१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केनान मलिक
२०७९ माघ १७ मंगलबार १०:०३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असमानताको समस्यामा विविधताको तुरुप

Read Time : > 2 मिनेट
केनान मलिक
२०७९ माघ १७ मंगलबार १०:०३:००

सन् १९७८ मा प्रधानमन्त्री भएको पाँच महिनापछि मार्गरेट थ्याचरले बेलायतमा आधारभूत गरिबी नरहेको बताएकी थिइन् । उनले गरिबीलाई व्यक्ति आयको व्यवस्थापनसँग जोडेकी थिइन् र गरिबी सामाजिक नभई ‘व्यक्तिगत’ कारणले भएको बताएकी थिइन् । यो अभिव्यक्तिको करिब १० वर्षपछि जब उनी आफ्नै पार्टीमा पछि परिन्, तब पनि उनले ‘गरिबी ठोस नभई व्यवहारगत समस्या’ भएकामा जोड दिइन् । यी अभिव्यक्तिबीचको दौरानमा थ्याचरले भारी करछुट र सेवा–सुविधा कटौती, उत्पादनमूलक क्षेत्र एवं ट्रेड युनियनलाई तहसनहस पार्ने नीति अख्तियार गरेकी थिइन् । यस क्रममा बेलायतमा अत्यधिक असमानता एवं गरिबी बढेको थियो । 

गरिबी ठोस नभई व्यावहारिक समस्या हो भन्ने कथन थ्याचरको मात्र होइन । गरिबीको जिम्मेवारी गरिब एवं सीमान्तकृतकै हो र गरिबी एवं असमानता राजनीतिक नभई नैतिक विषय हो भन्ने अवधारणाका पछाडि गम्भीर इतिहास मौजुद छ र यस अवधारणाले अहिलेको सार्वजनिक नीतिलाई समेत प्रभावित पारिरहेको छ । बेलायतमा भिक्टोरिया कालदेखि नै गरिबीका लागि गरिब व्यक्ति नै जिम्मेवार रहेको भाष्य प्रसारित हुँदै आएको छ । केही वर्षअघि कन्जरभेटिभ पार्टीले आफूलाई श्रमिक वर्गमैत्री जस्तो देखाएको थियो र यस क्रममा वर्गीय राजनीतिको भाष्य खुम्चिँदै गएको भान हुन्थ्यो । तर, अघिल्लो वर्षयता बढ्दो आन्दोलन एवं हड्ताल र कन्जरभेटिभ पार्टीप्रतिको विश्वसनीयता घट्दै जाँदा उल्लिखित गरिबीको भाष्य बलियो हुँदै छ ।

हाल दुई बेलायत अस्तित्वमा देखिन्छ । पहिलो, हामी अधिकांशले मान्ने बेलायत हो भने दोस्रो कन्जरभेटिभ पार्टीले परिकल्पना गरेको बेलायत । अर्थात्, त्यस्तो बेलायत, जहाँ गरिबीमा रहेका पाँच प्रतिशत बेलायती जनसंख्याको आम्दानी तीन दशमलव आठ प्रतिशतले घटेको छ र त्यहीँ अर्को बेलायत, जहाँ पाँच प्रतिशत धनाढ्य बेलायतीको आय एक दशमलव ६ प्रतिशतले बढेको छ ।

दोस्रो बेलायतमा पूर्वअर्थमन्त्री ‘लापरबाही’का कारण पूरा कर तिर्दैनन्। जबकि तिर्नुपर्ने बाँकी कर कुनै एक नर्सको जीवनभरिकै कमाइभन्दा बढी छ । पहिलो बेलायत यस्तो बेलायत हो, जो हिटर चलाउने ल्याकत राख्दैन र कठ्यांग्रिएर मर्छ । विडम्बना ! यही बेलायतमा एक पुरातनपन्थी थिंकट्यांकको ‘स्टेट डिपेन्डेन्सी’ नामक प्रतिवेदनले बेलायतका आधा जनसंख्याले ‘केही नगरीकन पनि केही पाउँछन्’ भन्ने निष्कर्ष निकाल्छ । र, प्रतिवेदनले धनीमाथि लगाइएको करलाई ‘चोरी’ भन्छ । प्रतिवेदनमा कन्जरभेटिभ पार्टीका सांसद ली एन्डरसन नर्सलाई कसरी आफ्नो आय व्यवस्थापन गर्ने भनेर प्रवचन दिन्छन् ।

