१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
करुणा थापा करुणा थापा
२०७९ माघ १४ शनिबार २१:०२:००
Read Time : > 6 मिनेट
ब्लग डिजिटल संस्करण

लैंगिक भूमिकाले जन्माएको प्रेमको आत्मदाह

Read Time : > 6 मिनेट
करुणा थापा करुणा थापा
२०७९ माघ १४ शनिबार २१:०२:००

पितृसत्ताले महिलालाई मात्र होइन पुरुषलाई पनि पीडित बनाएको छ भन्ने सत्यको ज्वलन्त उदाहरण हो प्रेमको आत्मदाह

कहिलेकाहीँ समाजमा यस्तो घटना हुन्छ, जसले मुटु काप्छ । नसोचेको कदमहरू मानिसहरूबाट चालिन्छ । जसको परिणाम दुःखद मात्र होइन अकल्पनीय हुन्छ अनि मन आत्तिन्छ, हामी कहाँ छौँ, कुन समाजमा छौँ र किन छौँ। हजारौँ प्रश्नहरू एकैपटक आउँछन् तर उत्तर हुँदैन । यस्तै, दुःखद घटना भर्खरै भयो प्रेम आचार्यको आत्मदाह । नसोचेको घटना, त्यो पनि काठमाडौंको मुटुमा । सम्साँझै मानिसहरू हिँडिरहेको वेला, मानिसहरू हाँसिरहेको वेला, बजार चम्किरहेको वेला कुनै देह जल्यो अनि उब्जायो हजारौँं प्रश्नहरू । 

देह जल्यो, आत्माले शान्ति पायो या पाएन खोइ कुन्नि । धुवाँ बनेर उडेकाहरू ‘मैले शान्ति पाएँ’ भनेर फर्किएर सूचना दिन कोही आएका छैनन् । दिन्छन् त केवल जमिनमा रहेकाहरूलाई मनमा अशान्ति र बेचैनी । जब प्रेमले आत्मदाह गरे सबैलाई समाचार बन्न मन लाग्यो । तत्कालीन गृहमन्त्रीले दोषी आफैँलाई माने, वक्तव्य दिए, समाचार बने । स्वास्थ्य राज्यमन्त्रीलगायतले वक्तव्य दिएका समाचार बने । राज्य सञ्चालनमा बसेका मन्त्री हुन् वा माननीय सबैले राज्यको बेथितिमाथि प्रश्न गरे, समाचार बने । 

अधिकांश नाम चलेका व्यक्तित्व हुन् वा सर्वसाधारण सबैले सामाजिक सञ्जालमा आ-आफ्ना धारणा राख्दै श्रद्धाञ्जली व्यक्त गरे । अधिकांशले यस घटनालाई देशको अराजकता, बेथितिको शासन, भ्रष्टाचार र देशमा केही गर्न नसकिने उदाहरणको रूपमा लिए । यही बुझाइअनुरूप सरकारलाई दबाब दिन माइतीघर मण्डलामा घटनाको भोलिपल्ट सांकेतिक विरोध गरियो । राज्यले यस प्रकारको घटना रोक्न तत्काल उपाय निकाल्यो, जर्किन र बोतलमा पेट्रोलको बिक्री वितरण बन्द गर्ने । साथै, एउटा छानबिन समिति पनि गठन गर्यो । प्रेमले उठाएका प्रश्नहरूको छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने । 

सबैको बुझाइमा यस घटनाको मुख्य कारण (सारांशमा) एउटै थियो, देशको सिस्टमले प्रेमलाई मार्यो । ‘गरिखान्छु’ भन्ने एउटा जनतालाई मार्यो । परिवार र व्यक्तिको सपनालाई मार्यो । हिम्मत र जोसलाई मार्यो । कतिले त नेपाली नागरिक हुनुमा नै हिनताबोध गरे । सोझो भएर यो देशमा बाँच्न सकिँदैन, चाकडी चाप्लुसी र घुस दिए मात्र बाँच्न सकिन्छ भन्ने तर्क निकालियो । सीमित हुनेखानेहरूको निम्ति मात्र यो देश हो भन्ने बुझाइ बनाइयो र यही बुझाइअन्तर्गत सामाजिक सञ्जालमा पोस्टहरू पोस्ट्याइयो । तर, के यही हो त कारण? यस घटनाको जरा कारण देशको बेथिति नै हो र ? देशमा गरिखाने बाटो सहज र सरल भयो भने देशमा आत्मदाहका घटनाहरू के दोहोरिँदैनन् र ? विश्वास र ग्यारेन्टी के छ दोहोरिँदैन भन्ने ? प्रेमले लेखेको पत्रमा भनिएको छ, 'छोरीहरू ठूलो भएपछि भन्नु मेरो आत्मदाह आन्दोलनको एउटा रूप हो ।' प्रेमले गर्न खोजेको आन्दोलन कुन व्यवस्थाविरुद्धको हो? हो, प्रेमले गलत बाटो अपनाए । डा. सुरेन्द्र केसीले भनेजस्तै उनको कदमका निम्ति संवेदना त होला तर यो कायरता हो । यसरी कायर हुने हो भने देशमा हजारौँले आत्मदाह गर्नुपर्छ । धेरैले आत्महत्याको बाटो अपनाउँछन्, यो तितो सत्य हो । तर, यही तितो सत्यसँगै मेरो मनमा एउटै प्रश्न उब्जिएको छ – 'यो निरीहता केका लागि ? कुन व्यवस्थाले जन्मायो, आत्मदाह र आत्महत्या गर्नुपर्ने अवस्था ?'

