१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

प्रधानमन्त्री प्रचण्डले गरे तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, झन्डै पाँच दशकपछि पोखरेलीको सपना पूरा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:o१:oo

देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । उद्घाटनको दिन हिमालय एयरलाइन्सले पोखरामा न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडान भने अझै निश्चित भएको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बाराको निजगढमा पूर्ण क्षमताको विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । ‘देशमा तीनवटा विमानस्थल सञ्चालनमा आए, हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा हवाई पूर्वाधार आवश्यक छ,’ उनले भने, ‘अझै देशमा पूर्ण क्षमताको विमानस्थल आवश्यक छ, निजगढ निर्माण छिट्टै सुरु हुन्छ ।’ निजगढमा विमानस्थल निर्माणको काम अगाडि बढाएर देशलाई कनेक्टिभिटी क्षेत्रमा एउटा युगमा प्रवेश गर्ने उनले बताए । निजगढ विमानस्थल बनाउने फाइल अहिले मन्त्रिपरिषद्मा नै छ ।

 अन्तर्राष्ट्रिय उडान अनिश्चित
विमानस्थलबाट आइतबारदेखि आन्तरिक उडान सुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने अनिश्चित छ । कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले बाह्य देशमा उडानका लागि केही कागजी प्रक्रिया बाँकी रहेकाले त्यो पूरा भएपछि मात्र अन्य देशमा सीधा हवाई सेवा सुरु हुने बताए । विमानस्थल सञ्चालन भएकै दिन आइतबादेखि निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतका तीन सहरमा उडान सुरु गर्ने तयारी गरे पनि भारतले अनुमति नदिँदा उडान हुन सकेन ।

विमानस्थलको यान्त्रिक परीक्षण गरेको थाइल्यान्डको एरोथाई कम्पनीले परीक्षणको प्रारम्भिक प्रतिवेदन दिए पनि पूर्ण प्रतिवेदन बुझाएको छैन । सो प्रतिवेदन पाएपछि क्यानले अन्तर्राष्ट्रिय उडानका लागि तयारी भएको जानकारी गराउन एरोनटिकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल जारी गर्नेछ । त्यसमा हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधा उल्लेख हुनेछ । त्यसको ५६ दिनपछि मात्र अन्तर्राष्ट्रिय उडानका लागि वैधता पाउने व्यवस्था रहेको छ । बुद्ध एयरले पोखरा–दिल्ली–पोखरा, पोखरा–देहरादुन–पोखरा र पोखरा–बनारस–पोखरा उडान गर्ने तयारी गरेको कम्पनीका सेल्स डाइरेक्टर रूपेश जोशीले बताए ।  

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि रुटको विषयमा भारतसँग छलफल भइरहेको विमानस्थलका निर्देशक विक्रम गौतमले जानकारी दिए । बुद्ध, हिमालयसँगै जजिरा, थाई स्माइल, कतार एयरवेज र फ्लाई दुबईले पनि पोखरामा उडानको इच्छा देखाएको उनको भनाइ छ । पोखरामा नेपालकै पहिलोपटक जहाजमा यात्रु चढाउन र झार्न एरोब्रिज बनाइएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार आन्तरिक टर्मिनल भवन चार हजार वर्गमिटर र बाह्य १० हजार वर्गमिटरमा फैलिएको छ ।विमानस्थलबाट वार्षिक १० लाख यात्रुलाई सेवा दिन सकिने उनको भनाइ छ । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर (करिब २२ अर्ब) ऋण दिएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र २५ सय मिटर लामो धावनमार्ग छ ।

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो । शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । निर्माणको काम भने १८ साउन ०७४ बाट सुरु गरिएको हो ।

निजगढ निर्माणको काम छिट्टै सुरु हुन्छ
पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको भावनाअनुसार तेस्रोपटक देशको नेतृत्व गर्ने अवसर पाएको बताए । कार्यक्रममा आफूले पटक–पटक चीनको नेतृत्वसँग पोखरा विमानस्थल निर्माणको कुरा गरेको स्मरण गर्दै उनले अहिले चीनले नाकाहरू खोल्ने र रेलवे परियोजनाको सर्भेका लागि आवश्यक प्रक्रिया अघि बढेको बताए । चीनले ठूला परियोजनाहरू अघि बढाउने तयारी गरिरहेको र धेरैभन्दा धेरै ठूला परियोजनाहरू अघि सारेर छिटो सम्पन्न गर्नुपर्ने उनले बताए ।

आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्वपूर्ण भूमिका रहने भन्दै प्रचण्डले त्यसमा पनि हवाई कनेक्टिभिटीको ठूलो भूमिका रहेको बताए । सञ्चालनमा आएको विमानस्थलले पोखरासँगै गण्डकी प्रदेश र समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । पोखरामा सञ्चालनमा आएको तेस्रो विमानस्थलसँगै निजगढ विमानस्थल निर्माणको काम पनि छिट्टै सुरु गर्ने उनले बताए । 

 पोखरालाई अर्को पर्यटकीय क्षेत्रसँग जोड्नुपर्छ
विष्णु पौडेल, उपप्रधान एवं अर्थमन्त्री

पर्यटकीय सहर पोखरामा आशा गरेअनुसार आर्थिक क्रियाकलाप हुन नसकेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । यसका लागि अर्को पर्यटकीय क्षेत्रसँग पोखरालाई जोड्न आवश्यक रहेको उनको भनाइ थियो । अर्को पर्यटकीय क्षेत्रसँग पोखरालाई जोड्न सके मात्र अपेक्षा गरेअनुसारको पर्यटकीयसँगै आर्थिक गतिविधि हुने र लक्ष्य पूरा हुने पौडेलले बताए । मुग्लिनदेखि पोखरासम्मको सडकमार्गलाई ६ लेनमा विस्तार गर्ने, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम भइरहेको बताउँदै उनले यी काम सकेपछि पोखरामा पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने बताए । उनले पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारले आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

 

ad
ad