१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
भोजराज भण्डारी काठमाडाैं
अजित अधिकारी काठमाडाैं
Invalid date format o६:२o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्डफ्लुपीडित किसानलाई ५८ करोड क्षतिपूर्ति दिने प्रक्रिया सुरु

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२o:oo

बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोरेका किसानलाई राहत दिने प्रक्रिया सुरु भएको छ । गत वर्ष माघदेखि असारसम्म देशभरका १५ जिल्लामा बर्डफ्लु प्रकोपका कारण किसानले ७८ करोडभन्दा बढीको क्षति व्यहोरेका थिए । बर्डफ्लु रोग लाग्नासाथ रोगी–निरोगी सबै कुखुरा, अन्डा र दानासमेत नष्ट गर्नुपर्ने भएकाले किसानले ठूलो आर्थिक क्षति व्यहोर्ने गर्छन् । सोही कारण पीडित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘बर्डफ्लु नियन्त्रण नियमावली’ जारी गरेको छ ।

नियमावलीअनुसार नै क्षतिपूर्ति दाबी गर्दै कृषि मन्त्रालयले राहत उपलब्ध गराउन बारम्बार ताकेता गर्दै आएको छ । अहिले बल्ल किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । उनका अनुसार १५ जिल्लाका किसानलाई ५८ करोड ५२ लाख १० हजार चार सय ६५ रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेछ । ‘बर्डफ्लुपीडित किसानलाई राहत दिने फाइल आगामी सोमबारको मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ,’ उनले भने, ‘त्यहाँबाट निर्णय भयो भने जतिसक्दो छिटो पीडित किसानलाई रकम निकासा गरिनेछ ।’ राहत रकम दिन बिहीबार दिउँसो अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।

राहत रकमका लागि एक वर्षयता विभिन्न निकायमा धाएर थाकेको भक्तपुरस्थित कालिज फार्म सञ्चालक रघुनाथ खड्का बताउँछन् । ‘मैल चार करोड लगानीमा कालिज फार्म सुरु गरेको थिएँ । बर्डफ्लुका कारण सबै मार्नुप¥यो,’ उनले भने, ‘एक करोड रुपैयाँभन्दा बढी क्षति पाउनुपर्नेछ, तर सरकारले झुलाइरहेको मात्रै छ ।’

त्यस्तै, अर्का पीडित किसान विनोद घिमिरेले तारकेश्वरस्थित आफ्नो फार्ममा २६ सय कालिज  मार्नुपरेको बताए । ‘मेरो ठूलो क्षति भयो,’ उनले भने, ‘मैले मात्र ३५ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेको छु ।’ बिहीबार दिउँसो अर्थ मन्त्रालयबाट क्षतिपूर्ति दिने सम्बन्धमा निर्णय भएको खबर पाएकाले खुसी लागेको उनले बताए । ‘अब चाँडै राहत पाउने आसमा छु,’ उनले भने ।

यसैबीच, काठमाडौं उपत्यकामा माघ पहिलो सातादेखि पुनः बर्डफ्लु देखिन थालेको छ । यो रोग गर्मी मौसममा धेरै देखापर्ने पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार माघ दोस्रो सातादेखि खुमलटार, तारकेश्वर, कीर्तिपुर र चाँगुनारायण क्षेत्रमा बर्डफ्लु देखिएको हो । यस क्षेत्रमा बर्डफ्लु नियन्त्रण गर्ने क्रममा पाँच हजार पाँच सय ३१ लेयर्स र ६ सय २१ लोकल कुखुरा तथा पाँच सय सातवटा हाँस नष्ट गरिएको छ । त्यस्तै, १० हजार दुई सय ४५ वटा अन्डा, सात सय किलो दाना र एक हजार थान अन्डा राख्ने क्रेट नष्ट गरिएको ढकालले जानकारी दिए ।

संसद्मा पीडित किसानको आवाज उठेपछि कृषि मन्त्रालयको ताकेता 
नेपाली कांग्रेसका सांसद गगन थापाले १८ माघको संसद् बैठकको शून्य समयमा बर्डफ्लुपीडित किसानको ५८ करोडभन्दा बढी राहत रकम एक वर्ष बितिसक्दा पनि नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ‘सयौँको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् ।

उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन् । तिनै किसानले बैंकबाट ऋण लिएर स–साना कुखुरा फार्महरू चलाएका थिए । बर्डफ्लुको जोखिम न्यूनीकरण गर्न सरकारकै निर्णयबाट नष्ट गरियो,’ उनले संसद्मा भनेका थिए, ‘नियमअनुसार किसानले पाउनुपर्ने क्षतिपूति ५८ करोड रुपैयाँ रहेको छ ।

सरकारले दिन्छु पनि भन्छ, दिन्न पनि भन्दैन । तर, दिँदैन, किनकि सरकारलाई भ्याइनभ्याइ छ ।’ सांसद थापाले संसद्को ध्यानाकर्षण गराएपछि यो विषय सार्वजनिक बहसमा आएको थियो । लगत्तै कृषि मन्त्रालयले पनि ताकेता गरेपछि बिहीबार दिउँसो अर्थ मन्त्रालयले राहत रकम उपलब्ध गराउने विषयमा निर्णय लिएको छ । अब आउँदो मन्त्रिपरिषद् बैठकले बर्डफ्लुपीडित किसानलाई राहत दिने विषयमा निर्णय गर्ने सम्भावना छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा राहतसम्बन्धी फाइल पेस गर्दै छौँ
प्रकाशकुमार सन्जेल, प्रवक्ता, कृषि तथा पशुपक्षी विकास मन्त्रालय
बर्डफ्लु किसानलाई तत्काल दिनुपर्ने राहतबराबरको रकम उपलब्ध गराउन पत्र आएको छ । मन्त्रीज्यूले सोमबार मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जानुहुन्छ । त्यसलगत्तै पाउनुपर्ने किसानले क्षतिअनुसारको रकम पाउनुहुन्छ ।  

सरकारको राहत कुरिरहेका छौँ
रघुनाथ खड्का, बर्डफ्लुपीडित किसान

सरकारले ढिलै भए पनि मन्त्रीस्तरीय निर्णय गरेर राहत उपलब्ध गराउने भन्ने कुरा सुनिएको छ । मैले चार करोड रुपैयाँ लगानीमा सुरु गरेको कालिजपालनमा ४५ सयको क्षति भएको थियो । करिब एक करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्नेछ । राहत नपाउँदा नुवाकोटका एक किसानकोे हृदयाघात नै हुन पुगेको अवस्था थियो । उहाँको २० हजार कुखुरा क्षति भएको थियो ।