
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका १७ विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका छन् । सातवटा सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । सबैभन्दा धेरै विश्व निकेतन मावि र ज्ञानोदय माविबाट ६–६, जनकल्याण मावि, शिवपुरी मावि, कन्या मन्दिर मावि, रत्नराज्य मावि र गीतामाता माविबाट एक–एकजनाले जिपिए ४ ल्याएका हुन् ।
शिक्षा विभागका अनुसार ०८१ मा सञ्चालन भएको एसइईमा महानगरपालिकाका सहभागी ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ६६ विद्यार्थीले एसइई दिएका थिए । त्यसमध्ये जिपिए ४ ल्याउने संख्या १७ जना, जिपिए ३.६ देखि ४ ल्याउने संख्या ४७२ जना, ३.२ देखि ३.६० ल्याउने संख्या ११५० जना, जिपिए २.८ देखि ३.२० ल्याउने संख्या ८९३ जना, जिपिए २.४ देखि २.८० ल्याउने संख्या २६० जना, जिपिए २.१ देखि २.४० ल्याउने १६ जना र ननग्रेडेडको संख्या ९५८ रहेको छ ।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार महानगरअन्तर्गतका सामुदायिक विद्यालयको नतिजा हेर्दा माथिल्लो जिपिए ल्याउने संख्या केही बढ्दो देखिन्छ । तर, तल्लो जिपिए ल्याउने र अनुत्तीर्ण हुने संख्या बढ्दो छ । गत वर्ष एसइईमा नौजनाले जिपिए ४ ल्याएकोमा यो संख्या बढेर हाल १७ जनाले जिपिए ४ ल्याएका छन् ।
तर तल्लो जिपिए र नन्ग्रेडेड संख्या भने बढेको छ । गत वर्षसँग तुलना गर्दा हाल ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी ४४.७६ प्रतिशतले वृद्धि भएको शिक्षा विभागले जनाएको छ । महानगरका अनुसार ०७८ मा ३२५ जनाले ३.६१ देखि ४ जिपिए ल्याएकोमा ०७९ मा ४८८ जना थिए । त्यस्तै, ०८० मा १०५० जनाले ३.६१ देखि ४ जिपिएका थिए भने ०८१ मा भएको एसइई परीक्षामा सामेलमध्ये एक हजार १४८ जनाले ३.६१ देखि ४ जिपिए ल्याएका छन् ।
ननग्रेडेडको संख्या अझै उच्च भएपछि महानगरपालिकाले शिक्षा सुधारमा गरेको ठुलो लगानीअनुसार सन्तोषजनक परिणाम दिन भने सकेन । ठुलो संख्यामा ननग्रेडेड भएपछि महानगरको सिकाइ सुधारमा गरिएको प्रत्यत्नमाथि समेत प्रश्न उठेको छ । महानगरले गत वर्षभन्दा यसपटक शिक्षा सुधारका काम धेरै गरेको दाबी गर्दै आइरहेको छ । गत वर्ष ८७३ जनाले एनजी ल्याएका थिए । तर यो वर्ष एनजी ल्याउनेको संख्या बढेको छ ।
महानगरपालिकाले पछिल्लो तीन वर्षयता शिक्षा सुधारका लागि विभिन्न सिकाइमूलक कार्यक्रम गर्दै आएको छ । तर, महानगरले सिकाएको व्यावहारिक सीप तथा ज्ञानको क्षमता भने परीक्षा नजोडिने भएकाले सिकाइको सबै उपलब्धि नतिजामा मात्रै नदेखिएको शिक्षा विभागको दाबी छ ।
पूरकलक्षित तयारी कक्षा हुने
ठुलो संख्यामा ननग्रेडेड भएपछि काठमाडौं महानगरपालिकाले पूरक परीक्षाको तयारीसमेत गरेको छ । जुन स्कुलमा विद्यार्थीले पढिरहेको हो, त्यही विद्यालयमै पूरक परीक्षाको तयारी हुनेछ । अन्य कक्षाको पठनपाठनसमेत भइरहेकाले पूरकलक्षित कक्षा बिहान र बेलुकीको समयमा गर्ने योजना महानगरको छ । एक सातापछि पूरक परीक्षाका लागि तयारी कक्षा सञ्चालन हुनेछ । त्यसका लागि महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई पत्र पठाउने तयारीसमेत गरेको छ । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ठुलो संख्यालाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । कक्षा ११ मा छात्रवृत्तिका लागि २७ असारसम्म अनलाइन फारम भर्न महानगरले सूचना जारी गरेको छ । कक्षा ११ मा सबै संकायमा महानगरले छात्रवृत्ति प्रदान गर्छ । छात्रवृत्तिका लागि लिने परीक्षामा कक्षा १० कै पाठ्यक्रमअनुसार परीक्षा लिइनेछ । महानगरपालिका शिक्षा विभागका अनुसार झन्डै तीन हजारलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
संस्थागत (निजी) विद्यालयले दिने १० प्रतिशत छात्रवृत्तिलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालय पढ्ने, काठमाडौं महानगर बासिन्दा र ल्यान्डफिल्ड साइट (नुवाकोट र धादिङ)का विद्यार्थीलाई गरेर ६० प्रतिशत छुट्याइएको छ । संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढ्ने ५ प्रतिशत, ल्यान्डफिल्ड साइटका १ प्रतिशत, सामुदायिक विद्यालय पढ्ने ४० प्रतिशत विद्यार्थी र काठमाडौँ महानगरभित्रका बासिन्दा १४ प्रतिशत गरी ६० प्रतिशत विद्यार्थीको सिटलाई विभाजन गरिएको छ । त्यसपछि बाँकी रहेको ४० प्रतिशत सिटलाई पनि शतप्रतिशत मानेर समावेशी रूपमा वर्गीकरण तथा आरक्षण गरिएको छ । जसमा सामुदायिक विद्यालयका विद्यार्थीको हकमा लागू हुने गरी छात्रा ३३ प्रतिशत, आदिवासी जनजाति १५, मधेशी १२, खसआर्य १७, दलित ९ प्रतिशत, थारू ४ प्रतिशत, मुस्लिम तथा अपांगता भएका व्यक्तिलाई २–२ प्रतिशत, पिछडिएका क्षेत्रका विद्यार्थीलाई ४ प्रतिशत र द्वन्द्वपीडित परिवारका २ प्रतिशत विद्यार्थीलाई सिटको व्यवस्था गरिएको छ ।
यस समाचारमा काठमाडौं महानगरपालिकाका एक कर्मचारीको नाम असावधानीबश पर्न गएकोमा हटाइएको छ–सम्पादक