१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा सदस्यहरूको शपथ १७ गते

१८ गतेलाई अधिवेशन आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१६:oo

लुम्बिनी प्रदेश सभाको अधिवेशन आह्वानसँगै शपथको तयारी थालिएको छ।  नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथ १७ गते दिउँसो १ बजेलाई तय भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान र शपथसम्बन्धी पत्र बुधबार प्राप्त भएसँगै प्रदेश राजधानी दाङस्थित प्रदेश सभा भवनमा शपथ गराउने तयारी गरिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते सोमबारलाई आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। राप्ती उपत्यका (देउखुरी)को भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठक आह्वान गरिएको  छ। प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको सिफारिस गर्नुको अतिरिक्त प्रदेशको पूर्वी सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीय तहलाई अनुरोध पनि गरेको छ। 

यस्तो छ शपथको  तयारी
प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार शपथ तथा प्रदेश सभाको बैठकका लागि नयाँ भवनमा आवश्यक तयारीका काम भएका छन्। ‘बैठक कक्षभित्र आवश्यक फर्निचरहरूको व्यवस्था भएपछि सजावटका काम भइरहेका छन्। शपथको तयारी गर्ने क्रममा निर्वाचित सांसदहरूको व्यक्तिगत विवरण भर्ने तयारी पनि गरिएको छ,’ प्रदेश सभा सचिव मगरले भने। सदस्यहरूलाई शपथमा आउँदा व्यक्तिगत विवरणसहित आउन भनिएको छ। सोही विवरणका आधारमा ज्येष्ठ सदस्य पहिचान गर्ने तयारीमा संसद् सचिवालय रहेको छ।

प्रदेश प्रमुखले सबै सदस्यलाई गराउनेछन् शपथ
लुम्बिनी प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरू सबैलाई प्रदेश प्रमुखले एकसाथ शपथ गराउनेछन्। प्रदेश सभा नियमावली, २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको शपथ हुने प्रावधान छ।

संविधानमा प्रदेश सभा सदस्यहरूको शपथ प्रदेश कानुनबमोजिम हुने व्यवस्था रहेकाले लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यहरूको शपथ प्रदेश प्रमुखबाट गराइने व्यवस्था प्रदेश सभा नियमावलीमा छ। यही नियमावलीबमोजिम सबै सदस्यले एकसाथ प्रदेश प्रमुखबाट शपथ लिनेछन्।

बैठकका लागि ज्येष्ठ सदस्य पहिचान गरिँदै
लुम्बिनी प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता गर्न ज्येष्ठ सदस्यको पहिचान अझै भइसकेको छैन। बैठकको अध्यक्षता ज्येष्ठ सदस्यबाट हुने प्रावधानअनुसार ज्येष्ठ सदस्य पहिचानको तयारी थालिएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणमा उमेर स्पष्ट नभएकाले सदस्यहरूको व्यक्तिगत फारम भराउन प्रदेश सभा सचिवालयले  मंगलबार सूचना जारी गरेको छ।

ज्येष्ठ सदस्य को भन्ने आधिकारिक रूपमा अझै टुंगो नलागे पनि एमालेका डिल्लीराज भुसाल ज्येष्ठ सदस्यका रूपमा रहेका छन्। यहाँ एमालेका डिल्लीराज भुसाल र कांग्रेसका देवकरणप्रसाद कलवारको उमेर निर्वाचन आयोगको विवरणमा ६९ वर्ष उल्लेख छ। दुवैको उमेर ६९ वर्ष उल्लेख भए पनि महिना वा दिनका हिसाबले ज्येष्ठ को भन्ने स्पष्ट नभएको अवस्थामा दुवैजनालाई उमेरबारे राखिएको जिज्ञासामा भुसाल ज्येष्ठ रहेको पाइएको छ। भुसाल गुल्मीबाट र कलवार नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्दछन्। भुसालले आफ्नो जन्ममिति २०१० जेठ ७ र कलवारले २०११ असोज १५ बताएका छन्। 

प्रदेश सभामा १० दलको प्रतिनिधित्व
लुम्बिनी प्रदेश सभामा यसपटक प्रतिनिधित्व गर्ने दलहरूको संख्या १० पुगेको छ। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ सांसद रहेका छन्। यहाँ सबैभन्दा ठूलो दल एमालेका २९ सांसद रहेका छन्। त्यस्तै कांग्रेसका २७, माओवादी केन्द्रका नाै, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत, जसपा र लोसपाका तीन–तीन, एकीकृत समाजवादी र राजमोका एक–एक सांसद तथा स्वतन्त्र तीन सांसद रहेका छन्।

ad
ad