मलाई सम्झना आयो योगमायाको जसले आफ्ना अनुयायीहरूसहित आत्मदाह गरेकी थिइन् । उनले गरेको आत्मदाहले उठाएको प्रश्न भनेको महिलाहरूमाथिको विभेद अन्त्य थियो। विभिन्न बहानामा महिलामाथि भएका हानिकारक सामाजिक नियम र मान्यताका विरुद्ध उनले आवाज उठाउने क्रममा आत्मदाह गरेकी थिइन । भोजपुरमा जन्मिएकी योगमायाले आफ्ना ६८ जना अनुयायीहरू लिएर सन् १९४१ मा अरुण नदीमा जल समाधि लिनुको मुख्य कारण थियो, महिलाको हक अधिकारलाई सुनिश्चित गर्नु । सतीप्रथाको नाममा भएका महिलामाथिका हिंसा रोक्नु। त्यसैले जसरी योगमायाले हाम्रो समाजमा भएका हानिकारक सामाजिक मान्यताका विरुद्धमा आत्मदाह गरिन्, त्यसैगरी प्रेमले पनि आत्मदाह गरेका हुन् भन्ने मलाई लाग्छ । उनको आत्मदाह हानिकारक सामाजिक व्यवस्थाविरुद्धको हो भन्दा फरक नपर्ला । 

हाम्रो समाजले पुरुषमाथि थोपरेका सामाजिक जिम्मेवारी बिसाउने ठाउँ कतै नपाउँदा उनले देह त्याग गरे । होला, राज्य व्यवस्था फितलो छ । व्यवस्थापिकाले बनाएको कानुनको व्याख्या गर्दै न्यायपालिकाले न्याय दिने प्रयास गरेको छ तर कार्यपालिकाको फितलो कार्यान्वयन शक्तिले गर्दा देशपछाडि धकेलिरहेको छ, यसमा दुईमत छैन । तर, के कार्यपालिकाको फितलो कार्यक्षमताले मात्र प्रेमलाई आत्मदाहतर्फ डोर्याएको हो र ? मलाई त लाग्दैन मूल कारण यही हो । 

जबसम्म आर्थिक भार परिपूर्ति गर्ने जिम्मेवारी पुरुषको टाउकोमा मात्र रहन्छ, प्रेमजस्ता हजारौँ पुरुषले आत्मदाह गर्ने दिन नआउला भन्न सकिँदैन ।

बाहिर,  माटोबाहिर देखिएका कारणहरू हुन् सक्छन् यी, तर माटोभित्र नदेखिएको जरा कारण भनेको हाम्रो पित्तृसतात्मक समाजले पुरुषहरूलाई बोकाएको आर्थिक जिम्मेवारीको भारी हो । जुन भारी पुरुष एक्लैलाई बोक्न लगाइएको छ । पुरुषहरूलाई आदर्श पुरुषको रूपमा हुर्काइएको छ, जसले गर्दा उनीहरू खुलेर रुन सक्दैनन् । घर, समाजको आर्थिक सामाजिक दायित्व उनीहरू एक्लैले उठाइरहेका छन् । त्यो हो मूलकारण जसले प्रेमलाई आत्मदाहतर्फ डोर्यायो । पितृसत्ताले महिलालाई मात्र होइन पुरुषलाई पनि पीडित बनाएको छ भन्ने सत्यको ज्वलन्त उदाहरण हो प्रेमको आत्मदाह । जुन हामीले सोच्नै सकेका छैनौँ । नदेखिएको जराभित्रको कारण, माटो मुनिको कारण जुन हामीले देख्नै सकिरहेका छैनौँ । 

