१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बर्सेनि बढ्दै लागुऔषध प्रयोगकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o३:oo

झापामा प्रहरीले अनुसन्धान गरेकामध्ये  ५० प्रतिशत मुद्दा लागुऔषधका

झापामा लागुऔषधका दुर्व्यसनी र कारोबारी बर्सेनि बढ्दो छ । सरकारी निकायबाट लागुऔषध नियन्त्रणमा प्रभावकारी काम नहुँदा कारोबारी र प्रयोगकर्ता बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । भारतसँगको खुला सीमा रहेको झापामा लागुऔषध कारोबारीले प्रहरीको आँखा छलेर लागुऔषध भित्र्याउने गरेका छन् । 

१४४.२ किलोमिटर खुला सीमा रहेको झापामा प्रहरीलाई लागुऔषध नियन्त्रण चुनौती बन्दै गएको छ । ‘खुला सीमा भएका कारण कतै न कतैबाट छिरिहाल्छन् । खुला सिमानाका कारण कठिनाइ भएको छ । लागुऔषध बढ्नुको मुख्य कारण खुला सिमाना नै देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने, ‘तैपनि नियन्त्रणको प्रयास गरिरहेका छौँ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागुऔषध नियन्त्रणका लागि काम गरिरहेका छौँ ।’

प्रहरीको तथ्यांकले बर्सेनि लागुऔषध दुर्व्यसनीका घटना बढ्दै गएको देखाउँछ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पाठकका अनुसार आर्थिक वर्ष ०७६/७७ मा एक सय १८ वटा लागुऔषधको मुद्दामा एक सय ७३ जना पक्राउ परेका थिए । आव ०७७/७८ मा लागुऔषधको मुद्दा बढेको देखिन्छ । उक्त आवमा लागुऔषधका एक सय ९५ वटा मुद्दामा दुई सय ९५ जना पक्राउ परेको डिएसपी पाठकले बताए । आव ०७८/७९ मा यो संख्या बढेको प्रहरीको तथ्यांकमा देखिन्छ । उक्त आवमा लागुऔषधसम्बन्धी दुई सय मुद्दामा दुई सय ८७ जना पक्राउ परेको प्रहरी तथ्यांकमा उल्लेख छ । 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लाभर लागुऔषधका ६४ मुद्दामा ९१ जना पक्राउ परेको डिएसपी पाठकले बताए । उनका अनुसार पक्राउ परेकाबाट लागुऔषधमा पनि सबैभन्दा धेरै ब्राउनसुगर बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयमातहतका इलाका प्रहरी कार्यालयबाट अनुसन्धान हुने मुद्दामध्ये करिब ५० प्रतिशत मुद्दा लागुऔषधको हुने गरेको डिएसपी पाठकले बताए । ‘इलाका र जिल्ला प्रहरीबाट चल्ने मुद्दाको संख्या हेर्दा पनि ५० प्रतिशत हाराहारी लागुऔषधको मुद्दा छ । हिरासतमा पनि ५० प्रतिशत मानिस लागुऔषधकै मुद्दामा पक्राउ परेका छन्,’ उनले भने, ‘यी सबै तथ्यांक हेर्दा झापामा लागुऔषध प्रयोगकर्ता बढेको निष्कर्ष निकाल्न सकिन्छ ।’ 

प्रहरीले निगरानी र सक्रियता बढाएका कारण पनि प्रयोगकर्ता र कारोबारी धेरै पक्राउ परेको डिएसपी पाठकको दाबी छ । उनले प्रहरी मात्र लागेर लागुऔषध नियन्त्रण हुन नसक्ने बताए । यसका लागि संघीय, प्रदेश र स्थानीय तहले पनि कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘लागुऔषध प्रयोग र कारोबारी चेतनाको अभावका कारण भएको पाइन्छ । यसमा स्थानीय तह सक्रिय हुनुपर्छ,’ उनले भने, ‘लागुऔषधमा युवा बढी छन् । उनीहरूलाई यो गलत हो । यसले व्यक्ति, परिवार र समाज बिगार्छ भन्ने बुझाउनुपर्‍यो ।’

करिब सात सय क्षमता रहेको झापा कारागारमा हाल एक हजार चार सय ८५ जना कैदीबन्दी छन् । जसमध्ये पनि करिब आधा कैदीबन्दी लागुऔषध मुद्दामा सजाय पाएको रहेको झापा कारागारका प्रमुख मोहन पनेरूले जानकारी दिए । 

ad
ad