बेलायतका १० प्रतिशत धनीले आधा कर तिर्ने भएकाले कन्जरभेटिभनिकट थिंकट्यांकले यस्तो प्रतिवेदन बनाएका होलान् । तर, भुल्न नहुने तथ्य के हो भने यिनै १० प्रतिशतले मुलुकको आधा सम्पत्तिको स्वामित्व राख्छन् । उदेकलाग्दो के छ भने प्रधानमन्त्रीकालमा एक लाख ६४ हजार ८० पाउन्ड तलबले खर्च धान्न नपुगेको भन्दै आठ लाख पाउन्ड ऋण मागेका एक पूर्वनेताको पार्टी (कन्जरभेटिभ) का सांसद ३० हजार पाउन्डको तलबलाई नै मिलाएर खर्च गर्न र जति तलब आयो, त्यसमै खुसी हुन नर्सलाई पाठ पढाउँछन् । 

श्रमिक वर्गका समस्यालाई विषयान्तर गरेर समस्याको समाधान अल्पसंख्यकतिर सार्दा मध्यमवर्गीय पेसेवरले राम्रा–राम्रा अवसर पाउने गर्छन्

थ्याचरको प्रधानमन्त्रीकालपछि जुन स्तरमा बेलायती समाज व्यक्तिवादी हुँदै गइरहेको छ, त्यही स्तरमा सामूहिक वर्गीय चेतना पनि स्खलित हुँदै गइरहेको छ । यसो हुनुका पछाडि गरिबीलाई नैतिक असफलताका रूपमा हेरिनु र समस्या संरचनागत असमानताबाट नभई व्यक्तिगत निर्णय उब्जेको हो भन्ने बुझाइ हाबी हुनु हो ।

गरिबीको बहसलाई व्यक्तिगत बनाएर विषयान्तर गरिएको छ भने असमानताको बहसलाई चलनचल्तीको ‘विविधता’मा लगेर विषयान्तर गरिन्छ । ‘तपाईं जब समानतामा वृद्धि गर भनेर माग राख्नुहुन्छ, उनीहरू तपाईंका अगाडि थप विविधता पस्कन्छन्’ अमेरिकी प्राज्ञ वाल्टर बेन मिचेल्स लेख्छन् । र, उनी ‘विविधतायुक्त कुलीनता जतिसुकै विवध भए पनि कुलीन नै हुन्छ’ भनेर थप्छन् । रिड र मिचेल्स नश्लभेद वा महिलाविरुद्ध हुने विभेदलाई अस्वीकार गर्दैनन्, तर दुवै सामाजिक असमानताको मामिलामा वर्गलाई नै केन्द्र बनाउन जोड दिन्छन् ।  

 विविधताका पछाडिको नैतिक सामथ्र्य नश्लीय अल्पसंख्यक, महिला, लैंगिक एवं यौनिक अल्पसंख्यकमाथि भएको ऐतिहासिक विभेद र अधिकार एवं शक्तिमा रहेको वञ्चितीकरणबाट निःसृत छ । यसकारण समानता बढाउन विविधतालाई अगाडि सारिन्छ, जहाँ बहिष्करणका पर्खाल भत्काउने प्रयास हुन्छ । तर, समानता र विविधता पर्यायवाची शब्द होइनन् ।

समावेशी हुँदा पनि समाज एवं संस्था असमान नै रहेको उदाहरण देख्न सकिन्छ । एडोल्फ रिड अहिले ‘नैतिक समाज’ बनाइएको छ, जहाँ ‘एक प्रतिशत जनसंख्याले ९० प्रतिशत स्रोतमा कब्जा जमाएको छ र यो एक प्रतिशतमा करिब १२ प्रतिशत अश्वेत छन्, १२ प्रतिशत ल्याटिन छन्, ५० प्रतिशत महिला छन् र अनुपातअनुसार लैंगिक एवं यौनिक अल्पसंख्यकको पनि हिस्सेदारी छ’ भन्दै कटाक्ष गर्छन् । 

अर्को भाषामा भन्ने हो भने विविधताले असमानता हटाउँदैन, बरु प्रक्रियालाई तथाकथित ‘न्यायिक’ बनाउँछ । विविधताको पैरवी गर्ने अधिकांशले असमानता मन पराउँदैनन् । तथापि ‘समानता’को ‘विविधता’मा हुने रूपान्तरणका क्रममा सबैभन्दा बढी सीमान्तकृतको उपेक्षा हुन्छ । श्रमिक वर्गका समस्यालाई विषयान्तर गरेर समस्याको समाधान अल्पसंख्यकतिर सार्दा मध्यम–वर्गीय पेसेवरले राम्रा अवसर पाउने गर्छन् । मिचेल्स केही गैरश्वेत धनी एवं शक्तिशाली हुनुलाई सबै गैरश्वेतको विजय मानिनु हुँदैन भन्ने राय व्यक्त गर्छन् । अहिलेका समयमा वर्गीय विभाजनले नछोएका मुद्दा बिरलै होलान् । समस्या गरिबीलाई नैतिकताको कसीमा हेर्नु र समानतालाई विविधता भनेर गलत अनुवाद गर्नुमा रहेको छ । 

(मलिक नश्ल, बहुलवाद, बहुसंस्कृतिका विषयमा कलम चलाउँछन्) द गार्डियनबाट