिरिदिने गरी विद्युत् मिटर जोडिदिनुपर्ने उनको अडान छ । विद्यालयले यसअघि विद्युत् चोरी गरी इन्टरनेट र अन्य विद्युतीय उपकरण चलाउँदै आएको थियो । नेपाल शिक्षक संघका प्रतिनिधिसमेत रहेका सिंह पालिकाले डिजिटल हाजिरी मेसिन प्रयोगमा ल्याउन लागेको भन्दै शिक्षकको टोली नै लिएर पालिकामा ज्ञापनपत्र बुझाउन पुगेका थिए । पालिकाले आफूहरूलाई कुनै निर्देशन दिन नसक्ने उनको तर्क छ । 

शिक्षकशिक्षिका समयमा नआउने, शिक्षक तथा कर्मचारी पूरा समयसम्म विद्यालयमा नबस्नेजस्ता अनेक गुनासो आउन थालेपछि गर्न थालेपछि विद्युतीय हाजिरी मेसिनको प्रयोग गर्नुपरेको पालिका प्रमुख महतोले बताए । ‘पटकपटक प्राविधिक पठाउँदासमेत चारवटा विद्यालयका प्रधानाध्यापकले अनेक बहानाबाजी गर्दै डिजिटल हाजिरी चालू गर्न दिएका छैनन्,’ उनले भने, ‘विद्यालय समयमा नखुल्ने र टिफिनपछि शिक्षक नबस्दा विद्यालय बन्द हुने गरेको गुनासो व्यापक मात्रामा आयो । उहाँहरूलाई मौखिक रूपमा सम्झायौँ, तर  मान्नुभएन । त्यसपछि बाध्य भएर डिजिटल हाजिरीको अवधारणा ल्याएका हौँ ।’

जनताको करबाट तलब र अन्य सेवा–सुविधा लिने जनप्रतिनिधि, कर्मचारी र शिक्षक पूर्ण समय कार्यालयमा बसेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष महतोले बताए  । महतोले गाउँपालिकाको निर्णयअनुसार डिजिटल हाजिरी प्रयोग गर्न अस्वीकार गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

श्रीराम जनता निमावि बडकुर्वाका प्रधानाध्यापक सिंहले विद्यालयमा डिजिटल हाजिर जडान भए पनि प्रयोगमा नल्याएको स्वीकार गरे । उक्त मेसिन चलाउँदा उठ्ने विद्युत् महसुल बुझाउन विद्यालयसँग कुनै आयस्रोत नरहेकाले प्रयोगमा नल्याएको उनको तर्क छ । डिजिटल हाजिरी मेसिन जडान नगर्ने चारवटै विद्यालयका प्रधानाध्यापकको एउटै स्वर छ– ‘हामी इ–हाजिरी जोड्न तयार छौँ । तर, विद्यालयको कुनै आयस्रोत नभएकाले बिजुली महसुल गाउँपालिकाले तिरिदिनुपर्छ ।’

ad
ad