
रुपन्देहीको मायादेवी– ८ बसडिलवास्थित घरमा चोरी गर्ने क्रममा पक्राउ परेका चोर मेडिकल कलेजबाट फरार भएका छन् । स्थानीयले बुझाएपछि प्रहरीले उपचारका लागि भन्दै मेडिकल कलेज लगेको थियो । प्रहरीले चोर भगाएको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना दिए । सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीले पनि जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई कारबाहीको माग गरेको छ ।
बिहीबार मध्यरात ढकबहादुर कुँवरको घरबाट नगद दुई लाख, सुनचाँदीलगायत वस्तु चोरी गर्ने क्रममा कुँवरले प्रतिकार गरेका थिए । चोरले चक्कु देखाएर मार्ने धम्की दिएपछि आत्तिएर २३ वर्षीया छोरी भाग्नका लागि पहिलो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी थिइन् । उनको मेरुदण्डमा गम्भीर चोट लागेको छ ।
भाग्दै गरेको चोरलाई स्थानीयले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए । पोखरा घर बताउने चोर केशव सुनारको साथबाट चक्कु र ताला फोड्न प्रयोग हुने विभिन्न सामान बरामद भएको प्रहरीले जनाएको छ ।