
विश्वभर रहेका नेपालीभाषीहरूको गायन र नृत्य प्रतिभाहरूको प्रतिस्पर्धा हुने पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युएई अडिसन हुने भएको छ ।
इन्ट्रा (नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका)को आयोजना उक्त अडिसन हुने भएको हो । विश्वमा छरिएर रहेका नेपालीभाषीहरूका बीचको साझा सांस्कृतिक माध्यमबाट सबैलाई नेपालीभाषी प्रतिभाहरूलाई जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
आगामी १९ फेब्रुअरीमा युएईको देइरामा रहेको काल्टन होटलको सभाहलमा उक्त अडिसन हुने युएईको लागि कार्यक्रम व्यवस्थापक आशिष पुरुषले नयाँ पत्रिकालाई बताए । उक्त अडिसनबाट नेपाल जानको लागि उत्कृष्ट छनोट गरिनेछ ।
युएईको अडिसनका लागि भ्वाइसमा सुनिता दुलाल, सुमन उदय र सुनिता थेगिम निर्णायकमण्डलमा रहेका छन् । डान्सको लागि नायक दीलिप रायमाझी, प्रियंका कार्की र केकी अधिकारी निर्णायक मण्डलमा छन् । उनका अनुसार अमेरिका, क्यानडा, युरोप, थाइल्यान्ड, अष्ट्रेलिया, दुबई र भारतबाट छनोट गरी विभिन्न प्रतियोगीहरूलाई काठमाडौंमा भेला गरी १ अप्रिलबाट अन्य चरणहरूको अडिसन हुनेछ ।
गायन तथा नृत्य शोमा प्रथम हुनेहरूलाई एक–एक करोड नेपाली रकम पुरस्कार दिइने छ । उक्त रकम नेपाली रियालिटी शोमध्ये अहिलेसम्मकै ठूलो धनराशी पुरस्कार रहेको इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले बताए ।
इन्ट्राको आयोजना सुरु भएको उक्त कार्यक्रमको पाहिलो अडिसन २८ जनवरीमा अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भएको थियो ।
विभिन्न देशहरूमा भएका अडिसनहरूबाट छनोटमा परी प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीहरूको यात्रा खर्च फाउन्डेशनले नै भुक्तानी दिने पनि आशिष पुरुषले बताए । पुरूषका अनुसार नेपालमा हुने विभिन्न चरणहरूबाट बाहिरिनु परे पनि उनीहरू बसेको देश फिर्तीको खर्च पनि आयोजकले भुक्तानी गर्ने छन् ।