हाम्रो सामाजिक संरचना पितृसत्तात्मक छ । जति नै आधुनिकताको कुरा गरेता पनि व्यावहारिक पक्ष फरक छ । पुस नलाग्दै स्वस्थानीको व्रत तैयारी गर्ने नेपाली समाजमा पढेलेखेका र बुझेका भनिएका महिला पुरुष नै पितृसत्तालाई बोकेर हिँडिरहेका छन् । कथित फेसनको नाममा श्रीमानको खुट्टाको जल खाएको फोटो पोस्ट्यान पछाडि नपर्ने हाम्रो समाजमा महिला र पुरुषको लागि यो–यो काम गर्ने भनेर काम बाँडिएको छ । महिला र पुरुषका भूमिकाहरू यस्ता यस्ता छन् भनेर एउटा जिम्मेवारीका पहाडहरू बनाइएको छ जसमा महिला भएर जन्मिएमा यस्तो काम गर्ने र पुरुष भएर जन्मिएमा यस्तो काम गर्ने भनी एउटा आमबुझाइ छ र त्यो आमबुझाइलाई सबैको घरबाट अर्थात् हरेक व्यक्तिबाट अदृश्य सहमति प्रदान गरिएको छ । जसमा अडिएर हाम्रो समाजमा निरन्तर चलिरहेको छ । 

महिलाहरू कोमल हुन्छन्, रुन्चे हुन्छन्, डरपोक हुन्छन् भन्ने छवि बनाइएको छ । महिलाहरू घरको लक्ष्मी हुन्, सरस्वती हुन्, भएजति सबै देवीको उपनाम दिइएको छ । बिस्तारै हिँड्नुपर्छ, बिस्तारै बोल्नुपर्छ, शरीर छोपिने कपडामा शालीन देखिन्छन्, छोरी मान्छेमा लाज हुनुपर्छ, घरलाई घरजस्तो बनाएर महिलाले राख्नुपर्छ, घरभित्रको सबै काम महिलाको भनेर भूमिका दिइएको छ । त्यसैगरी, पुरुषलाई सबैको अगाडि रुनुहुँदैन भनेर सिकाइएको छ । बलवान पुरुष, घरबाहिरको काम गर्ने पुरुष, निडर पुरुष भनेर चित्रण गरिएको छ । रोयो भने कायर भइन्छ । घरभित्रको काम गरे जोइटिंग्रे भइन्छ । पुरुषले त बाहिर कमाउनुपर्छ । छोराछोरी श्रीमतीलाई राम्रो खान लाउन दिनुपर्छ । समाजले देखाएको सर्वश्रेष्ठ जीवनस्तर दिनुपर्छ । मर्दको छोरालाई ऋण लाग्छ, ऋण लागे के भो दिन नलागोस् भनेर हुर्काइएको छ। १६ वर्षकी छोरी हुँदा कहाँ बिहे गरिदिने भनेर सोच्न थालिन्छ, तर १६ वर्षको छोरा हुँदा कुन देशमा पठाउने, के काम गरे पैसा आउँछ भनेर सोच्न थालिन्छ । ‘१६ वर्षको भइसकिस् अब त कमाएर बाउको बोझ हल्का गर’ भनिन्छ । 

बाउ अर्थात् एउटा पुरुषको काँधमा भएको आर्थिक भारको जिम्मेवारी अर्को पुरुष अर्थात् छोरामा सार्न हतार हुन्छ समाजलाई । छोराले के गर्छ, कति कमाउँछ भन्ने प्रश्नको उत्तर दिन हतार छ परिवारलाई । यत्तिकै त नेपालका गाउँहरू रित्तिएका छैनन् । परिवारको आर्थिक भार उठाउन पुरुषहरू यत्तिकै परदेशिएका त छैनन् । हाम्रो वरिपरि अझ विशेष गरी गाउँघरतिर किन महिला मात्र भेटिन्छन् ? पुरुषहरू किन छैनन् आफ्ना परिवारसँग ? यदि घरको आर्थिक भार महिला र पुरुष दुवैले उठाएको भए, उठाउन हाम्रो समाज र परिवारले सिकाएको भए किन पुरुष मात्र विदेसिएका ? अनुत्तरित प्रश्न हो यो । 

केही दिनअगाडि मात्र मैले सामाजिक सञ्जालमा एउटा तस्बिर भेटेको थिएँ । जसमा ‘आमाको माया देखिन्छ बाबुको जिम्मेवारी देखिँदैन’ भन्दै आमाको काखमा बच्चा बसेको तर आमा र बच्चा दुवै बाबुको टाउकोमा बसेको तस्बिर भेटेको थिए । त्यो तस्बिर देख्दा मलाई लागेको थियो बाबु र आमा दुवैको काखमा बच्चा र दुवैको टाउकोमा घर र समाजको जिम्मेवारीको भारी भएको भए के फरक पर्थ्यो र ? तर, तस्विरमा त्यस्तो थिएन । महिला र बच्चालाई टाउकोमाथि राख्नुअर्थात् घर चलाउने जिम्मेवारी बाबुको हो भन्न खोजिएको थियो तस्बिरमा । बाबुको मात्र टाउको दुःखाइ थियो घरको आर्थिक जिम्मेवारी । त्यसैले जबसम्म आर्थिक भार परिपूर्ति गर्ने जिम्मेवारी पुरुषको टाउकोमा मात्र रहन्छ, प्रेमजस्ता हजारौँ पुरुषले आत्मदाह गर्ने दिन नआउला भन्न सकिँदैन । 

