१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २२ शुक्रबार १०:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

पाठेघर क्यान्सरको प्रारम्भिक लक्षण भएका पाँच र गम्भीर बिरामी एकको निःशुल्क उपचार गरिदिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २२ शुक्रबार १०:०७:००

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको अवसर पारेर देशका सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकले महिला सशक्तीकरणको प्रयासस्वरूप ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

 शुक्रबारदेखि सप्ताहव्यापी रूपमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बैंकले जनाएको छ । शिविरमा स्त्रीरोगविज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका पाँचजना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएको एकजना गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने जनाइएको छ ।नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका–नगरपालिकाको समन्वयमा कार्यक्रम गर्न लागिएको बैंकले जनाएको छ । 

कहाँ–कहाँ हुँदै छ स्वास्थ्य शिविर ?
कार्यक्रमअन्तर्गत प्रदेश १ मा इलामको इलाम नगरपालिका वडा नं. १, साँखेजुङको वडा कार्यालय प्रांगणमा पुस २२ मा स्वास्थ्य शिविर बस्ने जनाइएको छ । त्यसै दिन मधेस प्रदेशको रौतहट, फतुवा–विजयपुर नगरपालिका वडा नं ७ को रौतहट प्राथमिक उपचार केन्द्र, गण्डकी प्रदेशमा बाग्लुङको निसिखोला गाउँपालिका–३, झिवाखोलाको बोहरा गाउँ स्वास्थ्य चौकी र लुम्बिनी प्रदेशमा रोल्पाको रुन्टीगढी नगरपालिकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गरिने बैंकले जनाएको छ ।

त्यस्तै, पुस २३ गते बागमती प्रदेशमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ६, लापिलाङको पारच्याङ स्वास्थ्य चौकीमा र सुदूरपश्चिम प्रदेशमा डोटीको जोरायाल नगरपालिका वडा नं ५, गडसेरा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने उल्लेख छ । कर्णाली प्रदेशमा सुर्खेतको लेकबेँसी नगरपालिका वडा नं ६, कल्याण स्वास्थ्य चौकीमा पुस २५ गते शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाका निम्ति प्रभावकारी हुने र महिलामा सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास व्यक्त गरेको छ ।