Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७९ फाल्गुण ७ आइतबार ०८:११:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टर्की भूकम्पको १२ दिनपछि अत्सुको शव भेटियो 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ फाल्गुण ७ आइतबार ०८:११:००

टर्कीमा भूकम्प गएको १२ दिनपछि फुटबलर क्रिस्ट्रियन अत्सु आफ्नो घरको भग्नावशेषमा मृत अवस्थामा भेटिएका छन् । ३१ वर्षीय अत्सुले यसअघि इंग्लिस प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासलबाट खेलेका थिए । ६ फेब्रुअरीमा टर्कीमा भूकम्प जाँदा अन्ताक्या हटेस्थित अत्सुको अपार्टमेन्ट भत्किएको थियो । ‘हामीमा दुःखको वर्णन गर्ने कुनै शब्द छैन,’ टर्कीको शीर्ष डिभिजनको क्लब हटेस्पोरले ट्विटरमा लेखेको छ, ‘अत्सु हामी तिमीलाई बिर्सनेछैनौँ । तिमीलाई शान्ति मिलोस् ।’ 

घाना फुटबल एसोसिएसनले ‘झन्डै दुई साताको भावनात्मक प्रताडना’पछि शनिबार बिहान अत्सुको शरीर भेटिएको जनाएको छ । उनको शव भेटिँदा अत्सुका जेठा दाजु तथा जुम्ल्याहा बहिनी पनि घटनास्थलमै रहेको घानाको परराष्ट्र मन्त्रालयले जनाएको छ । टर्कीस्थित घानाको दूतावासले उनको अन्त्येष्टिका लागि शव घाना लैजाने तयारी गरिरहेको छ । दक्षिणी टर्की तथा उत्तरी सिरियामा गएको भूकम्प र परकम्पका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ । ठूलो संख्यामा मानिस घाइते र बेपत्ता छन् । 

घानाका उत्कृष्ट विंगर
अत्सुले सन् २०१५ मा अफ्रिका नेसन्स कपको फाइनलमा घानालाई पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यतिवेला फाइनलमा पेनाल्टी सुटआउटमा घाना आइभोरी कोस्टसँग पराजित भएको थियो । यस प्रतियोतिगामा अत्सु सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले घानाका लागि कुल ६५ खेल खेलेका छन् । 

सन् २०१३ मा एफसी पोर्टो चेल्सीबाट आबद्ध भएका अत्सुले एभर्टन, बोर्नमाउथलगायत क्लबमा लोनमा खेलेका थिए । २०१६ मा लोनमा न्युक्यासल गएका अत्सुले टिमलाई च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि २०१७ मा न्युक्यासलले उनीसँग स्थायी सम्झौता गरेको थियो । उनी २०२१ मा साउदी क्लब अल रैदमा आबद्ध भएका थिए । त्यहाँ एक सिजन बिताएपछि सेप्टेम्बर २०२२ मा उनी हतास्पोरमा आबद्ध भएका थिए । 

‘टर्कीको विध्वंशकारी भूकम्पमा क्रिस्ट्रियन अत्सुको निधन भएको खबरले हामीलाई मर्माहत बनाएको छ,’ न्युक्यासलले विज्ञप्ति निकाल्दै भनेको छ, ‘उनी एक क्षमतावान् खेलाडी र विशेष व्यक्ति थिए । उनलाई सधैँ हाम्रा खेलाडी, कर्मचारी र फ्यानले सम्झिरहनेछन् ।’ चेल्सी र एभर्टनले पनि विज्ञप्ति निकाल्दै आफ्नो क्लब गहिरो शोकमा रहेको जनाएका छन् । घानाका लोकप्रिय खेलकुद कार्यक्रम प्रस्तोता तथा निर्माता माइकल ओती अद्जेईले भनेका छन्, ‘जब उनले आफ्नो डेब्यु गरेका थिए । त्यतिवेला ‘घानाको मेस्सी’ उपनामले उनको चर्चा भएको थियो । उनलाई चिन्नेहरूले त्यस्तो युवा खेलाडीबारे कुरा गरिरहेका थिए, जो सायद अहिलेसम्मकै एक उत्कृष्ट अफ्रिकी खेलाडी बन्नसक्थे ।’