१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
करुणा थापा काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १५:३२:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

महिला दिवस र व्यावहारिक जीवन

Read Time : > 3 मिनेट
करुणा थापा काठमाडौं
२०७७ फाल्गुण २४ सोमबार १५:३२:००

आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । सबैतिर महिला दिवसको शुभकामना आदानप्रदान भइरहेका छन् । विभिन्न संघसंस्थाले विशेष रूपमा कार्यक्रमहरू गरेका छन् । भ्याइनभ्याई शान्तिपूर्ण जुलुसहरू निकालिएका छन् । यो वर्ष पर्पल रंगलाई महिला दिवसको निम्ति प्रयोग गरिएको छ । आफ्नै स्लोगन, आफ्नै रंगसहितको पहिचानका साथ महिला दिवस मनाइँदै छ । अझ सरकारले पनि सार्वजनिक बिदा नै तोकिदिएको छ । 

करुणा थापा
करुणा थापा

सबैतिर महिला दिवस मनाइरहँदा मेरो सम्झनामा तीनवटा घटनाले ढकढक्याइरहेको छ । 

पहिलो, म केही घरायसी सामान किन्न नजिकैको डिपार्टमेन्ट स्टोरमा गएकी थिएँ । पसलमा पसलेदाइ र उहाँको छोरा हुनुहुन्थ्यो । म सामान किन्दै थिएँ, व्यक्तिगत चारपांग्रे साधनमा आउनुभएको एक जोडी त्यो डिपार्टमेन्ट स्टोरमा प्रवेश गर्नुभयो । अधबैँसे उमेरका उहाँहरूले पसलेदाइसँग गर्नुभएको कुराकानी आधारमा उहाँहरू पसलेदाइको नजिककै आफन्तजस्तो लाग्यो । पसलेदाइले आफ्नो लक्का जवान छोरालाई परिचय गराउँदै ‘ऊ मेरो छोरा’ भन्नुभयो । उहाँहरूले थप्नुभयो, ‘ओहो यत्रो ठूलो भइसकेछ । कस्तो राम्रो भएको, राम्री लक्षिणकी बुहारी खोज्नुपर्छ है ।’ उहाँहरूले एक–अर्कासँग गर्नुभएको संवादमा मेरो धेरै ध्यान त गएन । तर ‘राम्री र लक्षिणकी बुहारी’ भन्ने शब्दमा टक्क मेरो ध्यानाकर्षण भयो र मेरो मनमा लाग्यो यो ‘राम्री र लक्षिणकी बुहारी’ भनेकोचाहिँ के होला ? बुहारी छनोट प्रक्रियामा अत्यधिक रूपमा प्रयोग गरिने र विशेष ध्यान दिइने ‘राम्री र लक्षिण’ शब्दको आधार (धरातल) र संकेत के होला ? पसलबाट मैले सामान त लिएँ, सामान सँगसँगै थुप्रै प्रश्न लिँदै निस्किएँ । 

विवाह, महिला पुरुष दुवैको निम्ति उत्तिकै महत्वपूर्ण हुन्छ । विवाहको दिन कुनै पनि महिला होस् वा पुरुष, भविष्यमा म पुनः अर्को विवाह गर्छु या यो विवाहलाई तोड्छु भन्ने सोच लिएर विवाहको मण्डपमा बसेको हुँदैन । एकजनाको सहकार्यबाट मात्र अगाडि नबढ्ने यो वैवाहिक प्रक्रियामा यदि कहीँकतै वैवाहिक जीवन विफल हुन गयो भने प्रथमतः महिला नराम्रो बन्न पुग्छिन् । साथै विवाह भएको केही समयभित्रै घरमा कुनै अप्रिय घटना भयो भने महिलाले स्वतः प्राप्त गर्ने ट्याग हो ‘अलक्षिण .... ।’ 

मैले यसो सोच्दै गर्दा हाम्रो समाजमा महिलापीडित पुरुष हुनुहुन्न भन्ने होइन । हाम्रो समाजमा महिलाबाट पीडित हुनुभएका पुरुषहरू पनि हुनुहुन्छ । पुरुषहरूले आफू्ले सक्दो प्रयास गर्दागर्दै पनि महिलाकै कारण वैवाहिक जीवनलाई टुटाएका घटना पनि धेरै छन्, तर समग्रमा हेर्दा, सोच्दा र व्यवहारमा खोज्दा अधिकांशः महिलालाई लक्षिण र अलक्षिणसँग जोड्ने गरिन्छ । राम्रो र नराम्रो भन्ने गरिन्छ । 

दोस्रो, पहिलो घटनाको केही दिनपछि म एउटा कामको लागि उपत्यका बाहिर गएको थिए । उपत्यका बाहिरको त्यो छलफलमा मैले समुदायका व्यक्तिहरुसँग र विद्यालयसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्ने अवसर प्राप्त गरेको थिए । मेरो छलफलको विषय थियो, विश्वलाई हल्लाएको कोरोनाले नेपालमा पारेको असर, बालिकाहरुको दैनिक जीवन एवं शिक्षामा पारेको प्रभाव र आर्थिक असर । 

