Skip This
टेस्ला कसरी १२ खर्ब डलरबाट साढे तीन खर्ब डलरमा ओर्लियो ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o९:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

टेस्ला कसरी १२ खर्ब डलरबाट साढे तीन खर्ब डलरमा ओर्लियो ?

बजारको भरोसा गुमाउँदा टेस्लाले एक वर्षमै ७१ प्रतिशतभन्दा धेरै मूल्य गुमाएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:३३:oo

टेस्लाको बजार पुँजीकरणले सन् २०२० को ग्रीष्ममा विश्वको सबैभन्दा मूल्यवान् कार कम्पनी टोयोटालाई उछिन्यो । इलेक्ट्रिक–भेइकल (इभी)मा अग्रणी टेस्लाकोे सेयर मूल्य यसरी बढ्दै गयो, पहिले यो अन्य दुई शीर्ष कार निर्माताको बराबर भयो । त्यसपछि शीर्ष पाँचबराबर भयो । र, शीर्ष दश कार निर्माताको सम्पूर्ण बजार पुँजीकरणलाई उछिनेर एक वर्षपहिले टेस्लाको सेयर मूल्य १२ खर्ब डलरभन्दा माथि पुग्यो । यो भनेको अन्य अधिकांश कार निर्माताको सेयर मूल्यभन्दा बढी हो । 

तर, त्यसयता टेस्लाले ७१ प्रतिशतभन्दा बढी मूल्य गुमाएको छ, जुन समग्र उद्योगकै बजारको मूल्यभन्दा बढी हो । यसबीच, टेस्लाका मालिक एलन मस्कको सम्पत्तिमा पनि दुई सय अर्बभन्दा बढीले गिरावट आएको छ । मस्कलाई पछिल्लो धक्का ३ जनवरीमा लाग्यो, जब टेस्लाले लगातार तेस्रो त्रैमासिक पनि अपेक्षा गरेअनुसार इभी (इलेक्ट्रिक भेहिकल)को डेलिभरी दिन सकेन । यसबाट लगानीकर्ता झस्किए । टेस्लाले वाचाअनुसार कार उत्पादन गर्न नसक्ने सन्देश प्रवाहित भयो । टेस्लाले मागअनुसार इभीहरू दिन नसकेको रिपोर्ट आएपछि एकै दिन यो कम्पनीको सेयर मूल्य १२ प्रतिशत अर्थात् करिब ५० अर्ब अमेरिकी डलरले ओर्लियो । अर्थात् टेस्लाले एकैदिन शीर्ष कार निर्माता फोर्डबराबरको सम्पत्ति गुमायो । 

मस्कको सन् २०३० सम्ममा टेस्लाको उत्पादन वर्षमा दुई करोड कार पुर्‍याउने वाचा पूरा हुनेमा बुलिस लगानीकर्ताले समेत आशंका गरे । टेस्लाको ‘अटोपाइलट’ सिस्टमले ड्राइभिङ प्रणालीलाई नै बदल्नेमा पनि लगानीकर्ताले शंकाको नजरले हेरे । यद्यपि टेस्लाको बजार संकुचित हुनुको मुख्य कारण यो कम्पनी मूलतः कार निर्माण गर्ने कम्पनी हो र यसका मालिक अलौकिक मानिस होइनन् भन्ने कुरा लगानीकर्ताले बुझ्नु हो । 

मस्कले अल्फावेट, एप्पल वा मेटाजस्ता अग्रणी एवं भीमकाय डिजिटल फर्महरूजस्तै आफ्नो कम्पनीलाई सधैँ एक टेक फर्म मान्दै आएका छन् । उनी टेस्लालाई टोयोटा वा फक्सवागनजस्ता पुराना ढर्राका कम्पनी मान्दैनन् । केही समय बजारले पनि उनले भनेजस्तै गर्‍यो । सबै चिजहरू डिजिटल बन्ने लहर चलेको महामारीको युगमा टेक(प्रविधि) कम्पनीका सेयरमा भारी उछाल आयो । तर, गत वर्षबाट यो प्रवृत्ति उल्टियो र उनीहरूको वृद्धि सुस्तिन थाल्यो । ब्याजका दरहरू उच्च हुँदा प्रविधि कम्पनीहरूले पनि प्रतिज्ञा गरेअनुसारको मुनाफा दिनेमा लगानीकर्ताले शंका गरे । प्रविधि कम्पनीहरूको मूल्यमा गिरावट आउन सुरु भयो । 

जब लगानीकर्ताले टेस्ला प्रविधि कम्पनी होइन, कार निर्माता मात्रै भएको बुझे, आकासिएको टेस्लाको सेयर मूल्यमा एकाएक ७१ प्रतिशतभन्दा धेरैले गिरावट आयो । यसबाट एलन मस्कले दुई खर्बभन्दा बढी गुमाए । 

तर गत केही महिनामा टेस्लाको मूल्यमा अन्य ठूला प्रविधि कम्पनीको तुलनामा तीव्र गिरावट आएको छ । प्रविधि कम्पनीको भ्रमबाट टेस्ला एउटा कार व्यवसायका रूपमा अवतरित भएको छ । महामारी सिर्जित आपूर्ति शृंखला अवरोधहरूलाई छिचोले पनि टेस्ला चिनको शून्य कोभिड नीतिबाट पीडित भयो ।

सांघाईस्थित उसको ठूलो कारखाना भाइरसका कारण सटडाउन भइरह्यो । यसले गर्दा उसले वाचा गरेअनुसार इभी उत्पादन गर्न सकेन । तर, जसै उसले इभीतर्फ संक्रमण गर्‍यो, स्थापित र नयाँ प्रतिस्पर्धीबाट निकै कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । टेस्लाले उत्पादनको निराशाजनक आँकडा रिपोर्ट गर्नु केहीअघिबाट फक्सवागनले आफ्नो इभी आइडी ७ अनावरण गरेको छ, जुन टेस्लाको इन्ट्री–लेभल मोडल–३ को समकक्षी र प्रतिस्पर्धी हो ।

यसबाहेक, इभी खरिदकर्ताहरू टेस्लाका सस्ता कारको इन्टेरियर र गुणस्तरलाई लिएर पनि सन्तुष्ट छैनन् । टेस्लाका पारखीहरूसमेत एलन मस्कको ट्विटर ह्यान्डलिङलाई लिएर नाखुस छन्, जुन उनले अक्टोबरमा किनेका थिए । साथै अहिले उनीहरूसँग इभीका विभिन्न विकल्प छन् । अर्काे शब्दमा अब यो बजारमा टेस्ला मात्रै खेलाडी रहेन । साथै, ऊ कुनै प्रविधि जायन्ट पनि होइन ।

तर, एक इभी निर्माताका रूपमा अझै पनि टेस्ला प्रभावशाली देखिन्छ । उसले सन् २०२२ मा १३ लाख कार डेलिभर गरेको छ, जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढी हो । एकै वर्ष दुइटा एसेम्बी प्लान्ट खोलेको छ । साथै, सानो र सस्तो कारमा पनि काम गरिरहेको छ । त्यसैगरी, यो वर्ष उसले बहुप्रतीक्षित साइबरट्रक पिक–अपको पनि डेलिभरी सुरु गर्नेछ । अझै पनि उसको मूल्य लगभग तीन खर्ब ६० अर्ब डलर छ, जुन अन्य तीन शीर्ष कार निर्माताको संयुक्त सेयर मूल्यबराबर हो । 

द इकोनोमिस्ट

ad
ad