१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुटवलमा कृषि मेला सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४५:oo

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा ११औँ संस्करणको कृषि मेला– २०७९ सुरु भएको छ । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । 

वरिष्ठ उपाध्यक्ष ढकालले कृषिको व्यावसायिक विकासमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । कृषिप्रधान देशमा कृषिजन्य वस्तुको उपभोग पनि आयातमा धानिएको भन्दै उनले यही अवस्थामा अगाडि बढ्ने हो भने देशको अर्थव्यवस्था झनै खस्किँदै जाने धारणा राखे । कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनुपर्ने र यसतर्फ सरकार पनि गम्भीर हुनुपर्ने उनको धारणा थियो । 

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिको व्यावसायिक विकासका लागि प्रवर्द्धनात्मक रूपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए । कृषि वस्तुको प्रवर्द्धन तथा विविधीकरण गर्ने माध्यमका रूपमा खाद्य परिकारको प्रवर्द्धन पनि एउटा माध्यम भएकाले कृषि मेलामा पोर्क (बंगुर)का परिकारसहितको फेस्टिभल आयोजना गरिएको उनको भनाइ थियो । त्यसबाहेक च्याउ, दूध, कोदो माछाका परिकार पनि मेलामा राखिएको र खाने प्रवृत्तिको विकासले स्थानीय कृषि वस्तुको प्रवर्द्धन गर्नुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले कृषि क्षेत्रको चर्चा गरेका थिए । 

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक र पोर्क फेस्टिभलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराए । कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिँचाइ प्रविधि, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मललगायतको प्रदर्शनी गरिनेछ ।

त्यस्तै, कृषिसम्बन्धी अन्तर्क्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा बिक्री–वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेस्टिभल’समेत आयोजना गरिएको छ । 
 

ad
ad