छलफल छुट्टाछुट्टै समूहहरुसँग गरिएको थियो । छलफल गर्ने क्रममा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरिएको थियो । तर, दुर्भाग्य ! छलफल गर्दै जाँदा प्राप्त सूचनाले मलाई भित्रैबाट हल्लायो । सूचना थियो, कोरोनाले पारेको प्रभाव र आर्थिक भारलाई कम गर्न अपनाइएको रणनीति । जब कोरोनाले घरको आर्थिक भार बढायो, घरपरिवारमा बढेको आर्थिक भार घटाउने उत्तम उपाय भनेको १५÷१६ वर्ष पुगेको किशोरीलाई विवाह गरि पठाउने । 

नेपालमा एसईई शुरु हुने बेला लकडाउन गरिएको थियो । लकडाउनका कारण एसईईको परिक्षा रोकिएको थियो र सबै विद्यार्थीलाई आन्तरिक मूल्यांकनको आधारमा एसईई उत्तिर्ण गराइएको थियो । 

कोरोनाले चारैतिर आर्थिकमा प्रभाव पारेको थियो । तर, आर्थिक प्रभावलाई समाधान गर्ने उपायको रुपमा छोरीको विवाह गरिदिने रणनीतिले बालविवाहलाई प्रोत्साहन त ग¥यो नै, साथै असहज परिस्थितिमा महिलाको अधिकार गौण बन्ने सूचनाले मलाई पनि हल्लायो ।

यही सूचनासँग मिल्दो समाचार महिला दिवसकै दिन (आज नै) एउटा अनलाइनमा पनि प्रकाशन भएको छ । चरम भोकमरी र कुपोषणबाट जुधिरहेको बाजुराको खापर गाउँपालिका– १ मुक्तिकोटमा २० वर्ष पुगेका अविवाहित किशोरी नभेट्निु । अर्थात् जब आर्थिक भार पर्छ, छोरीलाई बोझ मानेर जतिसक्दो छिटो पन्छाउन खोजिन्छ । 

तेस्रो, आज बिहानै मलाई एकजना आफन्तले फोन गर्दै महिला दिवसको शुभकामना दिनुभयो । मैले पनि धन्यवाद भन्दै सन्चो–बिसन्चो सोधँेँ। के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘आज त महिला दिवस, घरको महिलालाई छुट्टी दिएर आफैँ भान्सामा लागिपरेको छु ।’ उहाँको निम्ति यो उत्तर सामान्य थियो होला, तर मलाई चस्स छोयो । महिला दिवस परेको कारण घरको काम पुरुषले गर्दै हुनुहुन्थ्यो । 

यी तीनवटा घटना मैले यही हप्ता दश दिनभित्र देखेका प्रतिनिधि घटना हुन् । यस्तो घटना हाम्रो घर–समाजमा हरेक दिन, हरेक पल भइरहेका छन् । हामी महिला–पुरुष समानताको निम्ति आवाज उठाइरहेका छौँ, अझ विशेष दिनको रूपमा महिला दिवस मनाइरहेका छौँ । र, ‘शिक्षित’ भनिने सर्कलमा सुनिने पनि गरेको छ, ‘हाम्रो घरमा महिला दिवस होइन, पुरुष दिवस मनाउनुपर्ने समय आइसक्यो । हामीले त हाम्रो घरका महिलालाई पूर्ण स्वतन्त्रता दिएका छौँ ।’ 

नेपालको संविधानमा स्वतन्त्रताको अधिकारलाई मौलिक अधिकारअन्तर्गत राखिएको छ । सम्पूर्ण व्यक्तिले आफ्नो स्वतन्त्रताको अधिकारलाई निर्वाध रूपमा प्रयोग गर्न सक्छ भनेर सुनिश्चित गरिएको छ, तर पनि फेरि ‘दिएका छौँ र लिएका छौँ’ कसरी भयो ? सुगम होस् वा दुर्गम जहाँसुकै महिलालाई कहिलेसम्म ‘दिनुपर्ने’ अवस्थामा राख्ने ? हाम्रो दैनिक व्यावहारिक जीवनमा देखिने यथार्थ हो यो । अनि मलाई आफैँसँग, हामीले गरेको क्रियाकलाप, अधिकारको निम्ति गरिने एकदिने कार्यक्रमहरूसँग सोध्न मन लाग्छ– के एक दिनको महिला दिवसले यो असमानतालाई समानताको धारमा ल्याउन सक्छ त ? के हामीले मनाइरहेको महिला दिवस, छनोट गरिएको रंग र स्लोगनले आर्थिक भार कम गर्न छोरी अन्माएर पठाउने प्रचलनलाई रोक्न सक्छ त ? के ‘लक्षिण र अलक्षिण’को ट्यागबाट महिलाले मुक्ति पाउन सक्छन् त ?