
छथरजोरपाटी गाउँपालिका– ६ सिधुवा बजारमा आगलागी हुँदा ४९ लाखबराबरको क्षति भएको छ । शुक्रबार राति साढे ७ बजेतिर भएको आगलागीबाट पाँचवटा घर जलेका छन् ।आगलागीबाट स्थानीय सन्तबहादुर राई, डिकबहादुर खड्का, झमक थापा, अर्जुन घिमिरे र डम्बर थापाको घर जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।
सन्तबहादुर राईको दुईतले घर आगलागी हुँदा दुई तोला सुन, नगद दुई लाख, २० वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डिकबहादुर खड्का र होमबहादुर थापाको दुईतले संयुक्त पक्की घरको माथिल्लो तलाको ट्रस तथा टिनको छानो जल्दा पाँच लाखबराबरको क्षति भएको छ ।
झमक थापाको पनि दुईतले पक्की घर आगलागी हुँदा नगद ७० हजार, पाँच थान खाट, दुई तोला सुन, टिभी, लत्ताकपडा पूर्ण रूपमा जलेको छ । अर्जुन घिमिरेको दुईतले पक्की घरको माथिल्लो तलामा रहेको लजको दुई कोठाको ट्रस, लत्ताकपडा र डम्बर थापाको घरसहित ५० हजारबराबरको काठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण अहिलेसम्म खुल्न सकेको छैन । स्थानीय सन्तबहादुर राईको घरमा ललिता राईले भाडामा लिएर चलाउँदै आएको र उनले सञ्चालन गर्दै आएको फ्रेस हाउसबाट अचानक आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुईवटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।