
दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत दाङ तुलसीपुरको पातुखोला पुल जीर्ण हुन थालेपछि श्रमदान गरेर तटबन्ध गरिएको छ । शनिबार माओवादी केन्द्र तुलसीपुरले श्रमदान गरेर तटबन्ध निर्माण गरेको हो । जहाँ तटबन्ध नहुँदा पुल मुनीको भाग गहिरिएर गएको छ ।
जसले गर्दा पुल जीर्ण अबस्थामा रहेपछि श्रमदान गरेर तटबन्धको काम गरिएको माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन थापाले बताए । यो पुल पश्चिम दाङ जोड्ने महत्वपूर्ण पुल हो, तर बर्षेनी यहाँको भाग कटान हुँदै गएको छ,उनले भने यसरी कटान हुँदा पुल जीर्ण बन्दै गएको छ ।
जलस्रोत तथा सिंचाई डिजिजन कार्यालय तुलसीपुरले ७ वटा जाली दिएपछि श्रमदान गरेर तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माणकालागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म श्रमदान गरिएको हो । हरेक सामाजिक कार्यमा माओवादीले सहभागीता जनाउने भन्दै यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।
पछिल्लो समय पातुखोला पुल जीर्ण बन्दै गएको छ । त्यो पुल संरक्षणकालागि पहल थाल्न स्थानीयले दवाव दिने गरेका छन् । पटक–पटक सम्बन्धित निकायलाई झकझक्याएपनि यो पुलका बारेमा चासो नदिएको तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए ।