१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा समाहित हुने भएका छन्। बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ।

एमालेका पूर्वउपमहासचिव भुसाल प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी पछिल्लो समय कुनै पनि पार्टीमा आबद्ध छैनन्। भुसाललाई एकीकृत समाजवादीले पार्टीमा स्वागतपत्र पठाइसकेको छ। एकीकृत समाजवादीका महासचिव एवं वाम एकता वार्ता समितिका संयोजक डा. बेदुराम भुसालले सैद्धान्तिक र वैचारिक सवाल सम्बोधन हुने गरी पत्र पठाएका हुन्।

‘तपाईंले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन्। पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नुभएका धारणा उक्त प्रतिबद्धताअनुरूप नै छन्। त्यसैले, तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ,’ पत्रमा भनिएको छ।

यसअघि भुसालले सैद्धान्तिक र वैचारिक विषय उल्लेख गरेर एकीकृत समाजवादीको वार्ता समितिलाई पत्र पठाएका थिए। पत्रमा भनिएको थियो, ‘एमाले र माओवादीको एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसद्को विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि एमाले र माओवादी दुवै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के। तर, एकीकृत समाजवादी सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै बिन्दुमा रहेको छ र कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले एकीकृत समाजवादीमा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्कीकन सुखै छैन।’

एमालेको नवौँ महाधिवेशनको निर्णयप्रति एकीकृत समाजवादी अहिले पनि प्रतिबद्ध रहेको र नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै रहेको समाजवादीको ठम्याइ छ। ‘यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अँगालेको यही नेकपा (एकीकृत समाजवादी)मा एकताबद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौँ भन्ने पनि अनुरोध छ,’ समाजवादीको पत्रमा भनिएको छ।