किन बाढ्छौँ, हामी महिला र पुरुषको भूमिका ? 
घरभित्रको काममा महिला पिल्सिएको पिल्सियै, घरबाहिरको काम र आर्थिक भारले पुरुष पिल्सिएको पिल्सियै। जबसम्म छोरीलाई ‘घरको आर्थिक भार तिम्रो पनि हो है भनिँदैन, जबसम्म पुरुषलाई घरभित्रको कामको जिम्मेवारी तिम्रो पनि हो’ भनेर सिकाइँदैन बुझाइँदैन तबसम्म यस्ता घटनाहरू घटिरहन्छन् ।

मेरो एक पुरुष मित्र जहिले पनि एउटै गुनासो गर्नुहुन्छ, ‘तपाईंहरू महिलाका सवाल मात्र उठाउनुहुन्छ । कहिलेकाहीँ पुरुषको सवाल पनि उठाउनु न, हामीले कहाँ गएर भन्ने हाम्रो पीडा । महिलाको कुरा सबैले सुन्छन् हाम्रो पीडा कसैले देख्दैनन् ।’ त्यसै त बोलिएका होइनन् यी शब्दहरू । हो, तुलनात्मक रूपमा महिलाहरू पीडित छन् । मायाले एक थप्पड लगाएको भन्दै महिलामाथि विभिन्न बहानामा विभेद र हिंसाहरू भएका छन् । तर, पुरुषका व्यथाहरू पनि आफ्नै छन् । त्यसैले हामीले न्यायिक आँखाले हेर्न जरुरी छ । प्रेमको आत्मदाह राज्यको कमजोरी होला, दुईमत छैन । तर, प्रेमको आत्मदाह हाम्रो पितृसतात्मक समाजको उपज पनि हो भन्ने कुरा बिर्सन हुँदैन । पुरुषमाथि समाजले दिएको आर्थिक दबाब हो, लैगिक भूमिका बाँडफाँड गर्दा देखिएको असर हो । त्यसैले यस आत्मदाहलाई राज्यको कमजोरी मात्र नभई पितृसतात्मक सामाजिक व्यवस्थाको असर हो भनेर सोच्न पनि जरुरी छ।


विश्वको तथ्यांकमा हर्ने हो भने वयस्क उमेरमा आत्महत्या गर्ने पुरुषको संख्या महिलाको तुलनामा ४ गुणा बढी छ । किन ? हर्ट अट्याकको संख्या हेर्ने हो भने महिलाभन्दा पुरुषको संख्या बढी छ किन ? किनकि पुरुषहरूमा आर्थिक भारको जिम्मेवारी बढी छ । उनीहरूसँग रुने ठाउँ छैन । रोऊँ त समाजले कायर भन्छ नामर्द भन्छ नरोऊँ त समाजले दिएको आर्थिक भार, परिवार पाल्ने र सामाजिक स्तरीय कायम राख्ने जिम्मेवारी पुरुषको काँधमा छ कसरी थेग्ने एक्लै यो वास्तविकतालाई ? अनि आत्महत्या नगरेर भयो, हर्ट अट्याक नभएर भयो ? 

कहिले बुझ्ने हामीले हाम्रो पितृसतात्मक समाजले बाँढेको महिला र पुरुषको भूमिकालाई ? सामाजिक संरचनाले बनाएको महिला र पुरुषको भूमिका जसलाई हामी ‘लैंगिक भूमिका’ भन्दछौँ, त्यो भूमिकाले महिला र पुरुषबीच कति ठूलो ग्याप सिर्जना गरेको छ भन्ने कुरा कहिले बुझ्ने हामीले ? भर्खरै मात्र प्रकाशित भएको विश्वव्यापी जेन्डर ग्याप एनालाइसिस २०२२ (Gender Gap analysis 2022) को रिपोर्टले विश्वबाट महिला र पुरुषबीचको ग्याप हट्न अझै १३२ वर्ष लाग्ने प्रक्षेपण गरेको छ र यो अत्यन्तै महत्वपूर्ण प्रक्षेपण हो । यसतर्फ पनि हामी हरेक घर, हरेक व्यक्ति हरेक समाजले सोच्न आवश्यक छ । जबसम्म यो ग्याप हट्दैन तबसम्म मलाई लाग्छ यस्ता आत्मदाहहरू सयौँ वर्षसम्म दोहोरिरहन्छन्.... दोहोरिरहन्छन् ।