
लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । पाल्पा २ (२)बाट निर्वाचित माओवादी केन्द्रका घर्ती निर्विरोध प्रदेश सभामुख भएका हुन् । मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी केन्द्रलाई परेको थियो ।
त्यस्तै, उपसभामुखमा पनि सत्तागठन्धनकै उम्मेदवार राप्रपाकी मेनुका केसी खाण निर्विरोध भएकी छिन् । गुल्मीनिवासी खाण समानुपातिक सांसद हुन् । उपसभामुखमा तीनजनाको उम्मेदवार परेपछि कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी फिर्ता लिएका थिए ।
सोमबार नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारूले मनोनयन दर्ता गराएका थिए । उनीहरूले उम्मेदवारी फिर्ता लिएपछि मंगलबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा सभाध्यक्ष डिल्लीराज भुसालले सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।